१ असार २०७९, बुधबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब बजेट कटौती गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो गरेका छन् । बुधबार विनियोजन बजेटमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटक–पटक आग्रह गर्दापनि अर्थमन्त्री शर्माले सो बजेट कटौती गरिदिँदा कतिपय स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम पनि कटौती गर्नुपर्दा आफूलाई अति दुःख लागेको प्रतिक्रिया समेत दिए ।

उनले बजेटको आकार भने नौं दशमलव ८ प्रतिशत बढ्ने तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौती भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरुलाई निरन्तरता दिन नसकिएको स्पष्ट पारे । अर्थ मन्त्रालयले बजेट कटौती गरेका कारण माननीयज्यूहरुको निर्वाचन क्षेत्रमा रहेका आयोजनाहरुलाई निरन्तरता दिन नसकेको विषयलाई आफूले सहज रुपमा लिएको पनि मन्त्री आलेले बताए ।

उनले भने, ‘बजेट गत वर्षको भन्दा ९ दशमलव ८ प्रतिशत बृद्धि भएको छ । तर मैले यो रोष्टममा उभिएर भनिरहँदा मेरो मन्त्रालय मात्र साढे १० अर्ब बजेट कटौती भएको अवस्था छ । मैले पटक–पटक माननीय अर्थमन्त्रीजीलाई भने–माननीय ज्यूहरुको विभिन्न खालका जिज्ञासाहरु छ । बजेट कटौती गरिदिनु भएन भन्दाखेरी कतिपय हामीले स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रमहरु पनि कटौती भएका छन् । मैले भन्नैपर्छ दुःखका साथ ।’

उनले थपे, ‘त्यसो भएको हुनाले तपाईहरुले मलाई राखेको जिज्ञासालाई मैले सहज रुपमा लिएको छु । विभिन्न पुरातात्विक महत्वका आयोजनाहरु, विभिन्न ठाउँमा पर्यटक भित्र्याउने कुराहरु होस् । पर्यटकलाई भित्र्याउनका लागि ट्रेल मार्गको कुरा पनि यहाँ आएको छ । तर, बजेट अभाव भयो । हाम्रो साँढे १० अर्ब बजेट न्यून छ । बजेटको सिलिङबाट हटाइएको छ । कम्तिमा पाँच अर्ब मात्रै दिएको भएपनि । २० लाखको हामी २५ वटा योजना लागू गर्न सक्थ्यौं । तर भएन ।’

उनले फेरि भने, ‘यसो भएको हुनाले म माननीयज्यूहरुलाई के अनुरोध गर्न चाहन्छु भन्दा विगतमा जतिपनि आयोजनाहरु थिए । त्यसले निरन्तरता नपाउँदा तपाईहरुले गुनासो म समक्ष राखेको कुरा मैले यसलाई सहज रुपमा लिएको छु ।’

मन्त्री आलेले ६ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने पनि बताए ।

LIVE TV