१० असार २०७९, शुक्रबार
  • राज दयाल,

ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ८१ करोड बढीको अनुमानित बजेट पेस गरेको छ । नगरपालिकाको आज (शुक्रबार) सम्पन्न १० औँ नगर सभाको उद्घाटन सत्रबाट ८१ करोड, ६ लाख, २३ हजार ८६० रुपैयाँ बजेट प्रस्ताव गरेको हो ।

नगरपालिकाका उपमेयर केदारबाबु बस्नेतले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा आर्थिक विकासतर्फ कुल बजेटको १३.२९ प्रतिसत बजेट बिनियोजन गरिएको छ । त्यसैगरी सामाजिक विकास तर्फ ५५.२९ प्रतिसत, पुर्वाधार विकास १३.१६ प्रतिशत, वन वातावरण तथा विपद् व्यवस्थापन ०.४६ प्रतिशत र सुसासन तथा संस्थागत विकासतर्फ १६.५४ प्रतिसत बजेट बिनियोजन गरिएको उल्लेख छ ।

नगरपालिकाले नगरभित्रको शिक्षा, स्वास्थ्य, आवास र रोजगारी जस्ता आधारभुत मानवीय आवश्यकता परिपुर्ती गर्ने र त्यस्ता क्षेत्रहरुको विकास र पवद्र्धन गर्ने, कृषी, पर्यटन,जलस्रोत र घरेलु उद्योगको क्षेत्रमा पुँजी परिचालन गर्ने, आर्थिक भौतिक र सामाजिक पूर्वाधारको विकास गरी समृद्ध नगरपालिका बनाउने अभियानलाई गति दिन कृषि सडक, सिंचाई, जलविद्युत जस्ता क्षेत्रहरुको निर्माण, विकास र विस्तार गर्ने जस्ता नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

त्यस्तै सुशासन, पारदर्शिता र जवाफदेहिताको सिद्धान्तलाई आत्मसाथ गरी आम नगरबासीलाई छिटो, छरितो, गुणस्तरीय र परिणाममुखी सेवा प्रदान गर्ने,जलवायु अनुकुल, पर्यावरणीय संरक्षण र विपद् व्यवस्थापन तथा न्यूनिकरण सम्बन्धी कार्यहरु गर्ने, लैङ्गिक र सामजिक सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने र ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक क्षेत्रको संरक्षण गरी भाषा कला र साहित्यको संरक्षण र व्यवस्थापन गर्ने जस्ता नीति तथा कार्यक्रम ल्याएको छ ।

नगरपालिकाको उद्घाटन सत्र मेयर नेजन खनाल(तेजेन्द्र) को सभापतित्वमा सम्पन्न भएको थियो ।

LIVE TV