८ असार २०७९, बुधबार

काठमाडौं । न्यूज २४ को सिधा कुराले इच्छाराज तामाङलाई छुटाउन न्यायाधीश र अधिवक्ताबीचको गोप्य अडियो संवाद ल्याएपछि नयाँ तरंग पैदा भएको छ । पीडितलाई न्याय दिने नेपालको न्यायलय कसरी चलिरहेको छ ? यस्को पर्दाफास गोप्य अडियो संवादले छर्लंग पारेको छ ।

मंगलबार सिधा कुराले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र तामाङको पक्षमा बहस गरिरहेका वकिल रुद्रप्रसाद पाखरेलबीच भएको १० मिनेटको अडियो रेकर्डको खतरनाक डिल सार्वजनिक गरेको थियो । उक्त अडियोमा दुबैबीच १० करोड रुपैयाँ धरौटी लिएर तामाङलाई रिहा गर्ने गोप्य डिल भएको छ ।

गोप्य अडियो रेकर्ड बाहिरिएसँगै अहिले न्यायाधीश कोइराला भने प्रतिवादमा उत्रिएका छन् । सामाजिक सञ्जाल फेसबकुमार्फत् उनी विभिन्न प्रभाव र दवावका बीच आफू निष्पक्ष भूमिका निर्वाह गरिरहेको बताएका छन् ।

उनले लेखेको छन्, ‘मबारे आज आएको समाचार प्रति मेरो ध्यानाकर्षण भएको छ । म बाट कुनै अनुचित कार्य भएको छैन । बिभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु । म माथि न्याय परिषदबाट छानबीन होस् तथा सहयोग गर्ने पुर्ण प्रतिबद्धता वयक्त गर्दछु ।’

उनको यो ‘विभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु’ बोलीले प्रष्ट भन्छ– तामाङलाई छुटाउन मोलमोलाई भएको हो तर, डिलिङ अझैँ पुगेन वा अझैँ यसबारे कसरत गरौँ ।

अडियो प्रकरण सार्वजनिक भएपछि नेपाल बार एसोसियसनले अडियोबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

एसोसियसनकी महासचिव अन्जिता खनालले विज्ञप्तिमार्फत न्यायाधीश कर्मचारी तथा कानुन व्यवसायीहरूबाटै हुने अवाञ्छित, अमर्यादित र अनुचित कार्यको निन्दा गर्दै दोषी पाइएको खण्डमा कडा कारबाहीको पनि माग गरेकी छिन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक भएको अडियो समाचारका सम्बन्धमा सोको आधिकारिकता र सत्य–तथ्य बेहोराको अनुसन्धान तथा छानबिन गरी उक्त कार्यमा कसैको संलग्नता रहेको पाइएमा कसुरदारलाई कानुनी दायरामा ल्याउनका लागि यस नेपाल बार एसोसियसन सम्बन्धित नियमनकारी निकायहरूसँग जोडदार माग गर्दछ ।’

यता, नेपाल कानून व्यवसायी परिषदले अडियो सार्वजनिकपश्चात् आकस्मिक बैठक बोलाएको छ । अधिवक्ता पोखरेलमाथि छानविन गर्न समिति नै गठन गर्नलगायत आवश्यक निर्णय गर्न बार काउन्सिलले बैठक बोलाएको छ ।

 

LIVE TV