
- ✍️ प्रतिमा पौडेल
जीवन के हो? संसारमा सायद धेरैले साेध्ने, साेच्ने प्रश्न हाे याे । मलाइ लाग्छ- अनेकौं महत्त्वपूर्ण प्रश्नको सङ्ग्रह बोकी अघि बढिरहेको हुन्छ जीवन। खुशी,आशा, निराशा, चोट, रोदन, दु:ख आदिको समष्टिगत रुपबाट जीवन बनेको हुन्छ। सकरात्मक पक्ष , नकारात्मक पक्षको धारिलो पुलमा जीवन अडिग हुन्छ। बाँच्ने पद्धति अनेकौं भए तापनि बाँच्नु नै जीवनको मुल सार हो।
सबैलाई न्यानोपनको आवश्यकता पर्द्छ। तर अलिकति न्यानोपन बढी भयो भने चिसो खोज्दै भौतारिन्छन्। कोही आफ्नो जीवन उदाहरणीय बनाउन चाहन्छन त कोही त्यही उदाहरणको बाटोतर्फ लम्किरहेका हुन्छन्। एउटा भनाइ ज्यादै प्रचलित छ- सरल मान्नेको जीवन सरल नै बित्दछ, त जो जीवनलाइ असहज मान्ने गर्दछ उसको जीवन असहज नै हुन पुग्दछ। भनिन्छ- असफलताको फेदबाट नै सफलता प्राप्त हुन्छ। जो परिश्रम गर्द्छ उसले नै जीवनमा सफलता प्राप्त गर्छ। उसका कुराहरुले जीवनको अर्थ सिकाएको छ।
समयको अन्तरालमा जीवनमा अनेकौं घटना घटिरहेका हुन्छन्। ती घटनाहरु घट्नुमा पनि हरेक घटनामा एउटा एउटा कारण अर्थात् कारक तत्त्वको मुख्य भुमिका रहेको हुन्छ। त्यसरी नै मेरो जीवन पनि असाधारण भइदियो, त्यो घटनाबाट भनुँ या भविष्य देखाउने मुल पाटो भनुँ। आफै सोच्नुहोस, के जीवन केवल सुख खोज्न मात्र दौडिरहेको हुन्छ त? हुदैन, कदापि हुदैन। जीवन त सुखमा खुसी खोज्न र शान्त वातावरणमा आफ्ना सिर्जनशील सपनाहरू पूरा गर्ने निरन्तर प्रयासमा हुन्छ। त्यसरी नै मेरो जीवनको ठोस माध्यम बनेर आयो त्यो बालक, जसले जिन्दगीको गोरेटोमा फोहोरका थुप्राबाट नै अनेकौं कुराहरु सिकेको रहेछ। “जीवन फुल हो कि काडाँ” भन्ने कुरा पनि मैले भन्दा राम्रोसँग बुझिसकेको रहेछ।
केही समय अघिको कुरा हो, म बसमा यात्रा गरिरहेकी थिएँ। त्यही क्रममा बजारमा मानिसहरूको आवतजावत पनि बढिरहेको थियो। लाग्थ्यो, बिस्तारै मानिसहरुको सङ्ख्या यति धेरै भइसक्यो कि अब त खुट्टा हाल्ने ठाउँ पनि हुदैन। बस आफ्नै गतिमा चलिरहेको थियोे। त्यही क्रममा एउटा ठाँउमा आई बस रोकियो। त्यहाँ त्यो बालक बसमा चढ्यो, जो मेरो मार्गदर्शक थियो। असहायको बाटोबाट लम्किँदा पनि उसका हरेक आँखाका नानीमा सपनाकाे ज्याेति जगमगाइरहेकाे थियाे। पीडामय नजर दर्दका कथा बोकी भौतारिरहेका थिए।
