२३ असार २०७९, बिहीबार
  • कृष्ण कन्दङ्वा लिम्बू

कान आफैमा एक संवेदनशील अंग । लामो समयदेखि यसको समस्याले मलाई सताइरहेको थियो । दोहोर्याएर अप्रेशन नगरी नहुने अवस्था रहेको चिकित्सकले सुनाएदेखि ममा एकप्रकारको अत्यास थपिएको थियो ।

करिब ६ वर्षअघिदेखि मैले उपयुक्त उपचार र विशेषज्ञ शल्यचिकित्सकको खोजी गरिरहेको थिएँ । यो अवसर बल्ल गत असार १३ गते मिल्यो । काठमाडौं महाराजगन्जस्थित टिचिङ अस्पतालमा ४ घण्टाको बेहासी झेलेँ । अर्थात् मेरो शल्यक्रिया (अप्रेशन) सफल भयो ।

उक्त शल्यक्रिया पूर्व–निर्धारित मितिभन्दा ३ दिनअगाडि थियो । चिकित्सकहरुले ३ महिनाअघि नै तय गरेको मिति भने असार १६ गते थियो । तर उक्त दिन बिहीबार परेकोले बिहीबार कानका सामान्य किसिमका शल्यक्रिया (अप्रेशन) हुने भएकाले ३ दिनअघि सारेर सोमबार नै गर्ने सल्लाह भयो । अप्रेशनको अघिल्लो दिन अर्थात सम्पर्क मिति असार १२ गते म अस्पताल पुगेँ । त्यही दिन चिकित्सकले भर्ना भइहाल्नु भन्नुभो र म हतारहतारमै अस्पताल भर्ना भएँ ।

भोलिकै दिनका लागि अप्रेशनको तयारी गर्नुपर्ने भयो । टिचिङ अस्पतालमा कानको लागि प्रि–अप्रेशन हेर्ने विशेषज्ञ डाक्टर कृपा डंगोलले कागजात हेर्दै कानको राम्रोसँग निरीक्षण गरेपछि भन्नुभयो, ‘तपाईको भोलि नै अप्रेशन गराउँछौँ । अप्रेशनका लागि कान ठिक छ, सुख्खा छ । के तपाईं तयार हुनुहुन्छ ? केही समस्या त छैन अप्रेशनको तयारीमा ?

मैले त जसरी पनि गराउनु नै थियो र भनेँ, ‘केही समस्या छैन ।’

उहाँले नजिकै अर्को कोठामा बिरामी जाँच गरिरहनुभएको विशेषज्ञ डाक्टर रविन्द्रभक्त प्रधानांगलाई पनि एकपटक देखाउन भन्नुभयो । उहाँ मैले वर्षांैदेखि आफ्नो समस्या देखाउँदै आएको डाक्टर हुनुहुन्थ्यो । अप्रेशन पनि उहाँले नै गरिदिन्छु भन्नुभएको थियो पहिल्यै । त्यसपछि म सरासर गएँ, उहाँ भएकोमा । उहाँले बेडमा पल्टाएर माइस्क्रोप लगाएर कानका देखिनेसम्मको भाग राम्ररी हेर्नुभयो । र, भन्नुभयो– ‘यो भन्दा अलिक सुख्खा हुन्न ?’

मैले भनेँ, ‘धेरै समय पर्खिनुपर्छ । एकदम कमै मात्रै यो भन्दा सुख्खा भएको हुन्छ ।’

उहाँको आशय थियो– कान अप्रेशन गर्दा जति सुख्खा भयो उति नै अप्रेशन सफल र राम्रो हुन्छ । हुन पनि मेरो बच्चादेखिको कान पाक्ने समस्या र फेरि दोरो¥याएर गर्न लागेको (रिभिजन) अप्रेशन पनि थियो । यो कुरा मैले पहिल्यै डाक्टर रविन्द्रलाई भनेको थिएँ । सोही अनुसार मेरोबारे उहाँले उक्त भनाइ भन्नुभएको थियो । तर उता प्रि–अप्रेशन हेर्ने विशेषज्ञ डाक्टर कृपा डंगोलले अप्रेशनका लागि तपाईंको कान ठिक छ भनिसक्नुभएको थियो । कान त्यति भिजेको पनि थिएन ।

