८ असार २०७९, बुधबार

काठमाडौं । न्यूज २४ ले न्यायाधीश र वकिलबीच १० करोड लेनदेन गर्ने अडियो सार्वजनिक गरेपछि आकस्मिक रुपमा न्यायपरिषदको बैठक बोलाइएको छ । न्यायपरिषदका एक सदस्यका अनुसार, दिउसो साढे १ बजे बैठक बोलाइएको हो ।

मंगलबार न्यूज २४ले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक गरेको थियो ।

न्यायाधीश र वकिलबीचका संवाद गम्भीर भएको भन्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार बैठक बोलाएका हुन् ।

न्यायपरिषद्‍ बैठकमा अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरु राजुकुमार खतिवडा र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुने भएको छ ।

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका छन् ।

कुराकानीका क्रममा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्व अध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेका छन् । त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पनि साथ हुने भन्दै उनले प्रलोभन दिएका थिए ।

अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतले न्यायाधीश कोइरालालाई बुधबार कुनैपनि इजलास तोकिएको छैन ।

इच्छाराज तामाङलाई ठगी र संगठित अपराध कसूरमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ७८ असोज १८ गते पक्राउ गरेको थियो ।

अहिले तामाङ र उनका सहयोगी अर्थात सिभिल सहकारीका वर्तमान अध्यक्ष केशव लाल श्रेष्ठ डिल्ली बजार जेलमा छन् ।

उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV