११ असार २०७९, शनिबार

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२, कपन बस्ने भीमलादेवी कोइरालाले शुक्रबार बिहान छोरालाई विद्यालय पठाउन सक्नुभएन । १० बजेसम्म सडकमा भेल घट्ला र छोरालाई विद्यालय पठाउँला भन्ने आशमा उहाँ बस्नुभयो । तर भेल घटेन । सोही स्थानमा रहेको नेपाल टेलिकम कार्यालय पछाडि १० वर्षदेखि पसल सञ्चालन गरिरहनुभएकी विमला लुइँटेलको व्यापार नभएको महिनौँ भयो ।

उहाँ भाडाबापत मासिक २८ हजार रुपियाँ तिर्नुहुन्छ । लुइँटेल बस्ने घरमै रहेका दुईवटा पसलको व्यापार ठप्प भएपछि चैत नलाग्दै सरे । उहाँको पनि व्यापार नभएको धेरै हप्ता बित्यो । सर्लाहीदेखि काठमाडौँ आएर व्यापार गर्न थालेदेखि अहिलेसम्म यस्तो अवस्था आएको थिएन । उहाँले भन्नुभयो, “पसलकै आम्दानीले भाडा तिर्ने हो । एक पैसा पनि आम्दानी नभएपछि पसल सार्नेबाहेक अरू विकल्प रहेन तर पसल कसरी सार्ने भन्ने अर्को चिन्ता छ ।”

कोइराला र लुइँटेलजस्तै पीडामा हुनुहुन्छ, कपनकै मिलनचोक तरकारी बजारका सम्राटसिंह तामाङ । सडकपेटीमा ठेला राखेर व्यापार गर्ने तामाङले शुक्रबार बिहान तरकारी बेच्न पाउनुभएन । उहाँहरूजस्तै यस क्षेत्रमा १० हजारभन्दा बढी नागरिकको साझा समस्या हो यो । २०७८ पुस १८ गते लुइँटेलको घरअगाडि काठमाडौँ महानगरपालिका–६ र बूढानीलकण्ठ–१०, ११ र १२ लाई समेट्ने आनीगुम्बादेखि धोबीखोलासम्मको सडकमा नाला निर्माणका लागि ७ फिट गहिरो खाडल खनिएको छ । सडक लथालिङ्ग पारिएको छ । जसका कारण उक्त क्षेत्रका दुई दर्जन पसल सञ्चालकले सारेको लुइँटेलले बताउनुभयो । उहाँले भन्नुभयो, “गाडी ल्याउने ठाउँ छैन । सामान बोकेरै लान पनि सम्भव छैन । परिबन्दमा परिरहेका छौँ ।” याे खबर गाेरखापत्र दैनिकमा छ ।

LIVE TV