२३ असार २०७९, बिहीबार

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पेश गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद सुवालले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकाले उनले प्रस्तुत गरेर संसदबाट पारित भएको सो बजेट खारेज गरी नयाँ ल्याउन जरुरी रहेको बताएका हुन् ।

सांसद सुवालले एसपीपीमा सहभागी नहुने मन्त्रिपरिषदको निर्णय अमेरिकालाई पत्राचार नगरेको भन्दै परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कारबाही गर्न पनि सरकारलाई दवाव दिएका छन् ।

उनले भने, ‘नगरकोट र दुवाकोट सडक समयमा पुनर्निर्माण र कालोपत्रे समयमै नहुँदा स्थानीय जनता र पर्यटकहरुलाई कठिन भइरहेको छ । यी दुवै सडकको निर्माण कार्य अविलम्ब सम्पन्न गरियोस् । सार्वजनिक वन मासेर भक्तपुर बाघेश्वरीमा खानेपानीको मुहान रहेको भंगेरीडाँडामा रवि खेलमैदान बनाइएको छ । खारेज गरियोस् । मन्त्रीपरिषदले एसपीसी खारेज गर्ने निर्णय गरेकोलाइ अध्ययन हुँदैछ भनि पत्राचार नगर्ने परराष्ट्रमन्त्रीमाथि कारबाही किन हुँदैन ? गोपनीयता भंग गरेका अर्थमन्त्रीको राजीनामा भइसकेको हुँदा पारित गरिएको भनिएको बजेट खारेज गरी नयाँ बजेट पेश गर्न जरुरी छ ।’

उनले थपे, ‘अर्थमन्त्रीको पार्टीको गोपनियता भंग गर्ने अर्थमन्त्रीको पार्टीको अध्यक्ष र सरकारको नेतृत्व गरेको प्रधानमन्त्रीलाई यसबारे जिम्मेवार बनाउन जरुरी छ । नेपाली काँग्रेसकै नेता शेखर कोइरालाले सरकारकै कारण संस्थागत भ्रष्टाचार बढेको छ भनेकाले प्रधानमन्त्रीमाथि छानविन हुनुपर्छ ।’

उनले काँग्रेस नेता शेखर कोइराला आफैंले सरकारकै कारण संस्थागत भ्रष्टाचार बढ्दै गएको भनाइ आएको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवामाथि छानवीन गर्नुपर्ने जिकिर समेत गरे । उनले भक्तपुरको दुवाकोटा र नगरकोट सडकको कालोपत्रे समयमै सम्पन्न गराउन पनि सरकारलाई सचेत गराए ।

LIVE TV