डाक्टर रविन्द्रले केही वर्षअघि पनि भन्नुभएको थियो, ‘तपाईको कानमा २ काम गर्नुपर्छ । एक मिडल इयरको कानको हड्डी खुर्किनुपर्छ । अनि जाली राख्नुपर्छ । यो निकै जटिल उपचार हो । यो गर्न हामीलाई त्यति सजिलो छैन ।’

हुन पनि हो । बच्चादेखिको पाकेको कान । अनि १० वर्षअघि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेको अप्रेशनको असफलता । मलाई यो समस्याले तनाव पनि दिइरहेको थियो ।

यसअघिका केही वर्ष अप्रेशनका लागि मिति लिएर पनि म विभिन्न कारणले अस्पतालमा उपस्थित हुन सकेको थिइनँ । अब यो रोगबाट छुटकारा पाउनै पर्ने अवस्था पनि थियो । किनकि कानको समस्याकै कारण चक्कर लाग्ने, कान बज्ने लगायतका समस्या आउन थालिसकेका थिए । जो जटिलताको संकेत पनि थियो । यी कुराहरु सोच्दै सब कुरा सोच्दै अप्रेशनको तयारीमा जुटेँ ।

अप्रेशन कस्तो हुने हो ? भन्ने चिन्ता त छँदै थियो मनमा । सँगै अप्रेशनको तयारी तत्काल गर्नुपर्नाले झनै तनाव थपियो । आर्थिक व्यवस्थापन देखि शरीरको जाँच पनि दर्जनौँ प्रकारका । मूल समस्या आर्थिक नै थियो, जो मैले आकलन गरेको भन्दा बढी खर्च हुने देखियो ।

त्यसको चाँजोपाँजो जसोतसो मिलाइसकेँ । टिचिङ अस्पताल उपचारमा सुलभ नै मानिए तापनि मेरो उपचारका लागि तुलनात्मक केही बढी लाग्ने थियो । एकातर्फ रोगको निदान पाउने खुसी थियो भने अर्कोतर्फ अप्रेशनको अधिक त्रास थियो । १२ गते बिहान नै डाक्टर रविन्द्रसहितको चिकित्सकको टोलीले भनेको थियो कि भरै ३ बजेसम्म भर्ना भइसक्नु अनि सबै तयारी गरिसक्नु ।

उक्त दिन लगभग तनावग्रस्त रह्यो । खानाको त टुंगो नै भएन । खासमा त्यो दिन अस्पताल नजिकै रहेको मेरो अफिस गएको थिएँ । तर म अस्पतालमै भर्ना हुनुपरेकाले कोठा पुग्ने र कार्यालयको काम प्रभावित भए । त्यसपछि अस्पताल आएर भर्ना कागज मिलाएँ ।

डाक्टरहरुले जाँचका लागि रगत लिनुभयो । जो ५–६ प्रकारका विभिन्न तत्व जाँचका लागि थिए । त्यसपछि इसीजी, इको, छातीको एक्सरे, युरिन जाँच गर्नुपर्ने भयो । कानको सुनाइ त्यसअघि नै गरिसकेको थिएँ ।

मनमा हतास र उदासको बेजोडताका बीच लगभग बेलुकीको ५ बजेसम्ममा उल्लेखित सबै जाँचको तयारी सकेको थिएँ ।

त्यसपछि रिपोर्ट कलेक्सन गर्नुपर्ने थियो । आफू अस्पतालमै भर्ना भइसकेकोले त्यसको कलेक्शन गर्न त्यति समस्या भने थिएन । तर बिहान नै अप्रेशन गर्नुपर्ने भएकाले त्यसको दबाब भने ममा अधिक थियो ।

एनेस्थेसियाबाट

यसैबीच समयको रफ्तार नदीको बेगझैँ थियो । साँझ करिब ६ बज्न लाग्यो । बिहानदेखि खाना नखाएको कारण भोकै थिएँ । त्यसपछि अस्पतालको क्यान्टिनमा पुगेर फ्राई राइस मागेर खान मात्रै थालेको थिएँ । एक ल्यान्डलाइनको नम्बरबाट फोन आयो । रिसिभ गरेँ । त्यहाँ भनियो– कृष्ण जी होइन ?

