३१ जेष्ठ २०७९, मंगलवार

काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारीलाई शंकाको दृष्टिले नहेर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई शंकाका दृष्टिले नहेर्न आग्रह गरेका हुन् ।

उनले दुई पक्ष सम्बन्धलाई थप मजबुत बनाउन, आपसी सम्बन्धलाई गति प्रधान गर्न र सम्बन्धका नयाँ आयाम ल्याउनको लागि दुई देशको भ्रमण तथा छलफलहरु अपरिहार्य रहेको दाबी गरे । मन्त्री खड्काले दुई देशका बीचमा हुने भ्रमणले नेपालको सम्बन्ध बिस्तार गर्न र देशको छवि बढाउन भूमिका खेल्ने बताए ।

मन्त्री खड्काले राजनीति तथा कुटनीति भ्रमण र भेटघाटको आयोजना गर्दा नेपालले अवलम्वन गर्दै आएको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई ध्यानमा राखेर गर्ने गरेको जिकिर गरे । उनले उच्च राजनीतिक तथा कुटनीतिक तहमा भएका भ्रमण भेटघाटले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार तथा अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको पनि बताए ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको मन्त्री खड्काले बताए । उनले नेपालको स्वाधीनता, स्वतन्त्रतालाई ध्यान दिएर भ्रमण हुने भन्दै सरकार सार्वभौमसत्ता, स्वाधीनताप्रति गम्भीर रहेको बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय जगतमा नेपालको इङ्गेजमेन्टलाई अत्यन्त प्रभावकारी रुपमा अगाडि बढाउने काममा परराष्ट्र मन्त्रालय तल्लीन रुपमा अगाडि बढेको छ । यो महिनाको शुरुवातमा नेपालका प्रधानमन्त्रीको निमन्त्रणामा भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीले बुद्धजयन्तीको अवसरमा नेपालको लुम्बीनी भ्रमण गर्नुभएको थियो । भ्रमणको अवसरका नेपाल भारत आर्थिक सामाजिक सांस्कृतिक सम्बन्धका साथै दुई पक्ष सम्बन्धका विविधि विषयमा छलफल भएको थियो । छिमेकी राष्ट्र चीनका परराष्ट्र मन्त्रीले नेपालको भ्रमण गर्नुभएको थियो । दुई पक्ष सम्बन्धलाई थप मजबुत बनाउन आपसी सम्बन्धलाई गति प्रदान गर्न सम्बन्धका नयाँ आयाम फैल्याउन यस्ता भ्रमण तथा छलफलहरु अपरिहार्य हुन्छन् ।’

उनले फेरि भने, ‘उच्च राजनीतिक तथा कुटनीतिक तहमा हुने भ्रमणको आदान प्रदानले दुई पक्ष सम्बन्धलाई थप मजबुत महत्वपूर्ण बनाउँछ । यस्ता भ्रमण तथा भेटघाटका विषयलाई शंसयको दृष्टिले नहेरी दिन आग्रह गर्न चाहान्छु । राजनीति तथा कुटनीति भ्रमण भेटघाटको आयोजना गर्दा नेपालले अवलम्वन गर्दै आएको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई ध्यानमा राखेर नै गरिने व्यहोरा स्मरण गराउन चाहन्छु । उच्च राजनीतिक तथा कुटनीतिक तहमा भएका भ्रमण भेटघाटले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार तथा अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको छन् ।’

उनले थप भने, ‘आवश्यकता अनुसार यस्तो भ्रमण, छलफल भेटघाट दुईपक्ष संयन्त्रको बैठक अन्तर्राष्ट्रिय तथा क्षेत्रीय बैठकहरुमा सभागिता निरन्तर रहने छन् । विगतका वर्षहरुमा पनि यस्ता भ्रमणहरु भइरहेका थिए । अहिले पनि भइरहेका छन् । आगामी दिनहरुमा पनि उच्च स्तरीय भ्रमण भइरहने छन् । यो परराष्ट्र नीति र कुटनीतिका महत्वपूर्ण आयामहरु हुन् । यी हुन्छन् । नेपालको स्वाभीमान, स्वतन्त्रता, अखण्डता र राष्ट्रिय हीतमा राख्दै यस्ता भ्रमणहरु हुन्छन् ।’

मन्त्री खड्काले अमेरिकी जर्नेलको नेपाल भ्रमण ‘स्टेट पार्टनरशिप प्रोग्राम’ (एसपीपी) मा हस्ताक्षरका लागि नभएको बताए । उनले जर्नेलको भ्रमणमा कुनै एसपीपीमा हस्ताक्षर अर्थात अमेरिकी सैन्य गठबन्ध गर्ने विषय हल्ला मात्रै भएको दाबी गरे । नेपाली काँग्रेस नेतृत्वको सरकार स्वाभीमानी,राष्ट्रवादी र देशभक्ति सरकार भएको भन्दै मन्त्री खड्काले अहिले कुनै सैन्य गठबन्धन गर्ने आवश्यक नभएको बताए ।

उनले स्वाभीमानी, राष्ट्रवादी र मुलुकको हीतमा काम गर्ने सरकारले कुनै खालका सैन्य गठबन्धनमा नजाने जिकिर गरे । उनले भने, ‘अमेरिकाका जर्नेलको नेपालको भ्रमण र उहाँको भेटघाट यो कँही अमेरिकी सैन्य गठबन्धनमा नेपाललाई लाने प्रश्ताव हो की,भन्ने १० बुँदे केही पत्रपत्रिकाले लेखेका छन् । स्टेट पार्टनरशीप अन्तर्गत हिजोको दिनमा एमसीसी आइरहँदा हामीले इन्डोप्यासेफिकका कुरा ग¥यौं । यसमा कुनै गठबन्धनमा सहभागि हुने कुरा भएको छैन । सैन्य गठबन्धनमा फस्न लाग्यो नेपाल भन्ने बाहिर आएको छ । त्यो होइन । नेपाली काँग्रेस नेतृत्वको सरकार स्वाभीमानी, राष्ट्रवादी र देशभक्ति रहेको छ ।’

उनले फेरि भने, ‘विगतमा प्रधानमन्त्री, राष्ट्रपतिको भ्रमण हुँदा कुरा उठेनन् । कहिले काँही यस्तो विषयहरु उठाइने गरिएको छ । तर संसदमा म पूर्ण विश्वासकासाथ निवदेन गर्न चाहान्छु । स्वाभीमानी, राष्ट्रवादी र मुलुकको हीतमा काम गर्ने सरकारले कुनै खालका सैन्य गठबन्धनमा जाँदैन । आवश्यकता छैन । प्रधानमन्त्री, परराष्ट्र मन्त्रीले सैन्य गठबन्ध गर्न कुनै आवश्यक नै छैन । के को लागि टाढाको देशले कुन हवाइ मार्ग प्रयोग गरेर कुन दिशा प्रयोग गरेर प्रयोग गर्छ । हामी पत्रपत्रिकाको हल्लाको पछि नजाऔं ।’

मन्त्री खड्काले सांसदहरुलाई केही पत्रपत्रिकामा आएको हल्लाको पछि नलाग्नसमेत आग्रह गरे ।

 

LIVE TV