२० असार २०७९, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् । सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेको बताए ।

गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा परेको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरु नै यो वर्ष प्रयोग हुने अवस्था आएको बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीति असार अन्तिममा ल्याउने तयारी गरेपनि सम्भव नहुँदा साउनको पहिलो साता मौद्रिक नीति ल्याउने बताए ।

उनले भने, ‘मलाई कताकता लाग्छ हामी यस्तो बेला परिएछ, संसार भरका अर्थशास्त्रीले निकालेका सिद्धान्तहरुका प्रयोग यतिबेला नै गर्न पाइने जस्तो भइरहेको छ । व्यवहारिक हिसावले त्यो अवस्था छ । सबैले अर्थतन्त्रका सबै सूचकको विषयमा जानकारी नै हुनुहुन्छ । उद्योग व्यवसायमा लाग्ने साथीहरुले दबाब र सहज दुवै महशुस गर्नुभएको छ । हामी मौद्रिक नीतिको तयारीमा छौं ।’

उनले फेरि भने, ‘मौद्रिक नीति असारको अन्त्यमा ल्याउँछौं नसके साउन महिनाको पहिलो साता ल्याउने तयारीमा छौं । मौद्रिक नीति सकेसम्म अहिले अर्थतन्त्रमा परेको प्रभावलाई निकास दिनेगरी कसरी ल्याउन सकिन्छ भन्ने हिसावले ल्याउने तयारी छ । मौद्रिक नीतिले करको विषयमा केही गर्दैन ।’

त्यस्तै गभर्नर अधिकारीले अर्थतन्त्रमा सेभिङ कमजोर हुँदै जाने र फजुल खर्चहरु बढ्दै जाने अवस्था भइरहेको बताए । उनले पछिल्लो समय व्यक्तिगत र समाजको खर्च गर्ने प्रवृतिमा सुधार नआएको बताए । गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र आयातमुखी अर्थतन्त्र रहेकाले त्यसको असरले अर्थतन्त्रको वाह्य क्षेत्रमा निकै ठूलो दबाब बढेको जिकिर गरे ।

उनले अर्थतन्त्र आयातमुखी हुँदा यो वर्ष देशबाट करिव ३ खर्ब रुपैयाँ ‘आउट फ्लो’ भएको बताए । पैसा बाहिर पठाउँदा बैंकहरुले राष्ट्र बैंकसँग डलर किन्नुपर्ने र त्यसका लागि ठूलो रकम राष्ट्र बैंकमा आउने गरेकाले पनि बैंकिङ प्रणालीमा तरलताको समस्या भएको उनको भनाइ छ । उनले बैंकको ब्याजदर बढ्दै जाने संकेत भएकाले उद्योगी व्यवसायीहरुले सहनुपर्ने बताए ।

गभर्नर अधिकारीले सरकार, राष्ट्र बैंक निजी क्षेत्र सबै मिलेर अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले मौद्रिक नीतिहरु सर्पपनि मरोस्, लठ्ठी पनि नभाँचियोस् भन्ने गरी ल्याउनुपर्ने अवस्था रहेको बताए । गभर्नर अधिकारीले मौद्रिक नीति ल्याएपछि त्यसको कार्यान्वयन मुख्य कुरा भएको भन्दै गत वर्ष ल्याएका प्रत्येक नीति अहिले प्रमाणित र कार्यान्वयन भइरहेको दाबी गरे ।

उनले मौद्रिक नीति ल्याउँदा व्यक्ति व्यक्तिको पछि लागेर सम्भव नहुने भन्दै भोलिको मार्केटलाई सहज , समग्र अर्थतन्त्रलाई पनि सही ट्रयाकमा राख्ने र अर्थतन्त्रको समग्र प्रणालीलाई स्थायीत्व दिने राष्ट्र बैंकले तयारी गरिरहेको बताए । गभर्नर अधिकारीले अहिलेको बैंकिङ तरलता कम गर्न राष्ट्र बैंकले झन्डै ११२÷१३ अर्बको रिफाइनान्स,झन्डै २५० को एससेलएफ सुविधामार्फत साढे ३ खर्ब बैंकहरुलाई दिएको बताए ।

