१९ असार २०७९, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको बताएकी हुन् ।

पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री देउवाको सो भ्रमण अपेक्षित रहेको उल्लेख गर्दै सबै कुरा तयारी पुगेपछि तिथिमितिको घोषणा हुने र उपयुक्त समयमा त्यसबारे सञ्चार माध्यामहरुलाई जानकारी दिने स्पष्ट पारिन् ।

प्रवक्ता लम्सालले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमण पनि उपयुक्त समयमा हुने बताइन् । उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको अमेरिका भ्रमणको कुरा चलिराखेको छ । अपेक्षित छ यो भ्रमण । अव यसको चाँही तपाईहरुलाई थाहा नै छ । निमन्त्रणा गर्ने प्रक्रिया हुन्छ । त्यसलाई स्विकार गर्ने पनि प्रक्रिया नै हुन्छ । सबै कुरा तयारी पुगेपछि तिथिमितिको घोषणा गर्ने एउटा प्रक्रिया छ । उपयुक्त समयमा यसका जानकारी यहाँहरुलाई दिनेनै छौं । माननीय परराष्ट्रमन्त्रीज्यूको चीन भ्रमण पनि उपयुक्त समयमा हुनेछ ।’

प्रवक्ता लम्सालले अमेरिकी स्टेट पार्टनरसीसप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबारे अमेरिकालाई पत्र पठाउने काम भईनसकेको समेत स्पष्ट पारिन् । सो प्रोग्रामबारे नेपाल सरकार मन्त्रिपरिषदले गरेको निर्णय मन्त्रालयमा आएको तर अध्ययन भइरहेकाले पत्र भने गइनसकेको उनको स्पष्टीकरण थियो ।

प्रवक्ता लम्सालले अध्ययन भइसकेपछि मन्त्रिपरिषदको सो निर्णय कार्यान्वयन हुनेमा भने ढुक्क हुन पनि पत्रकारहरुलाई आग्रह गरिन् । उनले भनिन्, ‘एसपीपीको पहिले भएको पत्राचारमा परराष्ट्र मन्त्रालय सहभागी थिएन । अब हामीलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार एउटा म्यानुअल प्राप्त भएको अवस्था छ । तर अव हामी के छ भने परराष्ट्र मन्त्रालयले काम गर्दाखेरी खरो अध्ययन गरेर, सबै कुराहरु स्टडि गरेर मात्रै त्यसको पत्राचार गर्नुपर्ने भएकाले अहिले त्यसलाई अध्ययन गर्ने क्रममै छौं ।’

उनले थपिन्, ‘र, यसलाई उपयुक्त समयमा डिप्लोम्याटिक च्यानलबाट नेपाल सरकारको मन्त्रिपरिषदको सो निर्णयलाई कार्यान्वयन गर्छौं । अहिले हामी त्यो तयारी गरिरहेका छौं । आउने वित्तिकै त्यो हेर्दै नहेरी निर्णय कार्यान्वयन गर्ने त आफ्नो ठाउँमा छँदैछ । अहिले त्यो गईसकेको अवस्था छैन, जान्छ । तपाईँहरु ढुक्क हुनुहोस् ।’

परराष्ट्र मन्त्रालयले विगत ३ महिनायता राहदानी लिनेहरुको संख्या उल्लेख्य बृद्धि भएको उल्लेख गर्दै सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट पनि राहदानी लिनका लागि नियमित रुपमा राहदानी आवेदन भर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराएको छ । त्यसैगरी राहदानी लिनका लागि सहज बनाउन राहदानी विभागले अनलाइन सेवालाई पनि चुस्त राख्ने काम गरिरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले बताइन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राहदानी विभागबाट असार १५ गतेसम्म ४ लाख १६ हजार २३५ थान विद्युतीय राहदानी प्रिन्ट गरिएको छ ।

LIVE TV