२० असार २०७९, सोमबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश विकल्पले समकालीन नेपाली राजनीतिक नेतृत्वमा प्रचण्डको हाइटको अर्को नेता नरहेको बताएका छन् ।

आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ‘२१ औं शताब्दीको पार्टी, समृद्धिको प्रश्न र मानवजातिको समान अग्रगति’ नामक अवधारणा प्रस्तुत गर्दै उनले पार्टी अध्यक्ष प्रचण्डलाई गतिशील नेता रहेको बताए । ‘यस पार्टीको मूल नेतृत्व कमरेड प्रचण्ड आफैमा गतिशील नेता हुनु र उहाँको जस्तो महान् इतिहास समकालिन राजनीतिमा अन्य पार्टीका कोही पनि नेताको नहुनु पार्टीका लागि फेरि पनि बलियो आधार र सम्भावनाको विषय हो,’ अवधारणपत्रमा नेता विकल्पले उल्लेख गरेका छन् ।

साथै नेपालमा माओवादी छोटो समयावधिमै अधिक हस्तक्षेपकारी शक्ति लिएर देखा परेको र राष्ट्रिय राजनीतिको निर्णायक स्थानमा माओवादी नै रहेको बताए । अझ पनि यसको सम्भावना धेरै रहेको तर उत्ति नै चुनौती रहेकोले विभिन्न कार्यक्रमिक हस्तक्षेपमार्फत सुधार गर्न सकिने सुझाव समेत दिएका छन् ।

‘नेपालमा राजनीतिक दलहरुको झण्डै ७५ वर्षको इतिहास भइसकेको छ । तर, नेपालमा माओवादी आन्दोलनको इतिहास २८ वर्षको मात्र भयो,’ उनले भनेका छन, ‘नेकपा (माओवादी केन्द्र) को इतिहास लामो नभए तापनि माओवादी आन्दोलनले देशमा ऐतिहासिक योगदान गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक–समावेशिता, एकात्मक जातीय पितृसत्तात्मक तथा धार्मिक राज्यबाट आम नागरिकको राज्य निर्माणलगायत सामाजिक–राजनीतिक जागरणको क्षेत्रमा ठूलो योगदान गरेको छ ।’

समकालिन नेपाली राजनीतिक दलहरुमा माओवादीको इतिहास गर्विलो रहेको बताउँदै विकल्पले भनेका छन्, ‘माओवादीले अग्रगामी मुद्दा उठाएर आन्दोलनमा होमिरहँदा नेपाली कांग्रेस र एमालेजस्ता पार्टीले माओवादीप्रति खिसिट्युरी गर्दथे, आतंककारी भन्थे । तर, आज माओवादीले उठाएको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक–समावेशिताको मुद्दा नै एमाले–कांग्रेसको पनि निर्विकल्प एजेण्डा बनेको छ । त्यसकारण, निर्धक्कका साथ भन्न सकिन्छ, आज राष्ट्रिय राजनीति नै माओवादी आन्दोलनले स्थापित गरेका मुद्दामा हिडिरहेको छ । यो माओवादीको मात्र हैन आम परिवर्तनकारी नागरिकको ठूलो विजय हो ।’

नेता विकल्पले हाल माओवादी पार्टीभित्र पनि प्रारम्भिक चरणको पुँजिवादी चरित्र हाबी भएको समेत बताएका छन् । ‘एकले अर्कालाई रोक्ने, क्षयमतावान नेता–कार्यकर्ताले उपर्युक्त जिम्मेवारी र नयाँ आइडियाले ठाउँ नपाउने, दुईचार जना नेताले जे सोच्यो त्यही अन्तिम सत्य हुनेजस्तो अन्य रुढिवादी पार्टीको रोग माओवादीमा पनि क्रमिकरुपमा झाँगिदो छ,’ उनले भनेका छन्, ‘हाम्रो आफ्नै कमजोरीले परिवर्तनकारी पार्टी माओवादीले पनि निर्वाचन जित्न जोसँग पनि गठबन्धन गर्नुपर्ने, पैसाशाको खोलो बगाउनुपर्ने, लाठिमुंग्री र धाँधली इत्यादिको सहारा लिनुपर्ने परिस्थिती निर्माण भएको छ ।’

हेर्नुस् अवधारणा पत्रको पूर्ण पाठ

LIVE TV