२ असार २०७९, बिहीबार
  • दान बहादुर बुढा,

मुगु । एकाइसौं शताब्दीमा आइपुग्दा पनि हिमाली जिल्ला मुगुका स्थानीयवासीलाई घरबाट टाढा रहेका आफ्नो आफन्तहरुसँग फोन सम्पर्क गर्नका लागि अग्लो डाँडाकाँडा चढ्नुपर्ने बाध्यता कायमै छ । नेपाल टेलिकमले विस्तार गर्दै आएको फोन सेवाको टावर निर्माणमा ठेकेदार कम्पनीको ढिलाई तथा लापरवाहीका कारण यहाँका स्थानीयवासीहरु फोन सम्पर्क गर्नकै लागि अग्लो डाँडाकाँडा चढ्नु परेको हो ।

स्पार जलजला कम्पनी लिमिटेडले दुई वर्षमा सम्पन्न गर्ने गरी जिल्लाको थार्प, माग्री, मुर्मा, किम्री, श्रीकोट र नार्थपुमा फोर–जी सहितको टावर निर्माण गर्नका लागि ठेक्का लिएको थियो । तर, तीन वर्ष वितिसक्दा पनि टेलिकमको टावर निर्माण कार्य लथालिङ्ग अवस्थामा छन् ।

जसको कारण जिल्लाको सदरमुकामभित्र रहेका टोप्ला, झ्यारी, सिगाढी, सल्यारी लुम, बाम, सुम्ली दोल्फु, नेर, फोतु, लिब्रु, रावलवाडा, मसाने, बाउपानीलगायत दर्जनौं बस्तीका हजारौं सर्वसाधारण टेलिफोन सेवाबाट बन्चित बनेका छन् ।

मुगमकामारोङ्ग गाँउपालिका–१ का छिटुप लामाले काठमाडौ, नेपालगन्ज, जुम्ला, डोल्फा र छिमेको गाँउमा रहेका आफन्तहरुलाई फोन गर्न निकै समस्या भएको बताए । उनले भनेका छन्, ‘आफन्तहरुले फोन गर्दा पनि यहाँ टावर नहुदा फोन नै लाग्दैन । आफ्न्तसँग सुखदुखका कुरा गर्न रुख र डाडाकाडा धाउन बाध्य छौं ।’

मुगमकामारोङ्ग गाँउपालिका अध्क्षय छिरिङ क्याप्र्ने लामाले लामो प्रयासपछि नेपाल टेलिकम र ठेकेदार कम्पनीसँगको सहकार्यमा टावर निर्माण गरिएको बताए । उनले भने, ‘अब केही काम बाँकी रहेको छ । गत वर्षको दशैंबाट सञ्चालन गर्ने भनिएको भएपनि ठेकेदारको विभिन्न बहानाको कारण टेलिफोन टावर सञ्चालनमा ढिलो भएको छ ।’

टावर निर्माणको जिम्मा लिएको स्पार जलजलाका सुन्दर खड्काले टावर निर्माणमा खासै ढिलाई नभएको बताए । उनले भनेका छन्, ‘मलाई त काम ढिला भएको जस्तो लाग्दैन । मुगुका हकमा टावर निर्माणका लागि फाउन्डेशन बनिसकेको छ । केही सामग्री ढुवानीमा ढिलाई भएको छ ।’

 

LIVE TV