१६ असार २०७९, बिहीबार

काठमाडौं । गाउँ पर्यटन प्रवर्ध्दन गर्ने उद्देश्यले गोरखाको ज्यामिरेघाटमा स्थानीयहरूको ब्यापक सहभागिताका साथ रोपाइँ महोत्सव सम्पन्न भएको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा भिटोफ नेपाल र गण्डकी गाउपालिकाको संयुक्त आयोजनामा महोत्सव सम्पन्न भएको हो । हर्ष–उल्लासका साथ सम्पन्न महोत्सव गाउँ पर्यटनको विकासमा कोशेढुंगा सावित हुने विश्वास लिइएको छ ।

परापूर्वकालदेखि नै महत्वपूर्ण पर्वको रूपमा मानी आएको रोपाइँ पर्वमा स्थानीय, बुद्धिजीवी, तथा जनप्रतिनिधिहरुको उल्लासमय सहभागीता रहेको थियो । महोत्सवमा बाजागाजासहित विभिन्न देवी देवता र नागहरूको पूजा गरेर विधिपूर्वक रोपाइँको थालनी गरियो ।

कामको चटारो भए पनि किसानहरु मानो खाएर मुरी उब्जाउने धान रोपाइँ महोत्सवमा परिणत हुदाँ दंग थिए । किसानहरूले आफ्नै शैलीमा असारमासको दबदबे हिलो खेलेर माहोल रमाईलो बनाएका थिए ।

यस्तै रोपाइँमा गोरू हली, बाउसे र रोपाहारहरूले मौलिक भाकामा गीत गाउँदा प्रेम र सद्भाव, वियोग र पिडाका कथाहरु अभिव्यक्त गरीरहेका थिए ।

कार्यक्रममा बोल्दै भिटोभका अध्यक्ष गोपाल थापाले कृषि पेशाप्रति स्वयम् कृषकहरू नै विकर्षित भईरहेको अवस्थामा उनीहरूलाई कृषि पेशा र श्रमप्रति आकर्षण बढाउन यो महोत्सव फलदायी हुने विश्वास व्यक्त गरे ।

‘नेपालले यो पर्वलाई पर्यटकीय उपजको रूपमा विकास गर्नसके यसले कृषकरूलाई कृषि पेशामा निर्भर रहन टेवा पु¥याउँछ ।’ उनले भने ‘आन्तरिक तथा बाह्य पर्यटकहरूका लागिसमेत यो नौलो हुन सक्दछ । नेपालमा दिगो पर्यटन विकासको अवधारणा अनुरूप कृषिलाई आधार मानेर यसलाई पर्यटनसँग जोड्न विभिन्न योजनाहरूका साथ अगाडि बढ्न सकेमा स्थानीय बासिन्दाहरूलाई बढी प्रोत्साहन गर्न सकिन्छ । यसबाट केही हदसम्म बेरोजगारको समस्या समाधान सुन सक्छ ।’

स्थानीयहरुले गाउँ र सहरका नेपालीहरूमा भातृप्रेमको बिजारोण गर्नका लागि समेत यो महोत्सव महत्वपूर्ण भएका बताए ।

LIVE TV