२४ असार २०७९, शुक्रबार

महेश्वर के.सी.

काठमाडौं । नेपालकै पुरानो कलेज त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले ‘क्याम्पस बचाउ’ अभियान सुरु गरेका छन् ।

क्याम्पस पुनर्निर्माण र आवश्यक पूर्वाधार बनाउनुपर्ने मागसहित विद्यार्थीहरूले शुक्रबार सोलिडारिटी मार्च आयोजना गरेका हुन् । विद्यार्थीहरुले क्याम्पस रुग्ण अवस्थामा पुगेको भन्दै सरकारको ध्यानकर्षण समेत गराए ।

विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर विद्यार्थी प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले त्रिचन्द्र क्याम्पस बचाऔँ, प्रधानमन्त्रीले अध्ययन गरेको क्याम्पस कहिले बन्ने ? लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए ।

प्लेकार्डसहित विरोधमा उत्रेका विद्यार्थीले ‘प्रधानमन्त्री ज्यू,तपाईं पढेको कलेज कहिले बन्ने, शिक्षा मन्त्रालय हराएको सूचना, सेभ त्रिचन्द्र, इतिहास ढल्दैछ, सरकार मौन छ’ नारा लगाएका थिए ।

‘प्रधानमन्त्रीज्यू, तपाईं पढेको कलेज कहिले बन्ने ?, भ्युटावर बन्ने त्रिचन्द्र नबन्ने ? ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरुले कलेज बचाउन माग गरे ।

प्रदर्शन नेपाल विद्यार्थी संघको अगुवाईमा भएको थियो । प्रधानमन्त्री स्वयंले पढेको र नेपालकै ज्येष्ठ कलेज भए पनि यसको सम्बर्धनमा सरकार उदासीन रहेको उनीहरुले बताए ।

LIVE TV