११ असार २०७९, शनिबार

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका ‘१० भाइ’प्रति कडा शब्दमा आक्रोश पोखेका छन् । तत्कालीन केपी ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि माधव नेपालको साथमा रहेका भनिएका र पछि पार्टी विभाजनका बेला चाहिँ एमालेमै रहेका १० केन्द्रीय कमिटी सदस्यहरुलाई नेपालले ‘दास’को संज्ञा दिए ।

शनिबार सुरु भउको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले एमालेबाट आफ्नो समूह अलग्गिने बेला १० बुँदे सहमति गरेर एमालेमै बसेका १० नेताहरुप्रति उक्त आक्रोश पोखेका हुन् । उतिबेला आफू दास बनेर एमालेमै बसेको भन्दै अध्यक्ष नेपालले अहिले आफूहरुतिर धारेहात नलगाउन चेतावनी दिए ।

उनले एमालेबाट आफूहरुले गरेको विद्रोह जायज रहेको समेत बताए । तर केहीले विद्रोहका बेला अन्तिममा आएर आफ्नो साथ छोडेकोमा आक्रोश पोख्दै उनले भने, ‘अहिले म कथित १० भाइका अभिव्यक्ति सुन्दैछु । उनीहरु तथानाम बोलिरहेका, लेखिरहेका छन् । दासजसरी त्यहाँ बसिरहेका छन्, तर हामीप्रति धारेहात लगाउने दुःस्साहस गरिरहेका छन् । उनीहरुको कुनै मूल्य–मान्यता छैन, पदीय गरिमाको सम्मान पनि पाएका छैनन् ।’

 

LIVE TV