९ असार २०७९, बिहीबार

काठमाडौं । मन्त्री हेरफेर गर्न हतारिँदै आएको नेकपा एकीकृत समाजवादीले अब केही घण्टाभित्रै नयाँ मन्त्रीहरूको नियुक्त हुने जनाएको छ । बिहीबार बसेकाे केन्द्रीय सचिवालय बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले हाल देउवा सरकारमा रहेका पूराना मन्त्रीहरुलाई बोलाएर केही घण्टाभित्रै नयाँ मन्त्री हेरफेर हुने जानकारी दिएका हुन् ।

बैठकपछि उनले भने, ‘पार्टीको निर्णय प्रधानमन्त्रीसमक्ष पुगिसकेको छ । अब दिन लाग्दैन, पार्टीको निर्णय कार्यान्वयन अब केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुन्छ ।’

खतिवडालले मन्त्री हेरफेर गर्नुअघि बहालवाला मन्त्रीहरुले राखेको शर्त हल्लामात्र भएको पनि पुष्टि गरेका छन् । उनले भने, ‘पार्टीमा व्यक्तिगत रुपमा कसले कोसँग छलफल गर्‍यो ? के भन्यो भन्ने कुराले अर्थ राख्दैन । पार्टीको निर्णय नै अन्तिम सर्त हुन् । पार्टीले निर्णय गरिसकेको छ । अहिले पार्टीको निर्णयभन्दा माथि कोही पनि छैन ।’

खतिवडाले छ महिने अवधिसम्मका लागि मात्र सरकारमा पठाएको सम्झौताअनुसार नै मन्त्री चेनफेन हुन लागेको बताए । ‘‘हामीले सरकारमा जाने बेला नै छ महिनामा हेरफेर हुने भन्ने सहमति गरेका थियौँ । अहिले त्यसैको कार्यान्वयन गर्न लागिएको हो,’ उनले भने ।

हाल एकीकृत समाजवादीबाट शहरी विकासमन्त्रीमा रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले, स्वास्थ्य मन्त्री विरोध खतिवडा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ रहेका छन् भने स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ रहेका छन् । खापुङलाई भने स्वास्थ्यमन्त्रीमा पदोन्नत्ति गर्ने पार्टीको निर्णय छ ।

LIVE TV