१२ असार २०७९, आईतवार

काठमाडौं । नेकपा (एमाले) सांसद योगेश भट्टराईले तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले प्रदेश स्तरमा ३० प्रतिशत पनि पाठ्यपुस्तक नपुगेको भन्दै तत्काल पुस्तक उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले काठमाडौं उपत्यका भित्रका विद्यालयमा समेत पाठ्यपुस्तक पुग्न नसकेको बताए । भट्टराईले मुलुकभरका विद्यालयमा पाठ्यपुस्तक पुग्न नसक्दा ८० लाख विद्यार्थीहरु अध्ययन तथा अध्यापनबाट बञ्चित भएको बताए । उनले संसदमा शिक्षा मन्त्रीले १५ दिनमै पाठ्यपुस्तक पु¥याउनु प्रतिवद्धता जनाएपनि अहिलेसम्म ३० प्रतिशत भन्दा बढी पाठ्यपुस्तक विद्यालयमा पु¥याउने काम नभएको बताए ।

भट्टराईले सबै विद्यालयहरुमा पाठ्यपुस्तक नहुँदा विद्यालयमा पढाई नै नभएको अवस्था भएकाले तत्काल पाठ्यपुस्तक उपलब्ध गराएर सहज रुपमा अध्ययन र अध्यापनको वातावरण बनाउन सरकारसँग माग गरे । उनले कक्षा १ देखि ३ सम्म निजी क्षेत्रलाई किताव छपाई र वितरण गर्न दिँदा समयमा नै पुगेको तर ४ कक्षादेखि माथि जनक शिक्षा सामग्रीले पु¥याउन नसकेको बताए ।

उनले भने, ‘नयाँ शैक्षिक सत्र शुरु भएको आज एक महिना १३ दिन बितेको छ । अहिले माध्यमिक विद्यालयहरुमा करिब ८० लाख विद्यार्थीहरु भर्ना भएका छन् । त्यसमध्ये ७५ प्रतिशत विद्यार्थीहरु सामुदायिक विद्यालयहरुमा अध्ययन गर्दछन् । बाँकी अन्य विद्यार्थीहरु निजी विद्यालयहरुमा अध्ययन गर्ने गरेका छन् । अहिले पनि पाठ्यपुस्तकको समस्या झेलिरहेका छौं । विगतका वर्षहरुमा पनि यो विषय उठाउँदै आएका थियौं । अहिले पनि त्यो समस्या यथावत् छ । नेपाल सरकारले जनक शिक्षा सामग्री केन्द्रमार्फत माध्यमिक तहको पाठ्यपुस्तक छपाई गर्ने गरेको छ । सरकारले दिएको छ ।’

उनले फेरि भने, ‘यो वर्ष कक्षा १ देखि ३ सम्मको निजी क्षेत्रबाट छपाई गर्ने र वितरण गर्ने जिम्मा दिएको छ । निजी क्षेत्रलाई वितरण गर्न दिएको कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक सबै स्थानमा पुगेका छन् । तर ४ कक्षा भन्दा माथिका पुस्तकहरु विद्यालयहरुमा पुग्न सकेका छैनन् । अहिले पनि ५० प्रतिशत पाठ्यपुस्तक विद्यालयहरुमा पुग्नसेकेका छैनन् । समयमा नै विद्यालयमा पुस्तक नपुग्दा अधिकांश विद्यालयहरुमा पढाईभएको छैन । पुस्तक नहुँदा शिक्षक तथा विद्यार्थीहरुले के आधारमा पढाइरहेका छन् । यस्तो समस्या ८० लाख विद्यार्थीहरुले भोग्नु परेको छ ।’

उनले थपे, ‘अब चाँडै विद्यालयहरुमा प्रथम त्रैमासिक परीक्षा हुँदैछ । परीक्षा के आधारमा हुन्छ र प्रश्न पत्र कसरी बनाइन्छ । के आधारमा मूल्याङ्कन गरिन्छ । शिक्षा मन्त्रीले असार १५ गतेभित्र सबै विद्यालयमा पाठ्यपुस्तक पु¥याउने संसदमा बोल्नु भएको थियो । विद्यालयहरुमा ३० प्रतिशत भन्दा बढी पुस्तक पुगेका छैनन् । त्यस कारण सभामुखले नेपाल सरकारले आवश्यक निर्देशन गर्न माग गर्दछु ।’

सांसद भट्टराईले अब केही समयमा विद्यालयहरुमा पहिलो त्रैमासिक परीक्षा हुनुपर्ने भएपनि अहिलेसम्म पाठ्यपुस्तक नपुगेर अध्ययन अध्यापन शुरु नभएको कारण परीक्षाको प्रश्न र मूल्याङ्कन गर्न समेत समस्या देखिएको बताए ।

 

LIVE TV