‘अँ हो त,’ मुखभरि भात चपाउँदै मैले जवाफ दिएँ ।

लगत्तै उताबाट भनियो, ‘म एनेस्थेसियाबाट हो, तपाई आइहाल्नुपर्यो ।’

मलाई एनेस्थेसियाबाट भन्नेबित्तिकै थाहा भइसकेको थियो कि मलाई बेहोस बनाउने डाक्टरले कल गर्नुभएको हो भनेर । ‘तपाईले भरै नै एनेस्थेसियाको टिमलाई भेट्नुपर्छ है’ बिहानै पनि डा. डंगोलले भन्नुभएको थियो ।

मलाई ११२६ नम्बरको बेड परेको थियो । म सरासर गएँ । अनि एनेस्थेसियाको डाक्टरको टिमलाई भेटेँ । उहाँहरुले मलाई शारीरिक तौलदेखि खानापिना, स्वास्थ्यको हिष्ट्री सोध्नुभयो । र, ब्लड प्रेसर जाँच्नुभयो । सबै सकिएपछि औषधिको नाम लेखेर उक्त औषधि ल्याउन भन्नुभयो । जहाँ कपीको पानामा करिब ३० भन्दा बढी औषधीका नाम थिए । भोलिको अप्रेशन राम्रै हुने आशा थियो । केही नराम्रा कुराहरु पनि मनमा खेलिरहेकाले म नर्भस थिएँ ।

औषधिको लिस्ट बोकेर म औषधि पसलतिर हिँडेँ । जतिबेलासम्म मेरो सहयोगीका रुपमा एकजना भाइ आइसकेका थिए । उनले मलाई भरपुर सहयोग गरे ।

औषधि पसलमा गएर नाम दिएपछि फटाफट औषधि दिन थाथियो । जहाँ लामा–लामा सिरिन्ज (सुई) थिए । अघि रगत जाँचका लागि ३ पटकसम्म घोचिएको सुईले नै म त भयभित भएको थिएँ । फेरि उहीँ झन ठूलठूला परिणाम र आकारमा देख्दा मन विचलित थियो । तर आफैँलाई सम्हाल्दै आफैलाई फकाउँदै मन दरिलो बनाएँ ।

अनि स्लाइनका ठूलठूला बोतल, मसिना सीसीमा दर्जनौँ औषधि, अनि लामालामा पाइप लगायत झण्डै एक डोकोको परिणाममा औषधि सामग्री लिएर म बेडमा पुगेँ ।

मन अशान्त थियो । करिब साढे ७ बज्यो । त्यसपछि नर्सहरुले मलाई बोलाउनुभयो । र, भन्नुभयो– ‘तपाईले अब सहमति पेपरमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । यसो पढेँ– मन कहालियो । सँगै उभिएका डाक्टरले भन्दैै थिए– ‘कहिलेकाँही बेहोसपछि बिरामीलाई समस्या पर्नसक्छ । तपाईंको कानको पछाडि हड्डी फोरेर भित्र पुगेर शल्यक्रिया गर्नुपर्ने हुन्छ । अनि भित्री सडिएका हड्डीलाई खुर्किएर फ्याल्नुपर्छ र कानका जाली राख्नुपर्छ । करिब ४ घण्टा बेहोस पार्नुपर्छ तपाईंलाई ।’

सहमति पत्रमा हस्ताक्षर गर्नुअघि मैले ती डाक्टरलाई सोधेँ, ‘अप्रेशनका जटिलताहरु त छैनन नि हैन ?’