उनले भने, ‘अहिले हाम्रो अर्थतन्त्रमा सेभिङमा कमजोर हुँदै जाने, खर्चहरु बढ्दै जाने अवस्था छ । व्यक्तिगत र समाजको खर्च गर्ने आनीबानीको सवालमा पनि सकारात्मक बदलाव आएको छैन । त्यसले आयातमुखी अर्थतन्त्र बनाएको छ । त्यसले गर्दा आयातमुखी अर्थतन्त्र रहेको र त्यसको असर स्वरुप हामीलाई वाह्य क्षेत्रमा निकै ठूलो दबाब बढीरहेको छ । विदेशी मुद्रा सञ्चिति घट्दै गएको, आयात निरन्तर बढेको अवस्था छ । निर्यातले नधानेको अवस्था छ । रेमिटेन्स बढेको भएपनि आयातले नधानेको अवस्था छ ।’

उनले फेरि भने, ‘त्यसको असर स्वरुप यो वर्ष देशबाट करिब करिब ३ खर्ब रुपैयाँ ‘आउट फ्लो’ भएको छ । पैसा बाहिर पठाउँदा बैंकहरुले राष्ट्र बैंकसँग डलर किन्नुपर्ने हुन्छ । त्यसका लागि ठूलो रकम राष्ट्र बैंकमा आउने भैरहेको छ, जसले बैंकिङ प्रणालीमा तरलताको समस्या भयो । राष्ट्र बैंकले त्यस्तो सबै पैसा यहीँ राख्ने कुरा हुन्न, बाहिर लगानी पनि गरिरहेको हुन्छ । बैंक तथा वित्तिय संस्थाहरु अलिकति ‘टाइट’ हुँदै गएपछि मार्केटको सिद्धान्त अर्थात माग र आपूर्तिको सिद्धान्त अनुसार नै अघि बढ्ने हो । बेसरेट पनि अझै प्रि कोभिडको लेभलमा पुगेको छैन्, कर्जाको एभरेज रेट पनि प्रि कोभिडको अवस्थामा पुगेको छैन । कर्जाको एभरेज रेट प्रि कोभिडमा पुगेको छैन । तर संकेतहरु भने बेस रेट र कर्जाको रेट अझै यो भन्दा पनि माथि जाने खालको देखाइरहको छ । त्यसकारण अब सबैले कही सहनुपर्ने अवस्था बजारले ल्याइरहेको छ । अर्थतन्त्रले ल्याइरहेको छ । अब हामी सबैले मिलेर अर्थतन्त्रलाई ट्रयाकमा राख्नुपर्नेछ ।’

उनले थपे, ‘हाम्रा नीतिहरु यस्ता हुन् जसले गर्दा सर्प पनि मरोस, लठ्ठी पनि नभाँचियोस भन्ने लाइनबाट हामी अघि जानुपर्नेछ । हामी मौद्रिक नीतिको तयारीमा छौं । नीति ल्याएपछि त्यसको कार्यान्वयन मुख्य कुरा हो । हामीले गत वर्ष ल्याएका प्रत्येक मौद्रिक नीति अहिले प्रमाणित भइरहेका छन् । हामीले रिसोर्सलाई हेरेर जाऔं भनेका छौं । अगाडिको वर्ष देखि हामी कति माइक्रो लेभलसम्म जाने प्रत्येक व्यक्तिगत कर्जासम्म जाने,यहाँ मानिसहरु रिसोर्सलाई नहेरी माग गरिरहेका छन् । केहि व्यक्तिलाई हेरेर कारवाही नगरि उल्टै नीति बदल्ने काम भयो भन्ने पनि छ । हामी कति माइक्रो लेभलसम्म जाने भन्नेबारे पनि हेरिरहेका छौं । राष्ट्र बैंकले ल्याउने हरेक पोलिसीलाई ब्रोड लेभलमा हेरेर अघि सारेका हुन्छ । व्यक्ति व्यक्तिको पछि लागेर सम्भव पनि हुन्न । भोलि मार्केटलाई पनि एक किसिममा सहजता मिलोस् र समग्र अर्थतन्त्रलाई पनि सहित ट्रयाकमा राख्न सकियोस् ।’

