२१ असार २०७९, मंगलवार
  • दान बहादुर बुढा

मुगु । निजामती, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र व्यवसायीहरुको सक्रियतामा मुगुको छायाँनाथ रारा नगरपालिका–३ लामाचौर गैराकाँडादेखि रारा ताल (महेन्द्र ताल) सम्म पुग्ने छोटो पर्यटकीय पदमार्ग निर्माण सम्पन्न भएको छ ।

हाल लामाचौर र सल्लेरीबाट रारा ताल जाने गरिएको थियो तर, छोटो पदमार्ग निर्माणपश्चात् रारा पुग्नुपर्ने दूरी घटेको छ । यस पदमार्गबाट जिल्ला सदरमुकाम गमगढी बजार आसपासमा रहेका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन गर्न सकिनेछ ।

पर्यटकीय पदमार्ग निमार्ण गरिएको स्थान लामाचौरसम्म पुग्न सदरमुकाम गमगढी बजारदेखि करिब डेट घण्टा लाग्छ भने लामाचौरबाट रारा ताल पुग्न करिब २० देखि ३० मिनेटको पैदल यात्रा गरे पुग्छ ।

छोटो समयमै रारा ताल पुग्न सकिने अवस्थालाई मध्यनजर गर्दै सरकारका विभिन्न निकायहरुको पहलमा शनिवारको दिनलाई श्रामदानमा रुपान्तरण गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज रुपमा रारा पुग्नका लागि छोटो पदमार्ग निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताएका छन् ।

उनका अनुसार सदरमुकाम गमगढीबजार देखि रारा तालको काख सल्लेरी र लामाचौरसम्म सवारी साधनमा रारा जान पनि सकिन्छ । तर, पैदलबाट रारा पुग्ने पर्यटकहरुका लागि यो छोटो नयाँ पदमार्ग निर्माण गरिएको हो ।

रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन नयाँ पदमार्ग निर्माण गरिएको उनको भनाइ छ । यो मार्गबाट यहाँका पर्यटकलाई आकर्षित गर्न सकेमा रारा ताल र जिल्लाको प्रचार हुने र बर्सेनी हजारौँ पर्यटकले रारा तालको अवलोकन गर्ने मुगु उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढाले बताए । उनका अनुसार सदरमुकाम गमगढी बजारमा बास बसेर रारा घुम्न गएर पुनः गमगढी बास बस्न सकिनेछ ।

नयाँ पदमार्ग निर्माणपछि लामाचौरका होटेलहरुमा पर्यटनको संख्यामा वृद्धि हुने र तालको किनारमा रहेका स्थानीयहरुको आर्थिक समृद्धिका साथै रोजगारीमासमेत सघाउ पुग्ने अध्क्षय बुढाले बताएका छन् ।

LIVE TV