१९ असार २०७९, आईतवार
  • मुस्कान श्रेष्ठ,

वीरगञ्ज (पर्सा) । मारवाडी समुदायका महिलाहरुद्वारा सञ्चालित वुमन क्रिएशनले वीरगञ्जमा ‘साउन धमाका’ मेलाको आयोजना गरेको छ । वीरगञ्जस्थित जैन भवनमा आयोजित मेलामा मारवाडी समुदायका महिलाहरुले आफैले उत्पादन गरेको विभिन्न प्रकारका खाद्य पदार्थदेखि कपडा तथा गिफ्टका सामानहरुको प्रदर्शन गरिएको थियो ।

यसैगरी वीरगञ्ज कारगारमा रहेका कैदीबन्दीहरुले उत्पादन गरेको मुडा, रेनकोट, झुल, टोपी, पर्सलाई समेत प्रर्दशनमा राखिएको थियो । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगञ्ज आर्थिक नगरी समेत भएकाले यस नगरमा रहेका महिला उद्यमीहरुलाई प्रोत्साहीत गर्न महानगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले महिलाहरुका लागि सीपमुलक तालिमको आयोजना गर्नुका साथै उनहिरुद्वारा उत्पादन गरिएको बस्तुहरुको बजारीकरणमा समेत सहयोग गर्ने बताए । नगर प्रमुख सिंहले यस्ता खालका कार्यक्रमले महिला उद्यमीहरुको हौसला बढ्ने भन्दै वुमन क्रिएसनले गरेको कार्यक्रमको प्रसंशा गरे ।

वुमन क्रिएशनकी अध्यक्ष हेमा अग्रवालले महिला सशक्तिकरणको विषय विभिन्न कार्यक्रमहरुमा उठ्ने गरेपनि उक्त महत्वपूर्ण विषय कार्यक्रममै सिमीत हुने गरेको बताइन् । उनले महिलाहरुमा समेत पुरुष सरह उद्यम व्यापार गर्नसक्ने क्षमता भएको हुनाले त्यस्ता महिलालाई उद्यम क्षेत्रमा ल्याउन सरोकारवाला निकायले सहयोग गर्नुपर्ने बताइन् ।

वुमन क्रिएसनकी सदस्य सुमोना बेर्नजीले अहिले पनि हाम्रो समाजले महिलालाई घर–परिवारको रेखदेख गर्ने रुपमा मात्र लिएको बताइन् । यस्तो मानसिकतालाई चिर्न वुमन क्रिएसनले यसप्रकारको कार्यक्रमको आयोजना गर्दै आएको बताइन् । यो मेला आयोजनाको उदेश्य महिलाहरुको क्षमता अभिवृद्धिका लागि भएको अध्यक्ष अग्रवालले बताइन् ।

यस्तै वुमन क्रिएशनकी पूर्व अध्यक्ष नुतन सरावगीले पहिलेको तुलनामा अहिले महिलाहरुमा उद्यमशील बन्नुपर्छ र आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने चेतना आएको बताए । उनले खास गरि मारवाडी समाजका महिलाहरुसंग व्यापार–व्यवसाय गर्ने ईच्छुक र योग्य भएतापनि विविध कारणले खुलेर आउन नसकेको बताए । सोही कुरालाई मध्य नजर गर्दै यो कार्यक्रमको आयोजना गरिएको बताए ।

पूर्व अध्यक्ष सरावगीले समाजमा थुप्रै महिला उद्यमीहरु भएपनि सरोकारवाला निकायको ध्यान पुग्न नसकेको गुनासो गरे । २००२ मा ४ जना महिलाबाट सञ्चालन भएको वुमन क्रिएसन संसथामा हाल ४० जना सदस्य रहेका छन् ।

यस संस्थामा मारवाडी समुदायका मात्र नभई पहाडी, मुस्लीम लगायत अन्य समुदायका महिलाहरुको पनि सहभागिता रहेको छ ।

LIVE TV