३ असार २०७९, शुक्रबार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलेले नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाललाई तिम्रै पालोमा एसपीपी सम्झौता भएको हो भनेर ओठे जवाफ नगर्न चेतावनी दिएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले काँग्रेस सचेतक भुसालले लगाएको आरोपप्रति खण्डन गर्दै तिम्रै पालोमा एसपीपी सम्झौता भएको हो भनेर ओठे जवाफ नगर्न चेतावनी दिएका हुन् ।

उनले आफ्नो पालोमा प्रधान्यायाधीशसहितका मन्त्रालयगत पदाधिकारीहरुको कार्यदन गठन गरेर नेपाललाई सैन्य सम्झौतासम्बन्धी मुद्दा स्वीकार्य नहुने स्पष्ट पारेको भन्दै ओठे जवाफको कुनै अर्थ नरहेको बताए । समितिमै काँग्रेस सचेतक भुसालले चिठी पूर्व रक्षामन्त्री ईश्वर पोखरेलकै पालमा पठाइएको आरोप लगाएकी थिइन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले यो विषय धेरै गम्भीर विषय भएको भन्दै सकियो भनेर टार्न नमिल्ने बताए । यसबारेमा छुट्टै छानबिन समिति बनाउन पनि समितिको ध्यानाकर्षण गराए ।

उनले भने, ‘हिजो चिठीको बारेमा नेपाली सेनाको आधिकारिकताको बारेमा अथेन्टिक ढंगले आएको खुशीपनि व्यक्त गर्दछु । त्यहाँ दुईवटा कुरा छन् । हातले चिठीमा मिति २७ अक्टोबर पारिएको छ । किन ? अरु सबै टाइपपमा छन् । २७ अक्टोबर हातले छ । अर्को कुरा एज अथराइट बाइ द गभर्मेण्ट अफ नेपाल त्यसलाई हेट कसले गरेको थियो ? त्यसबेला । यो चिज यो असोज १३ को रक्षा मन्त्रालयको पत्रलाई रिफर गरिएको हो । त्यसबेला वास्तवमा सुशील कोईरालाजी प्रधानमन्त्री हुनुहुन्थ्यो । यसमा म स्पष्टता चाहन्छु ।’

उनले थपे, ‘२०१९ मा म रक्षामन्त्री थिएँ । जब अमेरिकाको तर्फबाट यो आईपीएस स्टाटेजी रिपोर्ट २०१९ प्रकाशित भयो, त्यसमा नेपाल र श्रीलंका एसपीपीमा छन् भन्नेकुरा उल्लेख गर्दै आईपीएसको अंग हो एसपीपी भन्ने भएपछि त्यसबेला प्रधानसेनापतिले गम्भीरताका साथ छलफल होस् भनेर चिठी लेखेपछि हामीले गम्भीरताका साथ लियौँ । त्यसपछि हामीले प्रधानसेनापतिसहितको एउटा टिम बनाएर यसमा जिम्मेवार धारणा आउनुपर्छ ।’

उनले फेरि भने, ‘यो सर्वथा नेपालका लागि उचित छ भनेर जिम्मा लगाएका हौँ । जुन २०१९ पछि यो गरेको हो भन्ने मान्यजीलाई भन्छु, तिमी नै थियौ, भन्ने हिसावले मात्रै कुरा गरियो भने ओठेसवाल जवाफको केही अर्थ छैन । एकपटक छलफल भयो सकियो होइन, आउने दिनमा यस्तो खालको तलवितल नहोस् । यसका लागि एउटा छानबिन समिति बनाउनुपर्छ । कसको पालामा के के भयो ? भनेर दण्डित गर्नेभन्दा हेक्का राख्ने, बुझ्ने हिसावले यो समिति बन्नु जरुरी छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले अमेरिकालाई सेनाले पठाएको पत्रमा हातले मिति लेखेको भन्दै आपत्ति जनाए । सबै अक्षर प्रिन्टेड भएपनि मिति हातले लेखेकोले आशंका उब्जाएको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलको प्रश्नको जवाफमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा हस्ताक्षर कर्ता त्यही दिन उपस्थित हुने÷नहुने कुरा स्पष्ट नहुने भएकोले नबिग्रियोस् भन्ने हेतुले मिति पछि लेख्ने गरेको पनि स्पष्ट पारेका थिए ।

LIVE TV