१६ असार २०७९, बिहीबार

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसदको चालू अधिवेशनमै नागरिकता ऐन सम्बन्धी विधेयक पारित हुने बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)समेत सो विधेयक पारित गर्न सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री कोइरालाले चालू अधिवेशन भित्रै पारित हुने बताएका हुन् ।

६४ औं संसद दिवसको अवसर पारेर विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नागरिकता ऐन सम्बन्धि विधेयकमा धेरै विवादहरु रहेकाले त्यसलाई विवादरहित बनाउन सरकारले गृहकार्य गरिरहेको बताए । राज्य व्यवस्था समितिमा समेत सो विधेयकमा देखिएका विवाद निरुपण नभएको भन्दै मन्त्री कोइरालाले त्यसमा साझा बनाएर बनाएर अघि बढन सरकार लागि परेको बताए ।

उनले भने, ‘नागरिकता ऐन अहिले सरकारको र प्रमुख प्रतिपक्षको पनि प्रमुख सरोकार र सबै दलहरुको पनि प्रमुख सरोकारको विषय हो । केवल सरकारको मात्रै होइन । यसलाई जसरी पनि यही अधिवेशनमा ब्रेक थ्रू गर्ने गर्ने कुरालाई चाँही सरकारले गरिरहेको छ र यसमा प्रमुख प्रतिपक्षी एकदमै सकारात्मक हुनुहुन्छ । म उहाँहरुको त्यो सकारात्मक कुरालाई एप्रिसिएट गर्न चाहन्छु । यसलाई विवादरहित ढंगले, त्यहाँ तमाम विवादहरु छन् ।’

उनले फेरि भने, ‘नागरिक ऐन सम्बन्धी विधेयकमा । राज्य व्यवस्था समितिमा गएर पनि विवादसहितको डकुमेन्ट आएको छ । तर, ती विषयहरुमा पनि सिटिजनसीप जस्तो विषयमा हामीले विवाद गर्नु हुँदैन । त्यसैले साझा धारणा बनाएर यसलाई अघि बढाऔं भन्ने विषयमा सरकार छ र त्यसमा प्रमुख प्रतिपक्ष सहितका अरु साथीहरु धेरै सकारात्मक हुनुहुन्छ । यो चाँडै आउँछ ।’

त्यस्तै मन्त्री कोइरालाले संसदलाई प्रभावकारी बनाउन सांसदहरुले योगदान दिन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । केही सांसदहरुलाई छोडेर भन्ने हो भने सांसदहरुको उपस्थितिनै नभइदिँदा संसदले गर्नुपर्ने कानून निर्माणको काममा ढिलाई हुन गएको उनको भनाइ थियो ।

 

LIVE TV