१९ असार २०७९, आईतवार
  • एलबी मगर,

रोल्पा । लुम्बिनी प्रदेश सरकार अन्तर्गत कृषि मन्त्रालयले समयमै आर्थिक रकम भुक्तानी नदिँदा रोल्पाका किसानहरुद्वारा सञ्चालित साना किसान कृषि सहकारी संस्था मर्कामा परेको छ । रोल्पाको त्रिवेणी गाउँपालिकामा रहेको नुवागाँउ साना किसान कृषि सहकारी संस्था लिमिटेडले शीत भण्डारण भवनको निर्माण कार्य सम्पन्न गरेको महिनौं वितिसक्दा पनि रकम भुक्तानी नपाउँदा मर्कामा परेको हो ।

प्रदेश सरकारको कृषि खाद्य प्रविधि तथा भूमि ब्यवस्थापन मन्त्रालय र रोल्पाको नुवागाँउ साना किसान कृषि सहकारी संस्था लिमिटेडबीच आर्थिक वर्ष २०७५÷७६ मा पाँच करोड पचपन्न लाख उनान्नब्बे हजार दुई सय पन्ध्र रुपैयाको लागतमा दहवनमा दहवन शीत भण्डारण केन्द्र निर्माण गर्ने सम्झौता भएको थियो । सम्झौतामा उल्लेख भए अनुसार एक करोड अठतीस लाख सन्तानब्बे हजार तीन सय तीन रुपैया संस्थाले नै ब्यहोर्नु पर्ने उल्लेख गरिएको छ ।

त्यस्तै बाँकी चार करोड सोह लाख एकानब्बे हजार नौ सय एघार रुपैयाँ प्रदेश कृषि मन्त्रालयले भुक्तानी दिने सम्झौता भएको आयोजक कृषि सहकारी संस्थाका सदस्य लोक बहादुर डाँगीले बताए । डाँगीका अनुसार शीत भण्डारण केन्द्र निर्माण कार्य सम्पन्न भई भण्डारण कार्य समेत सञ्चालनमा आइसकेको भएपनि हालसम्म प्रदेशस्थित कृषि खाद्य प्रविधि तथा भूमि ब्यबस्थापन मन्त्रालयले जम्मा असी लाख रुपैयाँ मात्र दिएको र बाँकी रकम हालसम्म भुक्तानी गर्न ढिलाई गरेकाले आयोजक कृषि सहकारी संस्था समस्यामा परेको गुनासो पोखे ।

साथै सदस्य डाँगीका अनुसार आयोजक साना किसान कृषि सहकारी संस्था लिमिटेडले ब्यहोर्नु पर्ने रकम स्थानीय त्रिवेणी र रुन्टिगढी गाउँपालिकाले सहयोग गर्ने सहमति भएकोमा हालसम्म ति पलिकाहरुबाट पनि आर्थिक रकम प्राप्त नभएको कारण पनि संस्थालाई थप आर्थिक समस्या परेको छ ।

यता लुम्बिनी प्रदेशस्थित कृषि खाद्य प्रविधि तथा भूमि ब्यवस्थापन मन्त्रालयका उपसचिवअमराज शर्माका अमराज अनुसार शीत भण्डारण केन्द्र निर्माणमा अनियमितता भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकाले आवस्यक छानबिन तथा जाचबुझका लागि केही समय ढिलाइ भएको र यो आर्थिक वर्षभित्रै बाँकी आर्थिक रकम आयोजक कृषि सहकारी संस्थालाई भुक्तानी दिइने बताए ।

कृषि सहकारी संस्थाका अनुसार करिब पाँच सय मेट्रिक टन भण्डारणको क्षमता भएको शीत भण्डारणमा हाल करिब पाँच सय क्विन्टल बीउ आलु भण्डारण भएको र भण्डारणका लागि किसानहरुले फलफूल तथा तरकारी ल्याउने कार्य जारी रहेको बताइएको छ । शीत भण्डारण केन्द्र सञ्चालनमा आएसँगै त्रिवेणीा र रुन्टिगढी गाउँपालिकाका करिब पाँच सय भन्दा बढी किसानहरु लाभान्वित हुने बताइएको छ ।

LIVE TV