१९ असार २०७९, आईतवार
  • ईश्वर जोशी

तिनले भूत भढ्यो कि सम्झे,
जो कुसंस्कारिक रोगका सिकायति थिए ।
तिनले छारेरोग लाग्यो कि सम्झे,
जो विषाक्तौषधिका हिमायति थिए ।
आखिर आमा किन मूर्छिइन्
न डाक्टरले जान्यो न वैद्यले ।

पलमा कम्पन ल्याउने ज्वरोले
आमाका नौनाडी एकाएक सुस्ताए
चिम्सा आँखाबाट तप्पतप्प दुई थोपा
मेरो दायाँ पाखुरामा झर्दा
आमाको अदम्य हृदयमा
लागेको गहिरो चोट त्यसै ज्ञात भयो ।
नत्र मेरी विराङ्गना आमा
यसरी आँसु चुहाउने छोरी होइनन ।

विदेशी डाक्टरका चिल्ला हातहरूले
मेरी आमाका खस्रा पैँतलामा
बेहोसीका सुई रोपिँदा
निष्प्राणझैँ लल्याकलुलक, लम्पसार
आमा एकै छिनमा चल्मलाइन्
विरामी शैय्याबाट निरीह आँखाले हेर्दै
आफ्ना सिर्जनाका बुट्टा मेटिएका सुनेर
विह्वल भएर त्यसै ढलिन् ।

स्लाइनमा औषधीसँगै मिसाइएको
विदेशी अहमको विषले
अझैसम्म पनि
आमाको मुहारमा स्वतन्त्रताको कान्ति
झुल्कन दिएको छैन ।

आमा मलिन मुहार लगाएर शैय्याबाटै भन्दैछिन्-
“ए छोरा, पठाइदे यी आडम्बरी
सहयोगको नाममा उपनिवेस खडा गरिरहेका
गोरे र कालेहरूलाई ।”


 पुर्चौंडी- ७, बैतडी

LIVE TV