‘जटिलता छन्, अप्रेशनका क्रममा तपाईलाई कुनै समस्या पनि हुनसक्छ । फेरि कानको केसमा भित्र खुर्किने हो । त्यहाँ मस्तिस्कबाट अनुहारमा आएको एक नसा हुन्छ । जसलाई फेसियल नर्भ भनिन्छ । उक्त नसामा क्षति भए अनुहार (बांगिनु) कुरुप हुनसक्छ । तर यो अस्थायी हुन्छ । थेरापी मार्फत पुनः ठिक पार्न भने सकिन्छ । तर यसबारे जानकारी नहुनाले मानिसहरु आत्तिने गर्छन् । त्यसकारण यो अगाडि नै जानकारी गराउनुपर्छ, तर यो एकदमै (रेयर) दुर्लभ हो । हजारौँमा एक जनामा मात्रै हुने हो ।’ उहाँको जवाफ थियो ।

साथै उहाँले थप्नुभयो, ‘तपाईको दोस्रो पटकको अप्रेशन हो, कानमा जाली बस्ने सम्भावना ८९ प्रतिशत मात्रै हो । पहिलोमा ९५ प्रतिशत जाली बस्ने सम्भावना हुन्छ ।’

त्यति भनेपछि मैले सहमति पत्रमा हस्ताक्षर गरेँ । जहाँ दायाँबाँयाँ ल्याप्चे गर्नुपर्ने थियो ।

अप्रेशनको समय नजिकिँदै थियो । मन बेचैन थियो । तर खुसी पनि थिएँ । जीवनलाई नै मधुर पार्ने अनि वर्षौंदेखि बोकेको रोग पनि फाल्दैछु भन्ने । लगभग अप्रेशनको प्रकृया र तरिकाबारे धेरै थाहा भएकाले मलाई त्यति तनाव भने थिएन । तर कतिबेला अपे्रशन सकिने हो र भविष्यमा कस्तो होला भन्ने चिन्ताले भने सताई नै रह्यो ।

राति करिब ९ बज्यो । नर्सहरुले फेरि मलाई बोलाउनुभयो– ‘औषधिहरु खोई ?’

अघि ल्याएको औषधिको भारी देखाएँ । तर सो औषधि त एनेस्थेसिया अर्थात् बेहोस पार्ने मात्रै रहेछ । औषधिको अर्को कागज मैले देखेको थिइनँ रहेछु । त्यसपछि फेरि उक्त कागज बोकेर औषधि पसल हिँडेँ । र अर्को एक भारी औषधि ल्याएर आएँ । यतिका धेरै औषधि केमा कसरी राखिन्छ या प्रयोग होला भनेर अचम्मित पनि थिएँ । त्यसपछि खाना खाएर केही औषधि खान दिइएको थियो । उक्त औषधि खाएर बेडमा सुतेँ ।

मनमा अनेक कुरा खेले, डाक्टर रवीन्द्रले यो त्यति सजिलो छैन भनेको कुरा मनमा खेल्यो । भोलिको जटिल शल्यक्रिया, त्यसपछि के हुने हो ? पहिलेको जस्तै फेरि उपचार सफल नहुने हो कि ? बेहोस अवस्थामा मलाई केही त नहोला ? अघि चिकित्सकहरुले भनेजस्तै अनुहारको कुरुपता आयो भने ? इत्यादि कुराले मन चिमोटिरह्यो । तर आफैले आफैलाई सम्हादै पनि थिएँ । यो मेरो गर्नैपर्ने उपचार हो, यसको विकल्प छैन । अनि फेरि पहिलाभन्दा बृहत् शल्यक्रिया छ, यसले ठिक हुन्छ । अनि फेरि यो सुविधासम्पन्न अस्पताल पनि हो । त्यसमा पनि मन अड्याउनु पर्ने र सन्तोक हुनपर्ने कारण के थियो भने डाक्टर रवीन्द्र एक अनुभवी र विशेष कौशलयुक्ता डाक्टर । फेरि उहाँले मलाई लामो समयदेखि उचित सल्लाह र सुझाव दिँदै आउनुभएको थियो ।

