११ असार २०७९, शनिबार

काठमाडौँ । सत्तारुढ गठबन्धनले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गर्न निर्देशन दिएको छ ।

आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धिका कारण जनजीवनमा नकारात्मक प्रभाव परेको भन्दै मूल्य घटाउन निर्देशन दिएको हो ।

स्रोतका अनु्सार बढ्दो महंगी नियन्त्रण गर्नका लागि समेत पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गर्न उक्त बैठकको निर्देशन छ । निर्देशनलाई मध्यनजर गर्दै सरकारले आजकै दिनदेखि पेट्रोलियम पदार्थमा लगाएका करहरु कटौती गरेर मूल्य समायोजन गर्ने तयारी रहेको बताइएको छ । सरकारले करहरु घटाएमा पेट्रोलको मूल्य प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म घट्नेछ ।

साथै अन्य वस्तुको मूल्य समेत नियन्त्रण गर्न बजारमा सरकारले हस्तक्षेप गर्नुपर्ने गठबन्धनका नेताहरुको सुझाव छ । बजार अनुगमनलाई पनि कडाइ गर्ने र मूल्य वृद्धि नियन्त्रण गर्नेबारे सहमति भएको बताइएको छ ।

LIVE TV