२८ जेष्ठ २०७९, शनिबार
  • बालबिक्रम कार्की

रौतहट । पुल निर्माण सुरु भएको ८ वर्षसम्म पनि निमार्ण सम्पन्न नहुँदा रौतहटका सर्वसाधरणले निकै सास्ती भोग्नु परेको छ ।

जिल्लाको गौर र इशनाथ नगरपालिका जोड्ने टिकुलियास्थित लाल बकैया नदिमा पुल समयमा निर्माण नहुँदा सर्वसाधरण दुईवटा डुंगामा बनेको अस्थायी बाँसे पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेका छन् ।

वर्षायाममा डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने वाध्यतामा रहेका स्थानीय अहिले बाँसे पुल तर्न दैनिक शुल्क तिरिरहेका छन् ।

सर्वसाधरणले प्रयोग गर्ने सवारीसाधनहरुको पनि छुट्टै रकम तिर्नुपर्ने वाध्यता रहेको छ ।

पुल भएर ओहोरदोहोर गर्ने मोटरसाइकलको ५० रुपैयाँ, साइकलको २० देखि २५ रुपैँया, पैदलयात्रीको १० रुपैयाँसम्म उठाउने गरिएको छ ।

जिल्ला सदरमुकाम गौर जोड्ने प्रमुख र छोटो बाटो भएकाले इशनाथ , राजपुर लगायतका स्थानीय सोही बाटो ओहोरदोहोर गर्छन् । तर पुल तरेवापत तिर्नुपर्ने रकमले पनि उनीहरुलाई थप मार्कामा परेको छ ।

सो पुल भएर नेपाली मात्र नभएर सिमावर्ती भारतीय नागरिक पनि ओहोरदोहोर गर्ने गरेका छन् ।

‘एक त जोखिमपूर्ण यात्रा त्यसमाथि दैनिक ५० रुपैयाँ तिर्नुपर्ने बाध्यता हामी नागरिक त सबैतिरबाट चेपुवामा परेका छौँ,’ एक माेटरसाइकल यात्रीले गुनासो गर्दै भने, ‘तीनै तहको सरकारले पुल समयमा नबाउने ठेकेदारलाई होइन हामी जनतालाई दुःख दिइरहेका छन्।’

‘ठेक्का लगाउने सरकार, पुल नबनाउने ठेकेदार अनि खोला तरेको पैसाचाहिँ हामी जनताले तिर्नुपर्ने,’ उनले थपे ।

यसरी सर्वासाधरणलाई सास्ती हुने गरि रकम उठाउने काम तुरुन्त बन्द हुनुपर्ने स्थानीयको माग छ । उक्त बाँसे पुल तरेको स्थानमा पैसा उठाउन केही व्यक्तिहरु खोलावारी बस्ने गरेका छन् ।

उनीहरुले पुल तरेर आउने सर्वसाधरणसँग पैसा उठाउने गरेका छन् । तर पैसा उठाए वापत उनीहरुले रसिद भने दिने गरेका छैनन् ।

सर्वसाधरणसँग पैसा उठाइरहेका एक व्यक्तिले आफुहरुले बाँसको पुल मर्मत तथा रेखदेख गर्न रातभर मानिसहरु खटाउनु पर्ने भएकाले सो वापत रकम उठाएको बताए ।

बाँसे पुल तरे वापत शुल्क उठाउने बारेमा नगरपालिकालाई कुनै जानकारी नभएको नगरापलिकाका प्रवक्ता अर्जुन सिंहले बताए ।

आफुहरु भर्खरै निर्वाचित भएर आएको र यस बारेमा कुनैपनि गुनासो नआएकाले अब यस बारेमा जानकारी लिने उनको भनाइ छ ।

सो खोलामा निर्माणाधिन पक्की पुलको तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ असार २९ गते शिलान्यास गरेका थिए ।

वि.सं २०७१ असारमा वीरगन्जस्थित पप्पु कन्स्ट्रक्सनले करिब १४ करोड ९२ लाख २७ हजार १५० रुपैयाँमा ठेक्का लिएको पुलको काम समयमा सम्पन्न नहुँदा सर्वसाधारणलाई आवत जावतमा समस्या भएको हो ।

पप्पु कन्स्ट्रक्सनल २०७४ असार २५ भित्र काम सक्ने सम्झौता गरेको थियो । तर निमार्ण सुरु गरेको ८ वर्ष भइसक्दा पनि करिब ४० प्रतिशत मात्र काम सम्पन्न भएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

७ वटा पिल्लर सहित कुल २ सय २५ मिटर लम्बाइ, ७.२ मिटर चौडाइको रहेको सो पुल समयमै निमार्ण सम्पन्न नगरेर पप्पु कन्ट्रसनले आलटाल गरिरहेको थियो ।

समयमै निर्माण सम्पन्न नगरेको भन्दै २०७९ जेठ १० गते एक सुचना प्रकाशित गरेर सडक डिभिजन कार्यालयले पप्पु कन्ट्रसनसँगको ठेक्का रद्ध गरिसकेको कार्यालय प्रमुख दारोगा प्रसादले जानकारी दिए ।

यस पुलको निर्माण कार्य नगर्ने मनसाय देखिएपछि मिति २०७९ जेठ ०९ गतेको डिभिजनको निर्णयानुसार ठेक्का सम्झौताको शर्त बमोजिम तथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (२) को खण्ड (क), दफा ५९ (७) र दफा ५९ (८) अनुसार ठेक्का तोडेको उनले बताए । अब सो पुल निमार्णको लागि नयाँ टेन्डर गरिने बताइएको छ ।

सो पक्की पुल निमार्ण नहुँदा डुंगामा जोखिमपूर्ण यात्र गर्ने क्रममा वर्षेनी स्थानीयले ज्यान गुमाउने गरेका छन् ।

वि.सं. २०७५ भाद्र ०९ गते सोही स्थानमा भएको ढुंगा दुर्घटनामा ५ जना स्थानयिले ज्यान गुमाएका थिए ।

वर्षेनी स्थानीयले ज्यान गुमाउनु परेतापनि निमार्ण पूरा गर्न कसैले चासो नदेखाएको स्थानियको गुनासो छ ।

लाल बकैया नदिमा पानीको बहाव कम भए बेलमा मात्र स्थानीयले डुंगामा आवत जावत गर्न सक्छन् । वर्षायाममा नदिमा पानीको वहाव बढेपछि सो नदिमा ढुंगा पनि चलाउन नसकिने अवस्था रहेको छ ।

यस्तो अवस्थामा सो बाटो हुँदै आवतजावत पूर्ण रुपमा बन्द हुने गरेको छ । सो समयमा स्थानीय वासिन्दा करिब २२ किलोमिटर घुमेर सदरमुकाम गौर आवतजावत् गर्नुपर्ने हुन्छ ।

LIVE TV