यी र यस्ता कुरा मनमा खेल्दाखेल्दै उज्यालो भयो । बिहान केही नखानु भनिएअनुसार खाली पेट नै बसेँ । अप्रेशनको समय ९ बजे तोकिएको थियो । तर मेरो तेस्रो नम्बरमा पालो भएकाले १२ बजे मात्रै अप्रेशन थिएटर लगियो ।

काट्ने भागको कपाल काट्ने तथा अप्रेशनका क्रममा लगाउने कपडा लगाएर तयारी अवस्थामा बसेको थिएँँ । मन बेचैन भएर अपरेसन थिएटरबाहिर पर्खिरहेका बेला मलाई भेट्न एकजना काठमाडौंमै बस्ने दिदी आइपुग्नुभयो । हौसला दिनुभयो । म पनि हौसिएँ ।

 थिएटरमा ४ घण्टाको बेहोसी

जब १२ बज्यो म अप्रेशन थिएटरमा पसेँ । भएभरको कुनै कपडा शरीरमा थिएन । हातको सानो डोरो पनि फुस्काइयो ।
अप्रेशन थिएटरमा ३ प्रकारका कोठा छन् भनेर पहिल्यै थाहा थियो । किनकि कानको उपचार पूर्णरुपमा लागोस् भनेर त्यसअघि नै नाकको पनि अप्रेशन गराएको थिएँ । त्यो बेला धेरै कुरा थाहा भएको थियो मलाई । अगाडि एक कोठामा लगिन्छ अनि सारेर अप्रेशन गर्ने कोठामा लगिन्छ । अनि त्यहाँ सकेर रिकभर रुम लगिन्छ ।

थिएटरमा पुगेपछि मेरो धड्कनको रफ्तारमा उछाल आयो । त्यहाँ नर्सहरुले मेरोबारे केही सोधिरहनुभएको थियो । मैले जवाफ दिइरहेँ । त्यसपछि मेरो देब्रे साइडमा एक नर्स आएर इन्जेक्सन लाइदिनुभयो । म एकदमै डराइरहेको थिएँ ।

मलाई नर्सले सोधिरहनुभएकाे थियाे र केही हुन्न भन्दै हाैसला दिइरहनुभएकाे थियाे । म डराइरहेको थिएँ । मनमा आफन्त, घर अनि माया गरेको मान्छे अनि मलाई माया गर्नेहरुको अत्याधिक याद आइरह्यो । त्यत्तिकैमा मलाई नर्सले सोध्नुभयो, ‘कस्तो भइरहेको छ ?’

मैले भनेँ, ‘डर लागिरहेको छ ।’

नर्सले जवाफ दिनुभयो, ‘केही हुन्न, तपाईलाई डर नलाग्ने औषधि पनि दिइसकेको छु ।’

अलिक ढुक्क भएँ । अनि सान्त्वना पनि पाइरहेको थिएँ । नर्सहरुबाट उहाँहरुले भन्दै हुनुहुन्थ्यो । यस्ता प्रकारका विरामीको उपचार दैनिक ३–४ जनाको हुने गर्छ यहाँ ।

लगत्तै मलाई अर्को कोठामा गुडाइयो । जुन मुख्य अप्रेशन कक्ष थियो । त्यहाँ विभिन्न प्रकारका उपकरण जडान गरिएको थियो । साथै अघिल्लो दिन एनेस्थेसियाको तयारी गरिरहेका डाक्टरहरु पनि हुनुहुन्थ्यो । मैले खासमा डाक्टर रविन्द्रलाई नियाल्न खोजेँ । जो मेरो अप्रेशनको नेतृत्वमा हुनुपर्ने हो । तर देखिनँ । तर त्यहाँ विभिन्न विषेशज्ञको टीम नै सामेल हुनुपर्ने थियो । जसका कारण भीडले मैले नदेखेको हुनसक्छ । त्यसपछि मलाई अन्य कुनै होस थिएन । म बेहोस थिएँ ।

१२ बजे पसेको म एक्कासि निद्राबाट बिउँझेको भान हुँदा करिब ४ बजिसकेछ । मलाई रिकभरी रुममा लगिएको थियो । आँखा खोल्दा एक पुरुष र एक महिला नर्स देखेँ । मैले सोधेँ, ‘अप्रेशन सकिएको हो ?’

