२६ असार २०७९, आईतवार
  • मुस्कान श्रेष्ठ,

वीरगञ्ज । वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्क मैदानमा ग्रुप कार्डियो वर्कआउट कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ । वीरगञ्ज महानगरपालिकाको सहकार्य र वीरगञ्ज साइकलिंग क्लबले आयोजना गरेको वर्कशप कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले अव्यवस्थित जीवनशैलीका कारण मानिसहरु विभिन्न रोगले ग्रस्त भइरहेको भन्दै स्वस्थ जीवनका लागि यस प्रकारको ब्यायाम निकै महत्वपूर्ण रहेको बताए ।

उनले एकदिन मात्र ब्यायाम गरेर शरीरलाई स्वच्छ र तन्दुरुस्त राख्न नसकिने बताए । उनले यस्ता खालका कार्यक्रमले मानिसहरुलाई स्वस्थ रहन प्रेरित गर्नुको साथै सही तरिकाले ब्यायाम कसरी गर्न सकिन्छ भनेर सिकाउने बताए ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पछिल्लो समय व्यस्त जीवनका कारण मानिसहरु आफ्नो स्वस्थप्रति गम्भीर हुन नसक्दा उच्च रक्तचाप, मधुमेह जस्तो विभिन्न किसिमको रोगबाट ग्रसित हुने गरेको बताए ।

उनले कार्डियो वर्कआउट र जुम्बा जस्ता ब्यायामहरु खास गरि काठमाडौंमा मात्रै हुने गरेकोमा पछिल्लो समय देशको विभिन्न शहरहरुमा यस्ता खालको ब्यायाम सञ्चालन हुनुले पनि पछिल्लो समयमा हाम्रो समाजमा शारीरिक ब्यायामको महत्व बढेको कुरा पुष्टि भएको बताए ।

ग्रुप कार्डियो वर्कआउट कार्यक्रम तथा द ब्यायामशालाकी प्रशिक्षक ममता प्रसाई र अनुप सुबेदीले संयुक्त रुपमा प्रशिक्षण दिएका थिए । प्रशिक्षक ममता प्रसाईले स्वस्थ र तन्दुरुस्त रहनका लागि नियमित व्यायामसँगै डाइट (खाना) कन्ट्रोल गर्न पनि जरुरी रहेको जानकारी गराए ।

यसैगरी वीरगञ्जस्थित भारतीय दूतावासका नितिस कुमारले मानिसको तनाव हटाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि व्यायाम अपरिहार्य रहेको बताए । वीरगञ्ज साइक्लिन क्लबका अध्यक्ष सञ्जय अग्रवालले बिरगंजमा पहिलो पटक आयोजना गरेको ग्रुप कार्डियो वर्कआउट कार्यक्रममा बोल्दै कोरोना महामारीको बेला लाखौ दीर्घ रोगीहरुको मृत्यु भएको स्मरण गराउदै, उनले मानव जीवनमा ब्यायामको निकै महत्व रहेको बताए ।

करिब डेढ घण्टा सञ्चालन भएको ब्यायाम कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक नेपाली सेनालगायत सयौं पुरुष तथा महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण अनुप अग्रवालले गरेका थिए ।

LIVE TV