१५ असार २०७९, बुधबार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन् । बुधवार महालेखापरीक्षक कार्यालयको ७४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारको अहिलेसम्म लेखापरीक्षण गर्ने विधि र पद्धतीहरुमा कहाँ त्रुटी भएको हो त्यसको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले लेखापरीक्षण गर्ने सरकारको विधि, पद्धतीमा त्रुटी भएर बेरुजुमा एकपछि अर्को जटिलता बढ्दै गएको बताए । अर्थमन्त्री शर्माले लेखापरीक्षकमार्फत सार्वजनिक इकाइहरुमा जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्दै सुशासन प्रवद्र्धन गर्न महालेखा परिक्षकको महत्वपूर्ण भूमिका रहेको पनि बताए ।

उनले सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजश्वमा भएको चुहावट, हिनामिना, औपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव र सार्वजनिक तथा संगठित संस्था सञ्चालनका विषयहरु महालेखापरीक्षकले थप ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘बेरुजु सम्बन्धमा हामीले अहिलेसम्म अपनाएका विधि र पद्धति विषयमा आवश्यक समीक्षा गर्नुपर्ने महशुस गरेको छु । हाम्रो लेखापरीक्षण गर्ने विधि र पद्धतीहरुमा कहाँ त्रुटि छ । किन एकपछि अर्को जटिल बन्दै गएको छ भन्ने कुराको फेरिपनि अध्ययन अनुसन्धान र निराकरणको आवश्यकता मैले महशुस गरेको छु । लेखापरीक्षकमार्फत सार्वजनिक इकाइहरुमा जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्दै सुशासन प्रवद्र्धन गर्न महालेखा परीक्षकको महत्वपूर्ण भूमिका रहन्छ । एक विश्वसनीय संस्थाका रुपमा कार्य गर्न लेखापरीक्षक राष्ट्रसेवक कर्मचारीले आफ्नो स्वतन्त्रता मूल्य मान्यतालाई अनुशरण गरी काम गर्न आवश्यक तालिम तथा अभिवृद्धिमा सरकारले सहयोग गर्ने प्रतिवद्धता दिन चाहन्छु ।’

उनले फेरि भने, ‘लेखापरीक्षकले प्रचलित कानून अनुसार सुशासन कायम गर्न उल्लेखनीय कार्य गरेको छ । सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजश्वमा भएको चुहावट, हिनामिना, औपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव र सार्वजनिक तथा संगठित संस्था सञ्चालनका विषयहरु थप ध्यान दिनुपर्ने देखिन्छ । दिनप्रतिदिन अर्थतन्त्रको आकार पराकिलो बन्दै गएको छ भने अर्कोतर्फ आर्थिक गतिविधिका परिसूचकहरुमा उत्तारचढाव आइरहेको छ । त्यस कारण अर्थतन्त्रको गहन अध्ययन, विश्लेषण र मुल्याङ्कन गर्न जरुरी देखिएको छ ।’

अर्थमन्त्री शर्माले पछिल्लो समय अर्थतन्त्रको आकार फराकिलो हुँदै गएपनि आर्थिक गतिविधिका परिसूचकहरुमा उत्तारचढाव आइरहेको बताए । उनले अर्थतन्त्रमा पछिल्लो समय किन आर्थिक गतिविधिका परिसूचकहरुमा उत्तारचढाव भएको विषयमा अर्थतन्त्रको गहन अध्ययन, विश्लेषण र मुल्याङ्कन गर्न जरुरी देखिएको दाबी गरे ।

 

LIVE TV