१० असार २०७९, शुक्रबार

काठमाडाैँ । नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा गर्दै आएको राष्ट्रिय कविता महोत्सव यसपालि पनि असार ९ गते बिहीबार सम्पन्न भएको छ । जसमा ५ जना कविका निम्नलिखित कविताहरु पुरस्कृत भएका छन्-

प्रथम कविता : सङ्कल्प
(कवि : टीका आत्रेय, सुनसरी)

उपासना हुँ देशको म अर्चना हुँ देशको
सुवास मग्मगाउँने म बासना हुँ देशको
सुधा पिएर शैलको म मृत्तिका सजाउछु
बनेर मेरुदण्डझैँ धरा उचाल्न सक्दछु ।

म मूल देशको कतै मुहान सर्न सक्दिनँ
भनेर वीर जो लडे कदापि भुल्न सक्दिनँ
तिनै अजेय वीरको दुरुस्त बाघ सन्तति
भुलेर खान्न भोकमा अनाज वा वनस्पति ।

धरा फुटेर जन्मिने मधेसकी म जानकी
हिमाल स्वाभिमानकी सुपूज्य अंश पार्वती
प्रताप ज्ञान बुद्धको लिएर शान्त सागर
बनूँ अनन्त देशको मुहारको प्रभाकर ।

म झर्छु बिन्दु रूपमा निधारको अघिल्तिर
बगेर सिन्धु कर्मले म फुल्छु सृष्टि सुन्दर
फलेर अन्न भोकको जरा उखेल्न सक्छु म
लिएर गर्भ ज्ञानको विकास जन्म दिन्छु म ।

बलेर अग्नि न्यायमा कसी लगाइदिन्छु म
उनेर प्रेम विश्वको गला मिलाइदिन्छु म
अरू त छैन चाहना म देशको धुलो बनी
यही पवित्र स्वर्गमा रहूँ जुनी जुनी जुनी ।

**********

द्वितीय कविता : आगोमा फुलेको देश
(कवि : यात्रीप्रकाश पाण्डे, धादिङ)

यो आगोमा फुलेको देश हो
नसोच्नू, आगोलाई फूल बनाउँछु ।

हिजैमात्र
निःशस्त्र यो छातीमा गोली हानेपछि
हार स्विकारेथे वैरीहरूले ।

आज,
छाती पहाड बनेको छ
र फुलाइरहेछ रगत बगेकै ठाउँमा रातो गुराँस
बढाइरहेछ, यही देशको गौरव ।

मेरै हात काटिदिएपछि
नहारेको वीरताले
मैले प्रतीकार गरिदिँदा
हात जोडेर आफ्नै जीवनको भीख मागेथे
हात हुनेहरूले ।

त्यसैले आज
शिर बनेको छ सगरमाथा
जहाँ फरफराइरहन्छ चन्द्र सूर्य अङ्कित झन्डा झन्डा ।

मेरै गोडा काटिदिएपछि
भागेर बाँचेथे गोडा हुनेहरू
त्यसैले,
कतै नसर्ने जङ्गे पिल्लर भएको छ शरीर सिमानाको
अझै पनि परदेशमा इज्जत लुटिएपछि
शरीर ढाकेर मर्छे चेली
सायद मर्नुअगावै सोच्छे
म मरेर पनि इज्जत त बचाउनुपर्छ ।

पुरानो इस्टकोटमा
नयाँ खल्ती राखेर मुगलान पसेको हर्के
एउटा खल्तीमा माटो र
अर्कोमा
सपना बोकी हिँड्छ
देशको नक्सा बोकी हिँड्छ
यसरी
आँखाको सपना बेचेर
देश नछाड साथी
नत्र तिमीले देशलाई छाडेजसरी
देशले पनि तिमीलाई छाड्न सक्छ
आगोलाई फूल नबनाऊ साथी
हामीलाई त आगोमै फुल्नु छ
र आफैँ जलेर पनि उज्यालो बनाउनु छ देशको चेहरा
मरेर पनि बाँच्नु छ,
युगौँ युगसम्म ।

**********

तृतीय कविता : बुबाको सिलाइ मेसिन
(कवि : किरन सिवा, सुनसरी)

बुबा
विभेदको सङ्घारमा
आफ्नै इमान बन्धकी राखेर
आउने जानेहरूलाई स्वागत गर्नुहुन्छ ।

हिजो देश र जनताको
हितकै लागि बोल्दै हिँड्ने
तल्लो घरे दाजुले पनि
बुबाकै मेसिनमा
झन्डा सिलाउन दिनुभयो र भन्नुभयो,
फर्फराउने झन्डा बनाउनू ।

बुबा झन्डा बनाएर घरसम्म पुग्नुहुन्छ र
दैलोबाहिरैबाट झन्डा बुझाउनुहुन्छ ।

यसरी सम्झिनुहुन्छ,
बरु मान्छेहरूले भन्दा त
मेरै मेसिनले बुझेको छ
जसले,
जात हेर्दैन, वर्ण हेर्दैन
र सिलाइरहन्छ,
समानताको धागोले
मान्छेकै इज्जत ।

