१७ असार २०७९, शुक्रबार

काठमाडौं । सन् २०१४ मा नेपाली विद्यार्थी शान प्रजापतिको मृत्यु प्रकरणमा गत बुधबार नैनीतालको एक अदालतले शेरवुड कलेजका प्रिन्सिपल र अन्य दुई जना कर्मचारीलाई दुई वर्षको जेल सजाय सुनाएको छ ।

छिमेकी राष्ट्र भारतको उत्तराखण्डको शेरवुड कलेज, नैनीतालका कक्षा ९ मा अध्ययनरत नेपाली विद्यार्थी शान प्रजापतिको १५ नोभेम्बर २०१४ मा (आठ वर्ष अगाडि) उत्तर प्रदेशको नोएडाको एक निजी अस्पतालमा निमोनियाका कारण मृत्यु भएको थियो ।

शान प्रजापतिकी आमाले विद्यालय प्रशासनले आफ्नो छोरालाई उचित उपचार गर्न नसकेको आरोप लगाएकी थिइन् । नैनितालका मुख्य न्यायिक मजिस्ट्रेट रमेश सिंहले प्रजापतिको मृत्युमा विद्यालयलाई जिम्मेवार ठहर गर्दै तीनै जनालाई ५० हजार रुपैयाँ जरिवाना समेत गरेका छन् । योसँगै मृत्युको आठ वर्षपछि शान प्रजापतिले न्याय पाएका छन् ।

अदालतले आफ्नो आदेशमा विद्यालयका प्रधानाध्यापक, प्रमुख वार्डेन र विद्यालय नर्सको व्यवहारलाई लापरवाहीपूर्ण मान्दै प्रजापतिको मृत्यु भएको ठहर गरको हो । तर, अदालतले उनीहरुलाई एक महिनाको अन्तरिम जमानत पनि दिएको छ, जसमा उनीहरुले सत्र अदालतमा पुनरावेदन गर्न सक्नेछन् ।

प्रजापतिकी आमाले छोराको असामयिक मृत्युको लागि विद्यालय जिम्मेवार भएको आरोप लगाउँदै परिवारलाई समयमै विरामीको जानकारी नदिएको दाबी गरेकी छन् ।

LIVE TV