२८ जेष्ठ २०७९, शनिबार
  • अनमोल कार्की

रौतहट । ग्लोबल आइएमई लघु वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिमराभवानीपूर रौतहटले पाठेघरको क्यान्सरसम्बन्धित सचेतनामूलक कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

चन्द्रपुर हस्पिटल प्रा.लि. को प्राविधिक सहयोगमा भएको सो कार्यक्रममा २ सय ५० जना महिलाको स्वास्थ्य परिक्षण गरिएको संस्थाका केन्द्रीय अनुगमन प्रमुख यतिराज पौडेलले जानकारी दिए । महिलाहरुमा पछिल्लो समय बढी पाठेघरसम्बन्धित समस्याहरु देखा परेकाले समयमै रोग पत्ता लगाएर उपचार गर्न सहज होस् भन्ने उद्धेश्यले शिविर संचालन गरिएको पौडेलको भनाइ छ ।

उनले संस्थाको समुदाय प्रतिको उत्तरदायित्व वहन गर्न र उपचार तथा जानकारीको अभावमा रोग पालेर बस्नभएका महिलाहरुको सहज उपचारको व्यवस्थापन गर्न शिविर फलदायि सावित भएको बताउँदै आगामी दिनहरुमा पनि संस्था यस्ता सामाजिक कार्यहरु गर्ने प्रतिवद्धता व्यक्त गरे । चन्द्रपुर अस्पताल प्रा.लि. का प्रमुख डा. सुवास चौधरीका अनुसार शिविरमा उपचार गराउन आएका महिलाहरुमा सेतो पानी बग्ने , तल्लो पेट दुख्ने , आङ्ग खस्ने, पाठेघरमा मासु पलाउने लगायका समस्याहरु देखिएको छ । उनका अनुसार विशेष गरी ४५ देखि ५० उमेर समुहका महिलाहरुमा यस्तो समस्या देखिएको छ । शिविरमा ४–५ वटा सन्तानका आमाहरु पनि आएकामा उनीहरुमा बढि समस्या देखिएको जानकारी गराउँदै डा। चौधरीले २० जना आङ्ग खस्ने समस्या देखिएका महिलाहरुको निःशुल्क अप्रेशनको व्यवस्था मिलाउन चन्द्रपुर अस्पतालले सम्न्यवन गर्ने बताए ।

सो शिविरमा संस्थाको केन्द्र नम्बर ७९ को केन्द्र प्रमुख सुमित्रादेवि सापकोटा, संस्थाका प्रदेश प्रमुख कृष्ण प्रसाद ढुंगाना, अनुगमन अधिकृत सुदिप ढकाल, सिमरा भवानीपुरका शाखा प्रमुख नरेश चौरसिया, दहियारका शाखा प्रमुख शत्रुधन महत्तो लगायतको उपस्थिति रहेको थियो । केन्द्रीय अनुगमन प्रमुख पौडेलका अनुसार कास्की जिल्लाको पोखरामा मुख्य कार्यालय रहेको सो संस्थाको देशभर १ सय १९ शाखा कार्यालय रहेका छन् भने करिब ८ अर्ब ५२ करोड लगानी रहेको संस्थामा १ लाख ४४ हजार ५१९ सदस्य रहेका छन् ।

LIVE TV