आयुको आधा युग छिचोल्दै
यहाँसम्म आइपुग्दा
स्वतन्त्रताको ठेगाना
आजसम्म पनि पत्ता लगाउन नसकेका मेरा बुबा
आफैँले आफैँलाई
जिन्दगीको तमाम उत्कर्षहरूबाट
सिउन सक्नुहुन्छ
बुबा
मेसिनअगाडि
आफ्नै उमेर राखेर
जिन्दगी जिउनुहुन्छ ।

**********

तृतीय कविता : चरिसो फूल
(कवि : सीता तुम्खेवा, भक्तपुर)

आमाको वेदना बुझ्न
आफैँ आमा बन्नुपर्ने रहेछ नाना
बल्ल बुझ्दैछु,
घरीघरी किन धाउँथ्यौ तिमी ?
दुम्सीपहरा ।

कहिलेकाहीँ
बिहानीको झुल्के घाम
र साँझको पहेँली घाममा
दुम्सीपहरा र हाङ्नामे भीरमा गुन्जिने
एकैनासे आवाज गोठसम्म आइपुग्थे
चिहाँ, चिहाँ….. ।

मलाई लाग्थ्यो,
भोकाए होला कि ?
म पुग्थेँ भीरनजिकै
आइपुग्थ्यौ तिमी पनि
हेर्दै ओढारको कोक्रोतिर
रुन्थ्यौ बेस्सरी र हुन्थ्यौ बेहोस, बेहोस ।

भीरमाथिको चरिसो फूलबारीओरपर
कुनै भर्खरै निदाएजस्ता
कुनै भर्खरै गिद्धले लुछेजस्ता
कुनै कङ्कालमात्र बाँकी हुन्थे
कोपिलामै झरेका फूलहरू
आ-आफ्नै कोक्रोमा ।

मुन्धुम भन्थ्यो,
नटिप्नू चरिसो
उनीहरू खेल्ने फूलबारी हो
तर म टिपेर सिउरिन्थेँ चुल्ठोमा ।

आज
जङ्गलभित्र ढुङ्गाको सिरक ओढेर
सुतिरहेको मेरो छोरा
ब्यूँझिएर निसास्सियो कि ? लागिरहन्छ ।

आमा ! आमा !
मलाई नै पुकारिरहेको छ कि ? लागिरहन्छ ।

सत्ते,
आमा भन्नु त धर्ती रहेछ
जो सृष्टि गरिरहन्छ, जितेर आफ्नै मृत्यु
आज आफैँले बुझेँ नाना !
आमाको वेदना बुझ्न त आफैँ आमा बन्नुपर्ने रहेछ ।

**********

तृतीय कविता : सपना उम्रन्छ माटोमा
(कवि : कमलराज केसी, अछाम)

रोपेर सपनाको बिउ माटोमा,
सृजनाको अजम्बरी गीत गाइरहन्छु,
नदीजस्तै अविरल
माटो सृष्टि हो
सृजना हो माटो
माटो देश हो
देश आमा हुन् ।

खाएर माटोको सपथ
लाएर माटोको टिका
सुन्दैछु ढुक्ढुकीहरूमा
माटोको सुमधुर सन्देश
पुर्खाको रगत पसिनाले सिन्चिई
मलिलो छ यहाँको माटो
यही माटोमा रङ्गिएका
इन्द्रेनी सपनाहरू ।

पैँचो मागेर यो युगसँग
सजाइरहेछु आँखामा
माटोमै फुल्छ लालीगुराँस
राष्ट्रियताको रङ्ग छर्दै
स्वाभिमानी उभिएको छ माटो
सगरमाथा बनेर
जसरी, झरेर झरनाहरू पर्वतमालाबाट
साहसको धुन गुन्गुनाइरहेछन्
त्यसरी नै
आफूभित्र जगाएको छु
एउटा अविराम यात्रा
सिम्रिक रङको साँझमा
निभ्नै लागेको सलेदोबाट
सल्काएर अर्को सलेदो
दुवोजस्तै मौलाउने सपनाहरू बोकेर
कोरिरहेछु पैतालाहरूले कर्मरेखा ।

बाँसुरीमा सृजनाको धून फुक्दै
आऊ, यो सृजन उत्सवमा
बुद्धलाई खोजेर मनको तहमा
करुणा र प्रेमको देउसी भैलो खेलौँ
सद्भावनाको आँगनीमा
खोज्दै सम्भावनाको नयाँ उज्यालो ।

सुकुमारी पहाडका कन्दराहरूबाट चियाएर
यतिखेर म मेरो देशको मानचित्र नियालिरहेछु
र पढिरहेछु
नानीहरूका आँखाबाट
माटोमा फुलेका समृद्ध सपनाहरू ।
-०-

प्रतिक्रिया दिनुहोस्
LIVE TV