८ असार २०७९, बुधबार

खोटाङ । खोटाङको साकेला गाउँपालिकाले विज्ञ र बुद्धिजीवी वर्गसँग पालिका स्तरीय योजना तर्जुमाको विषयमा छलफल गरेको छ । आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउनु अघि छलफल कार्यक्रमको आयोजना गरी गाउँपालिका भित्रका विज्ञ र बुद्धिजीवी वर्गहरुबाट राय सुझाव लिएको हो ।

यसअघि पालिकाले सबै वडाहरुमा नागरिक भेला गरेर वडा स्तरीय योजना तर्जुमा गोष्ठी गरी नागरिक तहबाट पनि राय सुझाब लिएको थियो । गाउँपालिका अध्यक्ष रविप्रकाश राईको सभापतित्वमा भएको पालिका स्तरीय योजना तर्जुमा गोष्ठीमा प्रतिनिधिसभा सदस्य हिरा गुरुङ, प्रदेश १ का खानेपानी सिंचाई तथा उर्जा मन्त्री रामकुमार राई, पूर्व सांसद कुलप्रसाद फुयाँल, जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले आ–आफ्नो सुझाव दिएका थिए ।

गोष्ठीमा महालेखा परीक्षक टंकमणि शर्मा, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सागर राई, वर्तमान गाउँपालिका उपाध्यक्ष विर्सिका राई, उप–सचिव कृष्ण कट्वाल, पूर्व जिविस उपसभापति बाबुराम राई, निवर्तमान गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्का, उपाध्यक्ष सरिता खड्काले पनि नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सुझाव दिएका थिए ।

यस्तै, कृषि विज्ञ मदन राई, पूर्व सह–सचिव एवं मत्स्य विशेषज्ञ आशकुमार राई, पूर्व उप–सचिव चन्द्रकुमार राई, राष्ट्रिय अनुसन्धानका पूर्व डीआईजी बसन्त राई, गाउँपालिका भित्रका राजनैतिक दलका प्रदेश तथा जिल्ला स्तरीय नेता, ५ वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, साकेला बहुमुखी क्याम्पस, साकेला मावि, राधाकृष्ण मावि, सिध्देश्वरी मावि, वालवालिका मावि, सरस्वती मावि, ५ वडाका निवर्तमान अध्यक्ष, उधोग वाणिज्य संघका प्रमुख चन्द्र वहादुर कट्वाल र साकेला क्लवका प्रमुख कविकुमार राईले पनि नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सुझाव दिएका छन् ।

‘साकेलाको विकास र समृद्धि अबको पालो, विज्ञ र बुद्धिजीवी वर्गहरु सँगको हातेमालो’ नाराका साथमा गरिएको पालिका स्तरीय योजना तर्जुमा गोष्ठीमा सहभागी विज्ञहरुले दिएको उत्कृष्ट सुझावहरु नै गाउँपालिकाको मार्गचित्र भएको गाउँपालिका अध्यक्ष राईले बताए ।

‘गाउँपालिका सरकार आफ्नै मात्र स्वविवेकले चल्दै गर्दा एउटाको विवेक र थुप्रै विज्ञहरुको विवेक त आकाश र जमिनको फरक हुन्छ नै’, गाउँपालिका अध्यक्ष राईले भने, ‘त्यसैले साकेला गाउँपालिकाको नागरिक तहदेखि विज्ञहरुको तहसम्म समन्वय गरी सुझाव, सल्लाह लिएर आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बनाउन लागेका छौं ।’

वार्षिक नीति तथा कार्यक्रम निर्माण गर्नुअघि गाउँपालिका भित्रका तर, काम र कार्य व्यस्तताले गाउँपालिका बाहिर बसोबास गरिरहेका विज्ञ, बुद्धिजीवी, राजनीतिक व्यक्तित्व, सरोकारवालालाई भेला गरेर राय सुझाव सङ्कलन गर्ने यो गाउँपालिका पहिलो हो। गोष्ठीमा सहभागी सबै साकेला गाउँपालिका भित्र रहेका सम्पत्ति नै हुन् । गाउँका यिनै निधिहरुको सम्मान गर्दै उनीहरुकै राय सल्लाह बमोजिम पालिका अघि बढ्ने प्रतिबद्धता पनि अध्यक्ष राईले व्यक्त गरे ।

LIVE TV