२२ असार २०७९, बुधबार

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको नियत खराब भएको प्रष्ट देखिएको बताएका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचिव भट्टराईले बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश गराएर राष्ट्रघाति काम गरेको उल्लेख गर्दै यस्तो बताएका हुन् ।

सरकारी डकुमेन्ट गायब बनाएको र सीसीटीभी फुटेज समेत मेटाइएकाले अर्थमन्त्रीको नियत खराब देखिएको बताउँदै उनले भनेका छन्, ‘यो घटनाको सन्दर्भमा संसदीय छानविन समिति हुनुपर्छ । किनभने पछिल्लो दिनमा सरकारी सूचनाहरुसमेत गायव बनाइएको छ । सीसीटीभी फूटेजहरु मेटाइएको छ । त्यसो हुँदा अर्थमन्त्रीको नियत खराब छ भन्ने देखिन्छ ।’

उनले थप भने, ‘उहाँले यसमा अपराध गर्नुभएको छ भन्ने कुरा प्रष्ट देखिन्छ । त्यस कारण उहाँमाथि नै छानविन गर्नका लागि एउटा सर्वदलीय, संसदीय छानविन समिति हामीले भनेका छौं । नम्बर दुई, हाम्रो बटमलाइन अर्थमन्त्री पदमा त रहन मिल्दैन । कि त उहाँले राजीनामा गर्नुपर्छ । कि त प्रधानमन्त्रीले उहाँलाई बर्खास्त गर्नुपर्छ ।’

यसका साथै उनले सीसीटीभी फूटेज मेटाउने, सूचनालाई बेपत्ता गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने पनि बताए ।

LIVE TV