
- डा. गोविन्दशरण उपाध्याय
पुराना किताब,
समय ८: ५५ मिनट बेलुका ।
‘मोटर बाटोबाट हाम्रो घरमा पुग्न एक दिन पैदल हिँड्नु पर्थ्यो । मैले आठ वर्षको उमेरमा पहिलो पटक वालिंगमा मोटर देखेको थिएँ । ट्रक चढ्दा अतालिएको थिएँ । एकैछिनमा वाकवाकी लागेको थियो । हाईस्कूल दुई घण्टा हिँडेर जानु पर्थ्यो ।
बिहानै उठेर एक डोको घाँस काटेपछि मात्र विद्यालय जान पाइन्थ्यो । घरमा धेरैजसो मकैको राेटी पाक्थ्यो । आमाले कहिले दूध त कहिले मोही अनि कहिले रायाेको साग, कहिले गुन्द्रुक त कहिले जिराको झोल भागमा हाल्दिनुहुन्थ्यो । दौडने पोजमा मुख पोल्ने तातो खाना मुखमा छिराउँदै स्कूल जानुपर्थ्यो । गाउँका धेरैजसो हामी सहपाठीहरू यसै गर्थ्यौं ।
विद्यालयमा पढ्ने सहपाठीहरू आफ्नो उमेरभन्दा ठूला थिए । उमेर ठूलो हुँदै जाँदा उनीहरूलाई रहर हुँदाहुँदै पनि पढाएको बुझ्ने क्षमता कम भएजस्तो लाग्थ्यो । उनीहरुले आफू पछाडि बसेर मलाई अगाडिको कुर्सीमा बसाउथे । अनि, क्लास सकिएपछि खासगरी अंग्रेजी र गणित उनीहरूले सिकाई माग्थे ।
स्कूलमा “खाजा खाने” भन्ने कुराचाहिँ मावलीमा टीका लगाएर दिने एक मोहोर, धेरै पछि एक रूपैयाँ कमाएको दिनमा मात्र जुर्थ्यो । दिउँसो त्यस्तै हो, तर चार बजेको अन्तिम कक्षा सकिएर घर जाने बेलामा भोकले पेट बाउँडिन्थ्यो । घर पुगेपछि भुटेका मकै वा रोटी खाजामा पाइन्थ्यो, त्यो पनि कहिलेकाहीँ मात्र ।
त्यस बखत हामीलाई सबैभन्दा माया आफ्ना किताबहरूको लाग्थ्यो । मैले पनि आफ्नो नाता पर्ने काकासँग पुरानो किताबको लागि कक्षा आठदेखि नै भनेको थिएँ । उहाँलाई पनि कसैले पुराना पुस्तक नै दिएका थिए रे । उहाँले पाँच दिन रोपाइँको “बाउसे” गएर ती किताब पाउनुभएको थियो ।
दुर्भाग्यवश, उहाँ एसएलसीमा उत्तीर्ण हुन सक्नुभएन तर उहाँबाट पाएका पुराना पुस्तकले मलाई उत्तीर्ण बनायो । मैले उहाँबाट ती पुराना पुस्तकहरू पाएको दिन, रातभरि टुकी बालेर च्यातिएको ठाउँहरू खोजी-खोजी पानीटेपले टालेको थिएँ । अनि, पुरानो गोरखापत्र खोजेर निकै मेहेनत गरेर गाता लगाएको थिएँ ।
१३ वर्षको उमेरकाे उमेरमा पनि मैले पुराना किताब प्राप्त गर्दाको जुन खुसी र सन्तोष पाउँथे, त्यस्ताे सन्ताेष आजसम्म प्राप्त गर्न सकेको छैन । मैले एसएलसी पास गरेँ । अनि ती पुराना किताबहरू मभन्दा जुनियरलाई दिएँ । उनी पनि उत्तीर्ण भएर अरू कसैलाई ती किताब दिए । यसरी एक सेट पुराना किताबले धेरैकाे जुनी बदलिदिएकाे छ ।
अहिलेको सरकार धनी भएको छ । धेरै ठूलो कुरा गर्छ तर परीक्षा आइसक्दा पनि विद्यार्थीहरूलाई पुस्तक दिन सक्दैन । हरेक वर्ष “अपडेट”का नाममा महङ्गा पुस्तकहरू रद्दीको टोकरीमा फालिन्छन् ।
