२२ असार २०७९, बुधबार

काठमाडौं  । ‘वी लभ यू’ फाउन्डेसनले वृक्षारोपण कार्यक्रम गरेको छ । विश्वभरी बढ्दै गइरहेको पर्यावरण प्रदूषण कम गराउन फाउन्डेसनले काठमाडौंको कागेश्वरी(मनोहरास्थित सहिद पार्कमा वृक्षारोपण गरेको हो ।

वृक्षारोपण कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्ण राई, बागमती प्रदेशसभा सदस्य रामेश्वर फुयाल,  एमाले प्रदेश कमिटी सदस्य राम शरण ढुङ्गाना,  विश्वराज श्रेष्ठलगायतका सक्रिय सहभागीताको थियो ।

कार्यक्रममा बोल्दै सांसद राईले फाउण्डेसनले लिएको ‘आमाको प्रेम सारा संसारमा’ भन्ने मूल नारालाई मुक्त कण्ठले सराहना गरे । साथै अहिलेको मानव समाज सभ्यता विकासको चौथो आयाम अर्थात् जीवन विकासको आयाममा प्रवेश गरेको अनि फाउण्डेसनद्वारा गरिँदै आएको वृक्षारोपण लगायतका यस्ता अन्य कार्यहरू प्रत्यक्ष रूपमा जीवन विकासको आयाम अन्तर्गत पर्ने भएकाले यसखाले गतिविधिको उपादेयता अन्य कुनै कार्यक्रमहरू भन्दा अत्याधिक रहेको कुरामा जोड दिए ।

वी लभ यू फाउण्डेशनले नेपालमा मानवहितका थुप्रै गतिविधिहरु पनि निरन्तर रुपमा गर्दै आएको छ। यसले पिउने पानीको असुविधाले ग्रस्त विद्यालयमा सफा पानी सुविधा प्रदान गरेको छ, किशोरावस्थाका विद्यार्थीहरुमा असल चरित्र र विवेक निर्माण हुन सक्ने गरी थुप्रै विद्यालयहरुमा पुस्तकालयहरुको निर्माण गरेको छ ।

त्यसैगरी रक्त आपूर्तिलाइ सहज पार्न समय(समयमा रक्तदान अभियान सञ्चालन अनि मौसम परिवर्तनको जोखिम न्यूनीकरण गर्न वातावरण संरक्षण गरी राष्ट्र व्यापी रूपमा सडक, पार्क तथा नदी सरसफाई क्यामपेनहरु पनि गरिरहेको छ  ।

 

LIVE TV