
काठमाडौं। सिभिल सहकारीको रकम हिनामिना प्रकरणका मुख्य आरोपी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न भएको असफल डिलको अडियो रेकर्ड ‘कार्यक्रम सिधा कुरा जनतासँग’को हात परेको छ ।
२ हजारभन्दा बढी निक्षेपकर्ताको ८ अर्व भन्दा बढी रकम ठगेका इच्छाराज हाल हिरासतमा छन् । उनलाई धरौटीमा रिहा गराउन काठमाडौँ जिल्ला अदालतका न्यायाधिस राजकुमार कोइराला र तामाङको पक्षमा बहस गरिरहेका वकिल रुद्र प्रसाद पोख्रेलबीच एउटा खतरनाक डिल भएको तथ्य बाहिरिएको हो ।
१० करोड रुपैयाँ धरौटी लिएर तामाङलाई रिहा गर्ने योजना बनाइएको थियो । वकिल पोख्रेल र न्यायाधीश राजकुमार कोइरालाबीच भएको गोप्य सम्वादमा १० करोड धरौटी मागेर तामाङलाई रिहा गर्ने र यो काम गरेबापत २ करोड लिने डिल अडियो रेकर्डमा सुनिएको छ ।
अधिवक्ता र न्यायाधीशबीच भएको सम्वादमा न्यायाधीश कोइरालाले तामाङलाई धरौटीमा छाड्ने आँट गर्न सक्दैनन् । उनी केही डराएको जस्तो सुनिन्छ । तामाङ रिहा भएको विषय पत्रपत्रिकामा आएमा त्यसले आफ्नो जागिर जान सक्ने शंका पनि उनले गरेका छन् ।
तर न्यायाधीश कोइरालालाई अधिवक्ता पोख्रेलले सबै चाँजोपाँचो आफूले मिलाउने भन्दै उक्साउँछन् ।
अधिवक्ता र न्यायाधीशबीच करिब १० मिनेट कुरा भएको छ । कुराकानीका क्रममा पोख्रेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई समेत जिल्लाका मुख्य न्यायाधीश राजुकुमार खतिवडालाई भन्न लगाउने वाचा गरेको सुनिन्छ ।
अडियोमा राजुकुमार खतिवडाको नाम उल्लेख छैन । तर जिल्लाका एक नम्बर भन्नाले मुख्य न्यायाधीश राजुकुमार खतिवडा हुन् भन्ने बुझ्न गाह्रो छैन ।
यो गोप्य अडियोको लगभग १० मिनेट लामो छ । यो डिल भएर पनि न्यायाधीश राजकुमार कोइरालाले तामाङलाई १० करोड धरौटी मागेर रिहा गर्दैनन् । तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश २०७८ पुस १४ गते दिन्छन् ।
एकातिर १० करोड धरौटीको कुरा, अर्कोतिर आरोपीहरुलाई पुर्पक्षमा पठाएपछि न्यायाधीश र अधिवक्ताबीच भएको डिल असफल भएको पुष्टि हुन्छ । यो डिल किन असफल भयो ? भन्ने स्पष्ट भइसकेको छैन ।
इच्छाराज तामाङलाई ठगी र संगठित अपराध कसूरमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ७८ असोज १८ गते पक्राउ गरेको थियो ।
अहिले तामाङ र उनका सहयोगी अर्थात सिभिल सहकारीका वर्तमान अध्यक्ष केशव लाल श्रेष्ठ डिल्ली बजार जेलमा छन् ।
उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा चलिरहेको छ ।
प्रहरीका अनुसार यो नेपालकै सबैभन्दा ठूलो ठगी प्रकरण हो । संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले झन्डै तीन साता लामो थुनछेक बहसपछि उनीहरुलाई जेल चलानको आदेश दिएको थियो ।
तामाङले निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजको प्रलोभनमा पारेर सहकारीमा पैसा जम्मा गर्न लगाई सहकारीको नियमविपरीत कर्जा आफ्नै कम्पनीको नाममा प्रवाह गरेका थिए ।
ती कम्पनीबाट भएको आम्दानी लुकाएर सहकारीको कर्जा नतिरेपछि संस्था समस्यामा परेको थियो ।
पीडित बचतकर्ताहरुले आफ्नो बचतको रकम यस सहकारीबाट करिब तीन बर्ष देखि पाएका छैनन् ।
यती धेरै रकम सहकारीबाट अपचलन गरेर लगेपछि तामाङले सो रकम आफ्ना, आफ्नी श्रीमती र दुई छोरीहरु, केशव लाल श्रेष्ठ र उनले भनेको मान्ने मान्छेका नाममा राखेको बताइन्छ । उनले खोलेका २२ वटा निजी कम्पनीमा पनि रकम लगानी गरेका छन् । केही रकम बेलारुस पु-याएको पनि बताइन्छ ।
तामाङले करिब एक अर्ब पर्ने सिभिल सहकारीको काठमाडौंको सोल्टिमोड स्थित भवन पनि गैर कानुनी रुपले आफ्ना निजी कम्पनिमा नामसारी गरेर लगेको त्यहाका पूर्व कर्मचारिहरुले लिखित रुपमा बताएका छन् ।