२ असार २०७९, बिहीबार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापारिका प्रतिनिधि राखेर कमिसन लिइ बजेट बनाएको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजित स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले बजेट बनाउँदा अनाधिकृत व्यक्तिहरु राखेको, व्यापारीका प्रतिनिधि राखेर करका दर सेटिङमा राखेको दाबी गरे । उनले संसारका कुनै राज्य प्रणालीमा बजेट बनाउनुपूर्व व्यापारीका प्रतिनिधि राखेर बनाउने प्रचलन नरहेपनि नेपालमा कमिसन खाएर बजेट निर्माण गर्ने प्रणालीको खिल्ली उडाएको बताए ।

अध्यक्ष ओलीले बजेट अर्थमन्त्री, अर्थसचिव, राजश्वसचिव, आदिले तयार गर्ने भएपनि अनाधिकृत मान्छे ल्याएर करका दर सेटिङमा तोकिएको बताए । उनले ब्यापारीसँग सेटिङ मिलाएर करका दर तोकिएको भन्दै बजेट बनाउँदा नै व्यापारिहरु बोलाएर बनाएकोप्रति आपत्ति जनाए ।

अध्यक्ष ओलीले भने, ‘विश्वमा कतै नसुनेको बजेट बनाउँदा बजेट बनाउने अधिकारी राखेर होइन, बाहिरका अनाधिकृत मान्छेहरु राखेर बजेट बनाइन्छ । दुनियाँमा कतै कल्पना गरिँदैन । बजेट अर्थमन्त्री, अर्थसचिव, राजश्वसचिव, आदिले तयार गर्छन् । त्यस ठाउँमा त्यस्ता मान्छेहरु बाहेक अरु नै प्रकारका मान्छेहरु अनाधिकृत मान्छे ल्याएर करका दर सेटिङमा तोकिन्छ । व्यापारीसँग सेटिङ मिलाएर करका दर तोकिन्छ । कमिसन खाएर करका दर तोकिन्छ । यस्तो त कुनै राज्यप्रणालीमा हुँदैन । कल्पना गर्नै सकिँदैन, यो त पञ्चायत कालमा पनि हुँदैन थियो । कहिल्यै हुँदैन, जहाँ बजेट पेस गरिन्छ । र एउटा चलन हुन्छ ।’

उनले थपे, ‘बजेट प्रस्तुत गर्नु भन्दा अघि प्रधानमन्त्रीले क्याबिनेटको बैठक राख्छ । त्यहाँ बजेटको ब्रिफिङ गरिन्छ । करका दरहरु होइन । ब्रिफिङ गरिन्छ । करका दरहरु मोटामोटी इण्डिकेशन मात्र गरिन्छ । त्यसलाई पास भएको मानिन्छ । र एकजना मन्त्री पनि त्यहाँ गोपनीयता खुल्ला भनेर त्यहाँ क्याबिनेट बैठकबाट संसदमा जाँदा सम्पूर्ण मन्त्रीहरु, प्रधानमन्त्री अघिअघि हुन्छ, त्यही ब्रिफकेसलाई बाँधेको हुन्छ । रातो रिबनले कि यो गोप्य छ ।’

उनले फेरि भने, ‘यो कतै खुलेको छैन । यो अब सोझै गएर कतै जाँदैन, पाल्र्यामेण्टमा सम्मानित सदनमामात्रै यो खोलिन्छ भनेर त्यसलाई रिबनले बाँधेर गोप्य ढंगले, गोप्य बनाएर बजेट अर्थमन्त्रीले प्रस्तुत गर्नुहुन्छ । रोस्टममा गएर मात्रै खोलिन्छ । तर यहाँ त बनाउँदै गर्दा नै व्यापारिका प्रतिनिधि राखेर बजेट बनाइन्छ । बनाउनुभन्दा अघि कमिसन खाएर बजेट बनाइन्छ । के हालत भयो यो देशको ? यस्तो अवस्थामा तपाईहरुले चुनावको सामना गर्नुभएको छ । त्यो चुनाव जित्नु चानचुने कुरा होइन ।’

त्यस्तै अध्यक्ष ओलीले पार्टीका नेता घनश्याम भुसालप्रति लक्षित गर्दै कतिपय व्यक्तिहरु पार्टीले दिएको ओहोदा, सुविधाहरु उपभोग गरेर पार्टीको कसरी अपमान, बेइज्ज्त गरिरहेको बताए । केही समयअघि नेता भुसालले नेकपा एमाले पराजित हुनुको कारण पार्टी अध्यक्ष ओलीको कमजोरी र घमण्ड भएको प्रतिक्रिया दिएका थिए ।

त्यसको प्रत्युत्तरमा अध्यक्ष ओलीले पार्टीले दिएको हैसियतमा पार्टीको बिरोध र पार्टी नेतृत्वलाई बदनाम गर्न तथा बिस्थापित र धाँदली गर्न लागिपरेको बताए । अध्यक्ष ओलीले पार्टीमा गरेको गद्धारीको हिसावकिताव समयक्रममा हुने चेतावनी दिए ।

उनले भने, ‘अहिले पनि देखिरहनुभएको छ, कतिपय व्यक्तिहरु पार्टीमा बसेका छन्, पार्टीले दिएका पद, ओहोदा, सुविधाहरु उपभोग गरिरहेका छन् । त्यो हैसियत प्रयोग गरिरहेका छन् । पार्टीको कसरी अपमान, बेइज्ज्त, कसरी बिरोध हुन्छ ? त्यही काम पनि गरिरहेका छन् ।’

उनले थपे, ‘पार्टी नेतृत्वलाई कसरी बदनाम गर्न सकिन्छ, विस्थापित गर्न सकिन्छ, धाँदलीकरण गर्न सकिन्छ, कसरी अलोकप्रिय बनाउन सकिन्छ, ती कामहरु पार्टीभित्र बसेर गरिरहेका छन् । यसको समयक्रममा समयले त्यसको हिसावकिताव गर्नेछ । त्यसमा धेरै चिन्ता नगरौँ ।’

अध्यक्ष ओलीले एमसीसी पास भएपछि गठबन्धन सरकारले मौका छोपेर बाह्य सेना उपस्थित गराउने किसिमका गतिविधि गरिरहेको भन्दै नेकपा एमालेले त्यस्ता गतिविधि बिरुद्धमा अगुवाई गरिरहेको बताए । उनले देशहीतबिरुद्धमा कुनै काम नहोस् भन्ने कुरामा पार्टी सजग रहेको भन्दै आउँदो प्रदेश र प्रतिनिधि सभाको चुनावको तयारीमा लाग्नपनि निर्देशन दिए ।

उनले भने, ‘अहिले तपाईहरु सुनिरहनुभएको छ, यही मौका छोपेर वाह्य सेना उपस्थित गराउने खालका आदि इत्यादि गर्न खोजिएको छ । त्यसको सम्बन्धमा पार्टीले बोलिरहेको छ । हाम्रा सांसदहरु संसदमा बोलिरहनुभएको छ । जनतमा यसखालको जागरण आइरहेको छ ।

हाम्रो पार्टीले त्यसको बिरुद्धमा अगुवाई गरिरहेको छ । देशहीतबिरुद्धमा कुनै काम नहोस् भन्ने कुरामा हामी सजग छौँ । अब आउँदो निर्वाचन महासंग्रामको रुपमा हाम्रो अघि उपस्थित हुँदैछ । त्यसको तयारीमा हामी जानेछौँ ।’

 

LIVE TV