एक पुरुषबाट जवाफ आयो, ‘तपाईँको अप्रेशन राम्रो मात्रै होइन, धेरै राम्रो भएको छ ।’

मेरो मनमा खुसीको वहाव बढ्यो । थ्यांक्यु गड भन्दै छातीमा हात राखेँ । अनि भगवानरुपी डाक्टरहरुलाई पनि सम्झिए । तर ज्यान भने आफूलाई कसैले फुटबलझै ठोकेर छोडेको जस्तो पीडामय अनुभव भइरहेको थियो । हुन पनि किन नहोस् शरीरका विभिन्न अंगमा इन्जेक्सन, अनि घाँटीबाट विभिन्न पाइप हालेर भेन्टिलेटरमार्फत कृत्रिम स्वास–प्रस्वास गराइएको थियो ४ घण्टासम्म । काटिएको घाउका कारण असह्य दुखाइ हुँदोरहेछ । ४ घण्टा बितिसकेको थिएछ । तर मलाई भने लाग्यो कि केही मिनेट निदाएर बिउँभिएँ । हुन पनि किन नहोस् सपनामा धेरै युवतीहरुसँग गफिएको देखिरहेको थिएँ । त्यसपछि २ घण्टा रिकभरी रुममा राखेर मलाई मेरो बेडमा लगियो । मेरा काठमाडौंका आफन्तहरु कतिपय मेरो होश नआई भेटेर फर्किसकेका थिएछन् । कोही मेरो होस खुलेसँगै आएर बोलाउनुभयो र जानुभयो । उहाँहरुको मायाले पनि म नतमस्तक भइरहेको थिएँ ।

बेहोसीको समयमा एनेसथेसियाका एक डाक्टरले मेरो कुरुवा भाइलाई भेटेर भन्नुभएछ – ‘तपाईँको दाई एकदमै डराइरहनु भएको थियो। कहिल्यै बेहोस हुने औषधी लगाउनु भएको थिएनछ। बेहोस गर्दा ३ अवस्था हुन्छन् एक इन्जेक्शन दिइएपछि बिरामीको मासापेसी नचल्ने दुई मध्यम चल्नु र अर्को पूर्णरुपमा चल्नु । उहाँको केसमा दोस्रो अर्थात मांसापेसी मध्यम चल्यो। अनी उहाँलाई पछि कुनै कारण बेहोस बनाउनु परे भी बाट उठेको औषधीले साढे ३ घण्टा काम गर्ने रहेछ । यही गर्नुभयो भने हामी भन्छौँ। तर अन्यन्त्र गर्नु परे नविर्सिनु।’ यो कुरा भरै मलाई भाइले सुनाए ।

दुखाइको पीडा र डाक्टरको माया

मेरो नयाँ जीवन सुरु हुँदै गरेको भान भयो । त्यसपछ ६ बजे मलाई मेरो बेडमा लगियो । बेडमा स्वागत गर्ने साथीहरु पनि निकै थिए । म टाउको उठाउन सक्ने अवस्थामा थिइनँ । चक्कर अत्याधिक थियो । नर्सहरुले कालो चिया खुवाएर अन्य खानेकुरा खान सुझाव दिइरहनुभएको थियो ।
मलाई चक्कर चलेका कारण हिड्न सक्ने अवस्था थिएन । बेड प्यानको सहारामा त्यही पिसाब गर्नुपर्ने अवस्था आयो । भाग्यवश उठ्न नसकिन्जेल ३ दिनसम्म दिसा भने आएन । ज्यान पूरै दुखेर थिलथिलो भइरहेको थियो ।

अप्रेशनको भोलिपल्ट बिहान डाक्टर रविन्द्रभक्त प्रधानांग मेरो बेडमा आएर भन्नुभयो, ‘तपाईको कान धेरै वर्ष खराब भइसकेको थिएछ । भित्र धेरै कुरा थिएनन् । जस्तो हड्डीहरु तथा अन्य फङसन्स । तर अब क्लियर भइसकेको छ ।’

