२३ असार २०७९, बिहीबार

वीरगन्ज (पर्सा) । बाराको आदर्शकोतवाल गाउँपालिका–६ निवासी प्रभु कुशवाहा मृत्यु प्रकरणमा प्रहरीले १० जनाविरुद्ध अभियोगपत्र दर्ता गरेको छ । गत जेठ २३ गते जग्गा नाप नक्साको विषयलाई लिएर विवाद हुँदा दोश्रो पक्षले कुटपिट गर्दा गम्भीर घाइते भएका प्रभू कुशवाहाको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।

मृत्युपश्चात् पीडित पक्षले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपनि बारा प्रहरीले घटनाको मु्ख्य योजनाकार रामअयोध्या राय यादवसहित रामसखी देवी, उपेन्द्र कुमार महतोको नाम हटाएर १० जनाविरुद्ध मात्र अभियोगपत्र दर्ता गरेको मृतक प्रभु कुशवाहाका छोरा सन्दीप कुशवाहाले जानकारी दिए ।

उनका अनुसार बारा प्रहरी उपरीक्षक दिलिप सिंह देउवा, प्रहरी नायब उपरीक्षक राजेश थापा, प्रहरी निरीक्षक तथा घटनाका अनुसन्धान अधिकृत सुरेन्द्र यादव एवं जिल्ला न्यायाधीवक्ता जुद्धबहादुर आले मिली मुख्य योजनाकारहरुलाई संरक्षण गरी बाँकी अरोपीविरुद्ध अभियोगपत्र दर्ता गरेको हो ।

घटनाका मुख्य योजनाकार रामअयोध्या राय यादव नेपाली काँग्रेस पार्टी कार्यकर्ता भएको र नेपाली काँग्रेसका प्रदेश उपसभापति चन्द्रशेखर यादवको निर्देशनमा प्रहरी उपरीक्षक देउवालगायत जिल्ला न्यायाधीवक्तासहितले उनलाई संरक्षण गर्न लागिपरेको पीडित पक्षको आरोप छ ।

हत्या जस्तो सम्वेदनशील घटनामा पनि प्रहरीले नातेदार, पार्टीका कार्यकर्ता संरक्षण गर्ने कार्यले उनको कार्यशैलीप्रति प्रश्न उब्जिएको छ । घटनाका मुख्य योजनाकार रामअयोध्या राय यादवका आफन्त पर्ने प्रहरी निरीक्षक सुरेन्द्र यादव आफै अनुसन्धान अधिकृत रहेकोले यादवलाई संरक्षण गर्न लागि परेका हुन् भने मुख्य योजनाकार यादवका छोरा जिल्ला मालपोत कार्यालय बारामा लेखापालमा कार्यरत रहेकोले पनि प्रहरी लगायत न्यायाधीवक्ताले पनि आरोपीलाई संरक्षण गर्न खुलेरै लागेको पीडित पक्षको आरोप छ ।

घटना भएलगत्तै पीडित पक्षले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपनि बारा प्रहरीले शुरुदेखि नै मुख्य योजनाकार रामअयोध्या राय यादवसहित तीन जनाको नाम हटाएर मात्रै जाहेर दिन पीडित पक्षलाई दबाब दिदै आएका थिए । तर पीडित पक्षले मुख्य योजनाकार रहेकोले तीनै जनाविरुद्ध जाहेर जसरी पनि दिने अडान राखेपछि जिल्ला न्यायधिवक्ता एवं प्रहरी मिली तीन जना बाहेक अन्य १० जना विरुद्ध अभियोगपत्र दर्ता गर्ने निर्णय नै गरेको पीडित पक्षले आरोप लगाएको छ ।

बारा प्रहरीले किशोरी महतो कोइरी, रामप्रवेश प्रसाद कुशवाहा, विलाश महतो कोइरी, बुनी महतो कोइरी, हिरामन कुमार कुशवाहा, शिवजी प्रसाद कुशवाहा, रामबाबु प्रसाद महतो, संजय कुमार, रामदेव महतो एव. गगनदेव महतो कोइरीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी अभियोगपत्र दर्ता गरेको हो ।

अभियोगपत्र दर्ता भएकाहरुमध्ये २ जनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ भने बाँकी आरोपीहरु अहिलेपनि फरार रहेका छन् । त्यस्तै मुख्य योजनाकारसहित ३ जना आरोपीलाई बारा प्रहरी र जिल्ला न्यायाधीवक्ताले संरक्षण गरेको पाइएको छ ।

अभियुक्तलाई संरक्षण गरेपछि बारा प्रहरी तथा जिल्ला न्यायाधीवक्ताविरुद्ध नारावाजी

बारा प्रहरी र जिल्ला न्यायधिवक्ताले अभियुक्त संरक्षण गरेको भन्दै पीडित पक्षले बारा प्रहरी उपरीक्षक दिलीप सिंह देउवा र जिल्ला न्यायधिवक्ता जुद्धबहादुर आले विरुद्ध प्रदर्शन गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बारा अगाडि र जिल्ला न्यायधिवक्ता कार्यालय अगाडि पीडित पक्ष तथा स्थानीयहरुले बारा प्रहरी मुर्दावाद, घुसखोर एसपी मुर्दावाद, घुसखोर एसपी जिल्ला छोड, प्रहरी प्रशासन हायहाय, जिल्ला प्रहरी प्रशासन मुर्दावाद, जिल्ला न्यायाधीवक्ता मुर्दावाद, मुख्य आरोपीलाई पक्राउ गर, अभियुक्तलाई संरक्षण गर्न पाइँदैन लगायतका नारावाजी गरेका थिए ।

LIVE TV