१५ असार २०७९, बुधबार
  • दान बहादुर बुढा,

मुगु । असार लागेसँगै जिल्लाको खत्याड, सोरु र गम भेगका किसानहरुलाई धान रोपाईंको चटारो छ । राष्ट्रिय धान दिवस अर्थात् असार १५ (आज)सम्म जिल्लाभर करिब ७५ प्रतिशत धान रोपाईं सम्पन्न भएको छ ।

फरक–फरक हावापानीका कारण समयमै आकाशे पानी नआउँदा जेठको पहिलो सातादेखि साउनको दोस्रो सातासम्म यहाँका विभिन्न क्षेत्रमा रोपाईं चल्ने गर्दछ । मुलुकभर आज धान दिवस मनाइरहँदा जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरुले पनि भव्य रुपमा हर्षोल्लासका साथ धान दिवस मनाएका छन् ।

तर, कृषकहरु भने रोपाईं गर्नका लागि सिंचाइका कुलोको अभावका कारण समस्या छन् । यहाँका कृषकहरु आकाशे पानीको भरमा धान रोप्ने गरेका छन् । योवर्ष आकाशे पानी ढिलो आउदा रोपाईंमा समस्या भएको छायाँनाथ रारा नगरपालिका–३ का कृषक छ्याउका रोकायाले गुनासो गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी खड्क बहादुर रोकायाले सिंचाईको पर्याप्त ब्यवस्था नभएको कारण यहाँका किसानहरुले आकाशे पानीको भरमा रोपाईं गर्दै आइरहेका जानकारी गराए । त्यस्तै उनले यहाँको मुख्य बाली धान र कोदो भएको कारण निकै मिहिनेत गरेपनि मिहिनेत अनुसारको फल कृषकहरुले नपाउने बताए ।

 

साथै उनले हावापानी अनुसारको खेती गर्न, बजार नजिक भएको कारण जिल्ला बाहिरको तरकारी उपभोग गर्नुको साटो जिल्लामै तरकारी उत्पादन गर्न, तरकारी र नगदे बालीलाई प्राथामिकता दिनुपर्ने बताए ।

त्यस्तै धानखेतीलाई पनि संरक्षण गर्दै जिल्ला कृषि बिकास कार्यालय र अन्य कृषि क्षेत्रमा काम गर्ने निकायहरुले आधुनिक र कृषकहरुलाई फाइदा हुने खालका कार्यक्रम सन्चालन गर्नुपर्ने बताए ।

मुगु जिल्लामा ६ हजार ८ सय ७६ हेक्टर क्षेत्रफमा धान खेती हुने गरेको छ । विशेष गरी मुगुमा आकाशे पानीको भरमा धानलगायत अन्य खेती गर्ने गरिएको कारण हालसम्म ७५ प्रतिशत मात्र रोपाईं सम्पन्न भएको छ ।

 

LIVE TV