म ती सबै नीति निर्माताहरूलाई घोर अपराधी ठान्छु, जसले ‘गरीबका लागि र धनीका लागि’ फरक-फरक शिक्षाको व्यवस्था गरे । धनीहरूका लागि घरघरमा नयाँ पुस्तक पुर्याउने व्यवस्था मिलाए, तर गरीबहरूलाई पुराना पुस्तक पनि पढ्नबाट वञ्चित पारे ।
बोर्डिंग स्कूलहरूले कमिसनका लागि हरेक वर्ष पुस्तक फेर्छन् । देशका ७० प्रतिशत बालबालिकाहरू पुस्तक नै नपाएर फेल हुन्छन् वा बल्लबल्ल पास हुन्छन् । देशको नयाँ शिक्षानीतिले किताब त छाप्न सकेन तर हरेक वर्ष पुस्तक विस्थापित गरेर ती गरीब विद्यार्थीहरूलाई पढ्नबाट समेत वञ्चित गरेको छ ।
बालबालिकाले हरेक वर्ष अपडेटेड पुस्तक पाउनु राम्रो कुरा हो । तर पुस्तक नै दिन नसक्ने र भएका पुस्तकहरू रद्दीमा बेच्नुपर्ने नीचतापूर्ण शैक्षिक नीति तय गर्नेहरू राष्ट्र र जनताका नजरमा अपराधी हुन् ।
पुराना पुस्तक पढ्दा हीनताबोध गराउने, नयाँ पुस्तकहरू दिन नसक्ने, भएका पुस्तकहरू कवाडीलाई बेच्न प्रोत्साहित गर्ने “नयाँ गणतन्त्र”प्रति दिक्क लागेर आउँछ ।
बालबालिकाले हरेक वर्ष अपडेटेड पुस्तक पाउनु राम्रो कुरा हो । तर पुस्तक नै दिन नसक्ने र भएका पुस्तकहरू रद्दीमा बेच्नुपर्ने नीचतापूर्ण शैक्षिक नीति तय गर्नेहरू राष्ट्र र जनताका नजरमा अपराधी हुन् ।
बालबालिकाहरू एकछाक खाना नपाए पनि पढ्नका लागि पुस्तक चाहन्छन् । आज पनि देशमा असंख्य बालबालिकाहरू छन्, जसको परिवारले नयाँ पुस्तक किनेर दिन सक्दैन र पुराना भए पनि पुस्तकहरू पाए राम्रो श्रेणीमा उत्तीर्ण हुन्थे ।
म ती भाग्यमानीमध्ये हुँ, जसले पुराना पुस्तक पढेर त्रिविविको प्राध्यापक बन्न सफल भएको छु । महान् दार्शनिक बर्त्रेंड रसेलले भनेका छन्- ‘एउटा विद्वान् राम्रो शिक्षक नहुन सक्छ तर एउटा राम्रो शिक्षक अनिवार्य रुपमा विद्वान् हुन्छ ।’
उप्रान्त यो देशको शिक्षानीति शिक्षकले तय गर्नुपर्छ, नीति निर्माता तथाकथित विद्वान् तथा रानीतिज्ञले होइन । मलाई थाहा छ, परजीवी नीति निर्माताहरूलाई यो लेखले निकै पोल्ने छ, पोलोस् !
म भने ठ्याक्कै आफैसँग मिल्दो जीवन भोगाइ पर्न गएकोले अचम्भित भएँ । ३५ वर्षसम्म शिक्षकका रूपमा विश्वविद्यालयमा सेवा दिएका यी विद्वानप्रति मभित्र सम्मान बाहेक केही थिएन । उहाँको गोडामा आफ्नो शिर राखेर, आशीर्वाद थपेर आफ्नो घर फर्किएँ ।
अनि मैले आफ्नो बाल्यकाल पनि सम्झिएँ, जुन बखत एउटा पुरानो पुस्तकको मूल्य नै अमूल्य हुन्थ्यो । पुरानो पुस्तक झोलामा बोकेर हिँड्ने विद्यार्थी आफ्नै सहपाठी र गुरुहरूको नजरमा सम्मानको पात्र हुन्थ्यो ।
( लेखक डा. गोविन्द शरण उपाध्याय मनोविज्ञान र दर्शन विभाग, त्रिचन्द्र क्याम्पस, काठमाडौँका प्रध्यापक हुन्)