त्यस्तै गभर्नर अधिकारीले बैंकहरुमा १० लाख भन्दा बढी रकम जम्मा गर्न हुँदैन भन्ने उद्योगी व्यवसायी र बैंकर्सहरु समेत दुविधामा रहेको बताए । उनले राष्ट्र बैंक र बैंकहरुले त्यस्तो नीति नल्याएकाले १० लाख भन्दा बढी पैसा राख्नहुन्न भन्न नमिल्ने बताए । गभर्नर अधिकारी बैंकले टीटीआर रिपोर्ट अर्थात बैंकको ग्राहकले एक दिनमा १० लाख पैसा जम्मा ग¥यो भन्नको लागि कारण खुलाउनुपर्ने बताए । उनले अहिले १० लाख भन्दा बढी पैसा बैंकमा जम्मा गर्नहुन्न भनेर ९ लाख ९९ हजार तीन पटकसम्म गरेर जम्मा गर्ने अभ्यास कसैले नगर्न आग्रह गरे ।

उनले भने, ‘बैंकमा पैसा जम्मा गर्दा सोर्स खोज्ने विषयमा बैंकले आएको पैसा जम्मा गर्छ । बैंकमा पैसा जम्मा गर्दा १० लाख जम्मा गर्दा बैंकले रिसोर्स खोज्न सक्छ । कसरी के काम गरेर धेरै पैसा जम्मा गर्नुभयो । पैसा जम्मा नगर्ने भन्ने हुँदैन । व्यवसायीहरुलाई कम्फयुजन हुनुभए जस्तो छ । १० लाख भन्दा बढी पनि जम्मा गर्न पाउनुहुन्छ । कारोबार गर्दा क्यासमा कारोबार हुन सक्छ । ५० लाख पनि जम्मा गर्न पाउनुहुन्छ । बैंकमा १० लाख भन्दा बढी जम्मा हुँदै गर्दा टिटिआर रिर्पोट भन्छ । त्यस्तै धेरै पैसा दिनैपच्छिे जम्मा गदै जाँदा टीटीआर रिर्पोटको आधारमा खोज्नसक्छ तर अहिले सम्म बैंकको टिटिआरको रिपोर्टको आधारमा कारबाही गरेको छैन । पैसा जम्मा गर्नु हुँदैन भन्ने विषय पनि होइन ।’

उनले फेरि भने, ‘१० लाख भन्दा बढी पैसा जम्मा गर्नुहुन्न भनेर ९ लाख ९९ हजार जम्मा गर्ने अभ्यास नै नगर्न होला । बैंकको टिटिआर रिपोर्टबाट एसटिआरमा जान सक्छ । शंकास्पद हुन्छ । १० लाख भन्दा माथि पैसा जम्मा गर्नुहुन्न भने कुरा बिल्कुल होइनन् । हामी के कुरामा शतर्क हुनुप¥यो भने इलिगल पैसा कमाउने कुरामा शतर्क हुनुपर्छ । कमाउनु भएन । त्यसलाई बैंकिङ च्यानलमार्फत बाहिर ल्याउँछु भन्ने कुरा सोच्नुभएन । जेन्युन कमाउनुस् ट्याक्स तिर्नुस् । त्यस्तो गर्दा जुनसुकै खालको छानबिन गर्दा पनि भ्याट तिरेको, अनि दुःख गरेर अरुलाई रोजगारी दिएर कमाएको कुरा कहाँ जान्छ । हामीले दुई नम्बरी कुरा नसोचौं ।’

गभर्नर अधिकारीले उद्योगी व्यवसायीहरु अवैधानिक माध्यमबाट पैसा कमाउने कुरामा शतर्क रहनुपर्ने भन्दै उद्योग खोलेर,अरुलाई रोजगारी र राज्यलाई कर तिरेको जति पनि पैसा बैंकमा जम्मा हुने बताए ।

 

LIVE TV