११ असार २०७९, शनिबार

बाग्लुङ । जिल्लाका दशवटै स्थानीय तहले आव ०७९\०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बरेङ गाउँपालिकाले सोमबार, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले बिहीबार र अरु पालिकाले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने सयमसीमा तोकिदिएको छ । बजेटको प्राथमिकतामा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनलगायत छन् ।

कतिपय पालिकाले उद्यमशिलताको विकास, उत्पादन र रोजगारी सिर्जनातिर बढी जोड दिएका छन् । अधिकांशले पुरानै योजनालाई निरन्तरता दिइएपनि केही नवीन र सिर्जनात्मक कार्यक्रमलाई पनि बजेटमा समावेश गरिएको छ ।

सबैभन्दा ठूलो बजेट बागलुङ नगरपालिकाको छ । उपप्रमुख राजु खड्काले रु। एक अर्ब ३१ करोड ११ लाख ७९ हजार रुपैयाँको बजेट शुक्रबार नगरसभामा प्रस्तुत गर्नुभएको हो ।

बागलुङले गत आवको भन्दा २५ करोड बढीको बजेट ल्याएको छ। गत आवमा रु। एक अर्ब पाँच करोडको बजेट प्रस्तुत गरिएको थियो ।

आगामी आवमा चालुतर्फ रु ८४ करोड ५२ लाख, पुँजीगततर्फ रु४५ करोड ३७ लाख र वित्तिय व्यवस्थातर्फ रु एक करोड २२ लाख विनियोजन गरिएको छ । उद्यमशीलता प्रबर्धन र श्रम बैंक स्थापनाका लागि रु ४१ लाख बजेट छुट्टयाइएको छ ।

कृषिलाई रु ५२ लाख २५ हजार र पशुपालनमा रु २१ लाख ५० हजार विनियोजन गरिएको छ । सबैभन्दा बढी पूर्वाधारतर्फ रु १६ करोड ३८ लाख बजेट छुट्टयाइएको छ । बजेटको ठूलो हिस्सा शिक्षा र स्वास्थ्य क्षेत्रले पनि ओगटेको छ ।

शिक्षा क्षेत्रका लागि रु। दुई करोड ६७ लाख ७२ हजार र स्वास्थ्यतर्फ रु।दुई करोड ११ लाख ६८ हजार बजेट छ ।

यस्तै गलकोट नगरपालिकाले रु ६८ करोड ७५ लाख ३९ हजारको बजेट सार्वजनिक गरेको छ । गलकोटले कृषि, बागबानी र पशुपंक्षी विकासलाई प्राथमिकता दिएको छ । जसमा रु दुई करोड ३० लाख ५० बजेट विनियोजन गरिएको छ ।

पूर्वाधार विकासमा रु सात करोड ६६ लाख, आर्थिक विकासतर्फ रु दुई करोड ४९ लाख, सामाजिक विकासमा रु चार करोड ८२ लाख ३९ हजार बजेट छुट्टयाइएको नगर उपप्रमुख फमलाल निउरेले जानकारी दिए ।

गलकोटले स्थानीय उत्पादनको बजारीकरणदेखि ज्येष्ठ नागरिकलाई चाडपर्व भत्ता दिनेसम्मका कार्यक्रम ल्याएको छ ।

LIVE TV