११ असार २०७९, शनिबार

काठमाडौं । विदेशिएकाहरुको मर्मस्पर्शी कथा समेटिएको ‘परदेशी हजुर’ नामक टेलिशृंखलाको पहिलो भाग सार्वजनिक भएको छ । बढ्दो बेरोजगारी र चरम गरिबीका कारण युवाहरु गाउँमा बस्नै नसक्ने अवस्थाकाबीच विदेशिनु आम युवाहरुको बाध्यता हो ।

पढ्ने–लेख्ने बेलामा मेलापात र गोठालो जानुपर्ने, मुस्किलले पढेकाहरुले पनि उच्चशिक्षा राम्रोसँग पढ्न नसक्ने, पढिहाले पनि रोजगारीको अभावलगायतका समस्याले आम नेपाली युवा वैदेशिक रोजगारीको लागि जान बाध्य भएको कथालाई ‘परदेशी हजुर’मा देखाउन खोजिएको छ ।

निर्देशक राजु गिरीको निर्देशनमा तयार भएको सिरियल ५२ भागसम्म प्रसारणमा आउने निर्माता सुवास पुरीले जानकारी दिए । निर्माता पुरीका अनुसार गाउँघरमा ठूला बढाका नाममा मनलाग्दी व्याज दिएर जबरजस्ती नेपाली कागजमा सिग्नेचर गर्न बाध्य बनाउने र चर्को व्याज असुल्ने समाजका घटनाहरुलाई नजिकबाट केलाइएको छ ।

निर्देशक गिरीकै लेखन रहेको शृंखलामा लक्ष्मण बिक्रम बस्नेत, राजु गिरी, धर्मेन्द्र आचार्य, अस्मिता बस्नेत, आशा भुषाल, नारायण खाती, हिरा श्रेष्ठ, पुरुसोत्तम ढुंगानालगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

बिष्णु निराकरणको छायांकन रहेको टेलिशृंखला हरेक शनिबार मेघ टेलिभिजनबाट र ‘परदेशी हजुर’ नामक युट्युबबाट साढे ८ बजे प्रसारणमा आउने निर्माता पुरीले जानकारी दिए ।

सार्वजनिक टेलिशृंखलाको गीत समीक्षा अधिकारीले गाएकी हुन् भने गीतमा शब्द राजु बस्नेतका रहेका छन् । सुमन केसीको एरेन्ज रहेको गीतको मिक्सिङ चन्द्र साउदको रहेको छ ।

LIVE TV