१२ असार २०७९, आईतवार

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय अध्यक्ष पदमा अमेरिका निवासी साहित्यकार गोवर्द्धन पूजाले उम्मेद्वारी दिएका छन् ।

साहित्यकार पूजा अमेरिकाको बोस्टनमा बस्दै आएका छन् । विगत १२ वर्षदेखि अमेरिकालाई नै आफ्नो कर्मथलो बनाउँदै आएका पूजा नेपाली साहित्यको श्रीवृद्धि र उन्नयनमा समर्पित स्रष्टा हुन् । उनी अनेसासमा पनि निरन्तर आबद्ध छन् । यसअघि दुई कार्यकाल महासचिवको जिम्मेवारी बहन गरिसकेका पूजा हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छन् । आसन्न निर्वाचनमार्फत उनले अध्यक्ष पदमा रहेर काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

विगतदेखि नै विभिन्न साहित्यिक संस्थाहरुको नेतृत्व गरिसकेका पूजा विशेषतः कविताका विधामा स्थापित छन् । उनका ‘पीडा अवतार’, ‘अनामनगरकी अम्बिका’, ‘प्रेम अवतार’, ‘वाचाल ओठहरू’ लगायतका कविता कृतिसहित एक दर्जन साहित्यिक कृतिह प्रकाशित छन् ।

पत्रकारिता तथा प्राध्यापनमा समेत अनुभव बनाइसकेका स्रष्टा पूजा युवा वर्ष मोती पुरस्कार, नारायणी वाङ्मय पुरस्कार, भानुमोति पुरस्कार, भानुभक्त लेखन पुरस्कार, भानुभक्त द्विशर्वार्षिकी स्वर्ण पदक लगायत पुरस्कार सम्मान प्राप्त गरेका छन् । यही साता मात्र अनेसास कोरिया च्याप्टरबाट सक्रियता पुरस्कार र नई रजतमहोत्सव पदकसमेत प्राप्त गरेका पूजा संस्थागत सुशासन र सबलतालाई आफ्नो मुख्य प्रतिबद्धता सम्झेर अध्यक्ष पदका लागि अघि सरेको बताउँछन् । उनले अनेसासलाई ‘अनेसास’ नै बनाउने आफ्नो उद्देश्य रहेको र सबैलाई समेटेर अगाडि बढ्ने बताए ।

आउँदो जुलाईको ९ र १० तारिखका दिन विश्वभर रहेका अनेसास मतदाताहरुले विद्युतीय माध्यमबाट नयाँ केन्द्रीय कार्यसमितिका लागि मतदान गर्दैछन् । हाल अनेसासका २ हजार ३८१ मतदाता रहेको जनाइएको छ । कार्यसमितिको कार्यकाल २ वर्षको हुने व्यवस्था छ ।

यी हुन् गोवर्द्धन पूजाका प्रतिबद्धता :

१. आजीवन सदस्यलाई आजीवन सदस्यताको परिचय पत्र र अनेसासको पिन समर्पण गरिनेछ ।
२. साहित्यिक अनलाईन पत्रिका अनेसास दर्पणको प्रकाशन गरेर अनेसासका गतिविधि र साहित्यक रचनाको नियमित प्रकाशन गरिनेछ ।
३. अनेसास केन्द्रीय कार्यसमितिको मासिक बैठकलाई अनलाइन मार्फत प्रत्यक्ष प्रशारण गरिने छ ।
४. अनेसास भवन खरिदकोलागि रकम संकलन समूह गठन गरि भवन खरिद र ब्यबस्थापनको लागि काम गरिने छ।
५. अनेसासका अजीवन सदस्यहरूको कृतिलाई सम्पर्क सचिवालयमार्फत वितरणको व्यवस्था गरिनेछ ।
६. अनलाईन साहित्यक प्रशिक्षणको ब्यवस्था गरि साहित्य लेखन प्रशिक्षण मार्फत स्तरीय साहित्यिक लेखनका लागि अभियान चलाइने छ ।
७. क्षेत्रिय समिति गठन गरि भूगोलका कुनाकुनासम्म अनेसासको गतिविधिलाई विस्तार गरिने छ ।
८. नेपाली साहित्यलाई विश्व साहित्यमाझ परिचित गराउन अनुवाद र प्रकाशन, भाषिक सभा-सम्मेनन र गोष्ठी गरिने छ ।
९. अनेसासका पूर्व नेतृत्वदायी भूमिका निर्वाह गरेका व्यक्तित्वहरूलाई सम्मान र पुरस्कृत गरिने छ ।
१०.बाल कार्यक्रम तथा प्रतियोगिता, महिला साहित्यिक गोष्ठी तथा प्रतियोगीता , अन्तर्राष्ट्रिय सभा सम्मेलन, साहित्यिक उत्सव गरिने छ ।
११. विधागत अनुवाद कृति प्रकाशित गरिने छ ।
१२ . पाँचै महादेशका सर्जकहरुको प्रतिनिधि सिर्जनाहरूलाई समेटेर संयुक्त कृति प्रकाशित गरिने छ ।
१३. महिला सशक्तिकरण सम्बन्धि गोष्ठी र कृति प्रकाशन गरिने छ ।
१४.आजीवन सदस्यहरूको परिचय पुस्तिका प्रकाशन गरिने छ ।
१५.विगतका कार्यसमितिले गरेका राम्रा कार्यक्रमलाई निरन्तरता दिइने छ ।

LIVE TV