२८ असार २०७९, मंगलवार

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण संघीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गरेका छन् । मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सदस्य गौतमले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताएका हुन् ।

उनले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने दाबी गर्दै महिला रिक्त पदकै कारण प्रतिनिभि सभामा ४ वर्ष र राष्ट्रिय सभामा करिव ४ महिना यता पदपूर्ति हुन नसक्नु दुःखको विषय भएको बताए । सदस्य गौतमले संविधानको धारा ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष भन्ने व्यवस्था गरेको भन्दै उपाध्यक्ष बिनाको अध्यक्षको परिकल्पना गर्न नसकिने उल्लेख गरे ।

उनले दुईमध्ये कुनै एक पदमा महिला अनिवार्य हुने कुरा संविधानले नै उल्लेख गरेको भन्दै पुरुष नभएपनि हुने तर महिला अनिवार्य हुनुपर्ने बताए । सदस्य गौतमले आफू संविधानको निर्माता भएकोले संविधान विपरित् भइरहेका गतिविधि सहन नसक्दे चेतावनी दिए । उनले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला हुँदा पनि संविधानको भावनालाई असर नगर्ने बताए । उनले पदमा पूर्ति गर्नको लागि सरकार, राजनीतिक दल र संसदले नै चासो नदेखाउने दुःखद् भएको बताए ।

सदस्य गौतमले भने, ‘व्यवस्थापकीय सम्बन्धमा प्रतिनिधि सभाको सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको सम्बन्धमा जे व्यवस्था गरेको छ, त्यो व्यवस्थाको सम्बन्धमा मैले सम्बन्धित पक्षको ध्यानाकर्षण गर्नको निम्ति उल्लेख गर्दैछु । संविधानको धारा ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष भन्ने व्यवस्था छ । त्यसमा प्रतिनिधि सभामा पनि र राष्ट्रिय सभामा पनि उपाध्यक्ष बिनाको अध्यक्षको परिकल्पना छैन ।’

उनले फेरि भने, ‘यसको अक्षर र भावनामा जाने हो भने हरेक ठाउँमा अध्यक्षसँगै उपाध्यक्ष पनि आउँछ । त्यसमध्ये एक अनिवार्य रुपमा महिला हुनुपर्नेछ । यसको अर्थ के पनि हुन्छ भने पुरुष महिलामध्ये पुरुष नभएपनि हुन्छ तर महिला अनिवार्य हुनुपर्छ । किनभने महिला अनिवार्य भनेर लेखिएको छ । हामीले संविधान निर्माण गर्दा धेरै ठाउँमा एउटा पदमा महिला, अर्कोमा पुरुष राख्ने गरेर बराबरी हक, अधिकार छ भन्ने सन्देश दिनको लागि यो व्यवस्था गरिएको थियो । त्यही व्यवस्था अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था भएको छ । सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको पनि त्यही व्यवस्थाअनुसार भएको छ । म संविधान निर्माता पनि हो । मेरो हक हुन्छ कि, मैले निर्माण गरेको संविधानका हरेक विषयमा म त्यसको व्याख्या गर्ने अधिकार राख्छु ।’

त्यस्तै उनले राष्ट्रिय सभामा उपाध्यक्ष नभएको ४ महिना भइसकेको उल्लेख गर्दै भनेका छन्, ‘यहाँ पुरुष अध्यक्ष र महिला उपाध्यक्ष हुने व्यवस्था हो । संविधानमा भएको धाराको व्याख्या गर्दा महिला मात्रै दुवै पदमा रहँदा पनि सही हुन्छ । अध्यक्ष र उपाध्यक्ष दुवै महिला हुँदा संविधानको भावनालाई असर गर्दैन । प्रतिनिधि सभामा लाजमर्दो स्थिति भयो, किनभने विगत ४ वर्ष यता उपसभामुख नै छैन । यदि पुरुष अनिवार्य भनेको भए खालि हुने बित्तिकै पूरा हुन्थ्यो । के कारणले सरकारको ध्यान गएको छैन ? राजनीतिक दलहरुको ध्यान गएको छैन ? राष्ट्रिय सभामा यो विषय प्रवेश गराउन चाहन्छु ।’

उनले थपे, ‘राज्यका मन्त्रीले प्रधानमन्त्रीलाई पु¥याउनुहुनेछ भन्ने मेरो माग छ । अहिले राष्ट्रिय सभाका ४ समितिमध्ये ३ वटामा सभापति छैन । एउटामा त म आफैँ ज्येष्ठताको आधारमा सभापतिको भुमिका निभाएको छु । ४ महिना भन्दा बढी भइसकेको छ । यतातिर ध्यान गएको जस्तो लागेन । सरकार, राजनीतिक दल, राष्ट्रिय सभाका अध्यक्ष, कार्यव्यवस्था समितिको पनि ध्यानाकर्षण हुनुपर्ने हो । महिला सदस्यहरुले आन्दोलन नै गर्नुपर्छ जस्तो मलाई लागेको छ । यो लाजमर्दो कुरा हो ।’

राष्ट्रिय सभा सदस्य गौतमले करिव ४ महिना यता राष्ट्रिय सभाका ४ समितिमध्ये ३ वटामा सभापति नरहेको उल्लेख गर्दै सरकार, राजनीतिक दल, राष्ट्रिय सभाका अध्यक्ष, कार्यव्यवस्था समितिको ध्यानाकर्षण गराए । उनले सरकार र राजनीतिक दलहरुको लापरबाहीप्रति महिला सदस्यहरुले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।

LIVE TV