२६ असार २०७९, आईतवार
  • युवराज आचार्य,

झापा । अखिल नेपाल किसान महासंघ झापाले सरकारविरुद्ध राके जुलुससहित विरोध प्रद्धर्शन गरेको छ । महासंघसंबद्ध किसानहरुले आज साझ सरकारले मुल्यवृद्धि र मलविउको प्रवन्ध मिलाउन नसकेको भन्दै विरोध जनाएका हुन् ।

वर्तमान सरकारले जनतालाई सेवा दिनुको सट्टा उल्टै ढाड सेक्ने काम गरेको भन्दै सरकारको विरोध गरेका हुन् । उनीहरुले राके जुलुससहित बिर्तामोड परिक्रमा गर्दै मुक्तिचोकमा कोणसभा गरेका छन् ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नी खरेलले वर्तमान सरकार किसानामारा भएको बताए । किसानमारा सरकारका कारण देशभरका किसान आन्दोलित भएको बताएका छन् । उनले सरकारले बजेट, नीति तथा कार्यक्रम पनि किसानको पक्षमा नल्याएको बताए ।

कोणसभालाई सम्बोधन गर्दै नेता खरेलले परमादेशी सरकार दलाल, पुँजीपतिको पक्षपोषणमा लागेको भन्दै सरकारको विरोध जनाए । उनले भने, ‘पूर्वअर्थमन्त्रीले रातीराती गरेको करको दर घटबढ किसानको पक्षमा गरेको भए किसानले नै उनको मन्त्रीपद जोगाइदिन्थे ।’

पुँजीपतिको पक्षमा करको दरमा साँडगाँठ गरेका कारण मन्त्री पद चिप्लिएको उनको भनाइ थियो । कोणसभामा अखिल नेपाल किसान महासंघ झापाका अध्यक्ष गोपाल चुडालले किसानको समस्या हल नभएसम्म आन्दोलन जारी राख्ने बताए । उनले सरकार किसानका लागि अन्धो भएको आरोप लगाए ।

‘सरकार अन्धो, निकम्मा र पतन भएको छ’, अध्यक्षले थपे, ‘वर्तमान गठबन्धन सरकार किसानको विपक्षमा उभियो ।’

LIVE TV