त्यो बालक चढेपछि बस गुड्न सुरु भयो।म बसेको सिटको अर्को सिट भने खाली थियो । अरु सिटहरु भरिसकेका थिए। सायद सिट त उसले पनि देखेको थियो होला तर उ त्यहाँ बसेन। नसकी नसकी उसका कलिला हातले बसमा आड लाग्ने प्रयास गरिरहेका थिए। उ बसको डण्डी समाउने प्रयास गरिरहेको थियो। मैले उसलाई भने, ‘बाबू आउ यहाँ बस न, सिट खाली हुँदाहुँदै किन उभिएको तिमी? उ केही बोलेन र मेरो सिटको छेउमा आई अलक्क बस्यो।
हेर्दा त उ त्यस्तै ९/१० वर्षको थियो। गोरो नै होला मान्छे त, तर उसको शरीरमा कालाकाला धब्बाहरु बढी थिए। जसरी चन्द्रमामा दाग लागे पनि त्यो अति सुन्दर देखिन्छ त्यसरी नै उसको मुहारमा दाग भएता पनि उ अति चम्किलो देखिएको थियो। उ हल्का डराएको जस्तो देखिन्थ्यो।मैले हेर्दा मलाई देखेर केवल देखावटी हाँसो मात्र हाँसिरहेको थियो। मैले कोमल भइ सोधेँ, ‘बाबू, तिम्रो नाम के हो?’
उसले अनकनाउँदै भन्याे- सञ्जीव परियार । मैले उसलाई छुन खोजेँ तर उ टाढाटाढा भागेको जस्तो महसुस भयो। उसले असहज मानेपछि मैले अरु प्रश्न सोध्न पनि चाहिनँ। उ भोको देखिन्थ्यो । मसँग एउटा क्याटबेरी थियो, मैले त्यो खान्छौ भनी सोधेँ। तर उसले केही उत्तर नै दिएन। तर पनि मैले उसलाई मेरो झोलाबाट चक्लेट निकालिदिएँ, उसले चुपचाप समात्यो। सायद उ निकै भोकाएको रहेछ, कत्ति पनि नराखी उसले खायो।
त्यही क्रममा बसवालाले पैसा उठाउन आयो। सञ्जीवले गोजीबाट थोत्रो १०० रुपैयाँको नोट निकाल्यो। लाग्थ्यो- त्यो पैसा पनि जेलमा राखेको कैदीसरी थियो। त्यो नोट देखेर बसवाला मान्छेले भन्यो। छिः यस्तो पैसा कुन कुनाबाट चोरेर ल्याएको ? बिचरा उ केही बोल्न सकेन, मात्र उसको हँसिलो मुहारमा एक्कासि कालो बादल छायो। मेरो लागि पनि उसको त्यो वचन सहिनसक्नु भयो। मैले भनेँ, ‘पैसाको महत्त्व त यो बालकले बुझेको रहेछ तिमीले भन्दा, तिमिलाई त केवल नयाँनयाँ कुराको मात्र खोजी रहेछ। जस्तो भए पनी आखिर पैसा त पैसा हो।’
यति बाेलेर मेराे र त्याे कलिलो बालकको पैसा म आफैले तिरिदिएँ। त्यसपछि त्यो बसवाला केही नबोली गयो।
त्यो बालक जो मेरो आडामा बसेको थियो, मलाई हेरेर मुसुक्क मुस्कुरायो । र मसँग अल्लि सहज भयो। अनि उसले मेरो हात समात्यो र धन्यवाद प्रकट गर्यो। मलाई पनि अत्यन्तै रमाइलो र खुसी महसुस भयो। उसले भन्यो, ‘थाहा छ दिदी, त्यो १०० रुपैयाँ कमाउन मैले ४दिन सम्म भाडाँ माझेको थिएँ। भाडाँ पनि कति ठुला पो थियो त्यो होटलमा त ।’