उहाँले सुनाइमा पनि सुधार हुनसक्ने बताउनुभयो । मलाई भने भविष्यमा अझै ठूलो संक्रमण हुने पो हो कि भन्ने डर थियो । मैले हतारमै जवाफ दिएँ, ‘धन्यवाद डाक्टरसाब ! भविष्यमा यसबाट प्रोटेक्ट भएँ भने पनि मलाई ठूलो कुरा हुनेछ ।’

राम्रो हुने आशा देखाएर डाक्टर बाहिरिनुभयो । त्यत्तिकैमा डाक्टरहरुको निरन्तर निगरानीमा म केही दिन रहेँ । अन्य बिरामीहरुको तुलनामा म अलिक गम्भीर नै थिएँ । तर चिकित्सकहरुको पनि बारम्बार म माथि निगरानी थियो । जसका कारण अलिअलि हिँडडुल गर्नसक्ने भएँ । जसबारे नर्सहरुले पनि डाक्टरहरुलाई रिपोर्टिङ्ग गरिरहनुभएको थियो ।

बीच–बीचमा डाक्टर कृपा पनि आएर भन्नुहुन्थ्यो, ‘एकोहोरो नसुत्नुस्, शरीर तथा घाँटीलाई मुभिलाइज गर्ने कोसिस गर्नुस् ।’

अप्रेशनको चौथो दिन पनि डाक्टर रविन्द्र आएर सोध्नुभयो, ‘कस्तो छ ?’ भन्दै आउनुभयो । मैले ठिकै छ भनेपछि ‘पर्सिका लागि मैले तपाईलाई डिस्चार्ज गर्न रेकुमेन्डेट गरेको छु’ भन्नुभयो । मैले हवस् भन्दै पुनः धन्यवाद दिएँ ।

राम्रोसँग हिँड्न सक्ने अवस्थामा त थिइनँ । तर नर्सहरुले पनि विभिन्न रिपोर्ट अध्ययन गरेर नै डिस्चार्ज दिइन्छ भनेपछि म सातौँ दिनमा डिस्चार्ज भएँ । अस्पतालबाट मेरो कोठातर्फ यात्रा तय गरेँ । मनमा दीर्घकालीन आरोग्यको कामना थियो भने यो घटना एक अविष्मरणीय रुपमा मनमा कुदिइसकेको थियो ।

विरामीको अहोरात्र सेवा गर्ने नर्सको आफ्नै पीडा

डिस्चार्ज पेपर तयार गर्दै गर्दा मेरो हातको सुई निकाल्दै एक कलिलो उमेरकी नर्सले मलाई भन्नुभयो । यो ठिक छ ? त्यतिबेला उहाँको हात मेरो नाडीमा थियो ।

मैले भने – ‘ठिकै छ’  ‘त्यसो  भए निकालौँ है’ भन्नुभयो । ‘हस’ – मैले भने । त्यसपछि केही सेकेन्ड रोकिएर उहाँले भन्नुभयो – ‘तपाईहरु निको बन्नुहुन्छ, डिस्चार्ज पाउनुहुन्छ । हामी नर्सको कहिल्यै डिस्चार्ज हुँदैन।’

मैले साथसाथै जवाफ दिएँ । तपाईहरुको पेशा नै हो यो । यो तपाईहरुको कर्तव्य हो । यस सेवा मै तपाईहरुलाई कल्याण हुनेछ नी किन पीर ?

उहाँ (नर्स)बाट फेरि मलिन स्वरमा जवाफ आयो – ‘नर्स भएर के गर्नु के गर्नु आफ्नै बुबालाई बचाउन सकिएन । भर्खरै मेरो बुबा निकै नहुने रोगले वित्नुभयो। बचाउन सकिन ।’

उहाँको मलिनता र पीडाबोधबाहेक मैले अरु केही भन्न सकिन । जो छेउका अन्य विरामी र अन्य कुरुवाले पनि नियालिरहेका थिए ।

LIVE TV