२५ असार २०७९, शनिबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गत स्थानीय तहको चुनावमा भएको अन्तर्घात छानबिन गर्न समिति गठन गरेको छ । आज पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो । राई उक्त पार्टीको अनुशासन विभागका संयोजक हुन् । समितका अन्य दुई सदस्य मुक्ति प्रधान र खिमलाल देवकोटा रहेका छन् ।

अन्तर्घातको छानबिन गर्न समिति गठन गरिएको जानकारी दिँदै पार्टी प्रवक्ता कृष्ण महराले भने, ‘आजको स्थायी समिति बैठकको पहिलो निर्णय स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने नै हो, पार्टीभित्रैबाट अझ केन्द्रीय सदस्यसम्मका नामहरु अन्तरघात गर्नेमा आएकाले त्यसका लागि छानबिन समिति गठन गरिएको छ ।’

महराका अनुसार आजको स्थायी समिति बैठकले अखिल क्रान्तिकारीमा देखिएको समस्या समाधानका लागि समेत पूर्वविद्यार्थी नेताहरू सम्मिलित तीन सदस्यीय सुझाव समिति गठन गरेको छ । उक्त समितिमा रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेको महराले बताए ।

यसैगरी पार्टीले आगामी साउन १८ देखि भदौ ३ गतेसम्म सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम चलाउने निर्णय समेत गरेको छ ।

LIVE TV