९ असार २०७९, बिहीबार

काठमाडौं । गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डल र काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । काठमाडौं महानगरपालिकाको मेयर कक्षमा भएको भेटघाटको क्रममा गैरआवासीय नेपाली संघले सहकार्य गरी काठमाडौ महानगरको स्तरउन्नती, ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइट, आधुनिक सार्वजनिक शौचालय निर्माणको लागि सहयोग गर्ने जनाएको छ ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले ललितपुर महानगरपालिकाको समन्वयमा ललितपुरको शंखमुल पार्क बनाएको पनि स्मरण गराएका थिए । त्यस्तै गत वर्ष नै टेण्डर आह्वान गरी बनाउन लागेको सार्वजानिक शौचालय कलंकी सडक विस्तारले जग्गा अधिग्रहण भएपछि स्थगित भएको थियो ।

तर, यदि काठमाडौं महानगरपालिकाले जग्गा उपलब्ध गराएको खण्डमा एनआरएनएले दुईवटा सार्वजनिक शौचालय बनाउने र उक्त शौचालय व्यवस्थापनको निमित्त काठमाडौँ महानगरपालिकालाई आग्रह गरेको छ ।
त्यस्तै फोहोर व्यवस्थापनको निमित्त विभिन्न देशहरूको उच्चस्तरीय प्रविधिको विषय पनि जानकारी गराएका थिए । संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले काठमाडौं सिटीलाई ‘स्मार्ट सिटी’ बनाउन सहकार्य र समन्वय गर्न गैरआवसीय नेपाली संघ हरदम तयार रहेको बताए ।

भेटको क्रममा मेयर शाहले काठमाडौंको कला–संस्कृति, सम्पदालाई विश्व सञ्जालमा चिनाउनको निमित्त गैरआवासीय नेपाली संघलाई आग्रह गरे । त्यस्तै ‘कुकुर तिहार’लाई विशेष पर्वको रुपमा विश्वभर मनाउन र त्यो देशको क्यालेन्डरमा उक्त पर्व छपाउन पहल गर्न आग्रह पनि गरेका थिए ।

गैरआवासीय नेपाली संघले बनाउन लागेको सार्वजनिक शौचालय बनाउन जग्गा उपलब्ध गराउन, व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका सकारात्मक रहेको बताएका छन् । उक्त भेटघाट कार्यक्रममा यूरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, यूरोपका युवा संयोजक रमेश काफ्ले, आईसीसी सदस्य प्रदीप न्यौपानेलगायतका अभियन्ताहरुको उपस्थिति थियो ।

 

LIVE TV