२३ असार २०७९, बिहीबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले बसोबासलाई सुरक्षित बनाउनका लागि राष्ट्रिय मापदण्ड आवश्यक रहेको बताएकी छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद अर्यालले वर्षा यामको समयमा बाढी तथा पहिरोका कारण धेरै अव्यवस्थित बसोवासलाई बगाउने र ठूलो जनधनको क्षति हुने भएकाले बसोवासलाई व्यवस्थित बनाउनका लागि राष्ट्रिय मापदण्ड बनाउनुपर्ने बताएकी हुन् ।

उनले सुरक्षित वासस्थानको लागि राष्ट्रिय मापदण्डसहितको नक्शांकन गर्नुपर्ने बताइन् । सो मापदण्डलाई पालिकाहरुले कार्यान्वयन गराउने उनको भनाइ छ । यसो गर्न सकेमा वर्षा याममा हुने जनधनको क्षति रोक्न सकिने उनले उल्लेख गरिन् । सांसद अर्यालले सडकपेटीमा बसेर व्यापार गर्नेहरुको जीविकोपार्जनका लागि सरकारले सहज वातावरण तयार गरिदिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘यसमा हामीले राष्ट्रिय नीति नै तयार पारेर । सुरक्षित वासस्थान र त्यसको भौगोलिक बनावटहरुको हिसावले राष्ट्रिय मापदण्डसहितको राष्ट्रिय म्यापिङ नै गर्नुपर्ने हो कि ? हरेक पालिकाले नक्शा बनाएर त्यो ठाउँ सुरक्षित गर्नुपर्ने । राष्ट्रिय मापदण्ड बनाएर आवासलाई सुरक्षित गर्ने कुरा कम्तिमा ज्यान बचाउने । घटनाहरु दुखद नहोस् भन्ने हिसाबले हामीले ध्यानाकर्षण गराउनका लागि एउटा राष्ट्रिय मापदण्ड तयार पार्ने र यसलाई पूर्णतया पालिकाहरुको तर्फबाट कार्यान्वयन गराउने हिसावले मात्रै जानसक्यौँ भनेपनि हामीले धेरैको ज्यान बचाउन सक्ने र वर्षाको दुखद्स्थितिबाट जीवनलाई बचाउन सकिन्छ ।’

उनले थपिन्, ‘त्यस्तै सडकमा व्यापार गर्ने र जीविकोपार्जन गर्नेहरुलाई अहिले जुन किसिमको हुर्मत लिने कामहरु हामीले देखिराखेका छौँ । त्यसलाई नगरपालिकाहरुले व्यवस्थित गरेर उहाँहरुको जीविकालाई व्यवस्थित गर्ने किसिमले व्यापार चलाउने वातावरणको सुनिश्चितता गरिदिनुपर्ने कुरोमा सरकारले निर्देशन गर्ने हिसावले ध्यानाकर्षण गराउन खोजेँ ।’

यसका साथै उनले बढ्दो सडक दुर्घटनालाई रोक्नका लागि पनि राष्ट्रिय नीति नै आवश्यक रहेको बताइन् । भएका नीति, नियमको पनि कडाइका साथ पालना गर्नुपर्नेमा उनले जोड दिइन् ।

LIVE TV