२६ असार २०७९, आईतवार

काठमाडौं । आगामी साउन ६ र ७ गते हेटौंडामा हुने भनिएको ‘नेपाल प्रेस युनियन’को नवौं महाधिवेशनमा सन्तोष गन्धर्वले सचिव पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । पत्रकारिता क्षेत्रलाई व्यावसायिक र मर्यादित बनाउनुका साथै प्रेस युनियनलाई विशुद्ध व्यावसायिक र समावेशी पत्रकारहरुको छाता संगठनका रुपमा स्थापित गराउन आफूले पहल गर्ने उनको भनाई छ ।

प्रेस स्वतन्त्रता, ट्रेड युनियन अधिकार र पेशागत सुरक्षाका लागि सधैँ आवाज उठाउँदै आएका गन्धर्वले प्रेस युनियनलाई विशुद्ध पत्रकारहरुको संगठन बनाउनका लागि अहिलेको नेतृत्व परिवर्तन हुनुपर्ने बताए । प्रेस युनियन प्रजातन्त्र, लोकतन्त्र र सबैखाले परिवर्तनलाई आत्मसात् गर्दै संस्थागत गर्ने संगठन भए पनि सोही अनुरुपको नेतृत्व नभएकाले प्रजातन्त्र र लोकतन्त्रमा सधैँ प्रश्न उठ्ने गरेको उनको भनाइ छ । उनी भन्छन्– ‘पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ हो, तर पनि प्रेस युनियनमा आउने अबको नेतृत्वले सबै वर्ग, क्षेत्र, लिङ्ग र भुगोलका पत्रकारहरुलाई समेट्न सक्नुपर्छ ।’

कैयौँ पत्रकारले काम गरे वापत न्युनतम परिश्रमिक नपाएको भन्दै उनले पत्रकारको पेशागत सुरक्षा सबैभन्दा चुनौतीको बिषय रहेको औँल्याए । उनी भन्छन्–‘अहिले पनि सयौं पत्रकारहरु आफ्ना समस्या लुकाएर काम गर्नु पर्ने बाध्यता छ । त्यस्ता विषयलाई सम्बोधन गर्न युनियनले महत्वपूर्ण भूमिका खेल्न सक्नु पर्छ ।’

पत्रकारका सबैखाले समस्या हल गर्न आफु सधै प्रतिवद्ध रहेको उनले बताए । जिल्लामा रहेका पत्रकारहरुले समयमा तोकिएको पारिश्रमिक नपाउने समस्या सबैभन्दा जटिल रहेको भन्दै उनले सबै श्रमजिबी पत्रकारको अधिकार सुनिश्चित हुने खालको संगठन निर्माणमा पहल गर्ने उनको भनाई छ ।

देशभरिबाट महाधिवेशन प्रतिनिधिको रुपमा आउने पत्रकारलाई आफ्नो अमुल्य मत दिएर जिताउनका लागि उनले अनुरोध समेत गरेका छन् । उनी भन्छन्, ‘मैले मैले जित्नु भनेको प्रजातन्त्र र लोकतन्त्रको जित हुनु हो । मेरो जितले संविधान र समावेशिताको मर्मलाई थप टेवा पुग्नेछ । कृपया मलाई आफ्नो अमुल्य मत दिएर जिताउनु होला ।’

गन्धर्व विगत १६ वर्षदेखि व्यावसायिक पत्रकारितामा आबद्ध छन् । २०६४ सालमा दाङ्गस्थित रेडियो इन्द्रेणी मार्फत रेडियो पत्रकारिता सुरु गरेका गन्दर्भले ‘रेडियो गणतन्त्र’को समाचार सह–सम्पादक पदमा रहेर लामो समय काम गरेका थिए । त्यस लगत्तै उनले काठमाडौँस्थित ‘स्टार एफ.एम.’ मा कार्यक्रम प्रस्तोताको रुपमा समेत काम गरे ।

०६९ सालमा रेडियो ‘नेपाल वाणी नेटवर्क’मा समाचार सह–सम्पादकका साथै कार्यक्रम संयोजकको रुपमा काम गरेको अनुभव उनीसंग छ । त्यससंगै काठमाडौँमै ‘क्यापिटल एफ.एम.’ मा रहेर केही समय काम गरेका उनले विगत चार वर्षयता रेडियो कान्तिपुरमा समाचार सह–सम्पादकको रुपमा काम गर्दै आएका छन् ।

विभिन्न संघ-सस्थामा रहेर काम गर्दै आएका उनी राष्ट्रिय दलित पत्रकार संघ नेपालको दुई वर्षअघि बुटवलमा सम्पन्न प्रथम महाधिवेशनमा केन्द्रीय सचिव पदमा निर्वाचित भएका थिए । राज्यका सबै खाले पहुँचबाट टाढा रहेको दलित समुदायबाट प्रतिनिधित्व गर्दै पत्रकारिता पेशामा आवद्ध भएका गन्दर्व दाङ्गबाट राजधानी आई पत्रकारितामा कृयाशिल छन् । उनी दलित समुदायको अधिकार र गन्दर्भ जातीको पहिचानका लागि गन्धर्व कला संस्कृति संरक्षण केन्द्रमा रहेर काम गर्दै आएका छन् ।

 

 

LIVE TV