म त्यो सुनेर अन्यन्त भावुक भएँ। लाग्यो मेरो मनमा नै आँधिबेरी र हलचल सुरु भयो। मेरो आखाँमा आसुँ रसाउन लागे। त्यो देखेर उसले फेरि भन्यो, ‘दिदी जीवन त खुसी भएर बाँच्नुपर्छ नि, आँसु देख्यो भने त शत्रुले हेप्छन् रे।’ उसकाे कुरा सुनेर त झन मेरा कुवासरी रसाइरहेका आँसु थामिन सकेनन् विना बादलको वर्षा हुन थाल्यो। मैले उसलाई अङकमाल गरेँ। उसलाई आश्चर्य लाग्यो। उ भन्दै थियो- ‘मलाई अहिलेसम्म कसैले पनि मायाका साथ छोएका थिएनन्।’
म फेरि भावुक भएँ । उसले फेरि भन्यो, ‘दिदी, हेर्नू त हजुरको लुगामा मेरो फोहोर टाँसियो, मलाई गाली नगर्नु ल। अस्ति एउटा अङ्कललाई छुँदा मात्र मेरो ढाडमा १ हप्तासम्म नजाने हातको डाम थियो।’ म झन भावुक भएँ, उसका कुराले । लाग्यो- उसले कतिसम्म पिडा सहेर पनि जीवनलाइ यति सहज सोचेर बाँचेको रहेछ।
तर हामी जतिसुकै सुख सहेलमा हुदाँ पनि हास्नमा कञ्जुसाइ गर्दछौं। साच्चै त्यो बालकको लुगा र रुप फोहोर भए पनी मन त धनिहरुको भन्दा पनि सफा र निस्चल रहेछ। जिवनमा पाउनु मात्र होइन गुमाउनु पनि माया हो । उ भन्दै थियो सानैमा बाबुआमा गुमाए त्यसपछि त फोहोर मै बित्दै छ जीवन, त्यही पनि म खुसी नै भई बाच्ने प्रयत्न गरिरहेको छु। गफ गर्दा गर्दै म झर्न ठाउँ आइपुग्यो।
किनकिन मलाई उबाट छुट्टिनै मन थिएन। उसका ती गहकिला कुराहरु अति नै दर्दनाक र अति नै मार्मिक थिए। उसका ती मोहित पारिदिने आखाँहरु, जसलाई सम्झिँदा मात्र पनि मलाई डर-त्रासभित्र लुकेको त्यो मन्द मुस्कान याद आउँछ। उसका ती कुराहरुले जति दु:खमा पनि हाँसेर बाँच्नुपर्छ भन्ने कुरा सिकाउछ। फोहोरबाट निस्किएको पैसाले श्रम र कर्तव्य सिकाउँछ। उसले आफ्नो अभाव नै अभावले भरिएको जिन्दगीलाई पनि खुसी बनाउन सिकेको थियो। तर हामी सबै कुरा पाउँदापाउँदै पनि जीवन दबाबमा बाँचिरहेकाे जस्तो सोच्छौँ।
तसर्थ पाएको सहजता र सुविधालाई आफ्नो मौका सोच्नुपर्दो रहेछ। उसको मुहारको हाँसोले सकारात्मक बाटो देखाउँछ। उसँगको भेट नै मेरो जीवनको मार्ग देखाउने बाटो बनेको छ। हामी हर चिज पुर्याइदिँदा पनि आफ्ना बाबुआमासँग रिसाउने गर्दछौँ। उसका ती कुराले त हामीलाई अभावमा बाँचेको सत्यबाेध गराएको छ।
बालबालिका अति नै मार्मिक अनि संवेदनशील हुन्छ्न्। जसले जे सिकायो त्यही गर्दछन्। दुःख बुझेकोले खुसी पनि बुझेको हुन्छ। बालबालिकालाई माया-ममता गरेमा हामीले पनि सम्मान-सत्कार पाउन सक्छौं। तसर्थ बालबालिकालाई माया अनि ममताको न्यायो काखमा बाँध्ने कोसिस गर्नुपर्छ।