२६ जेष्ठ २०७९, बिहीबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा) । बिन्दबासिनी गाउँपालिकाका–२ स्थित श्री राधाकृष्ण माध्यमिक विद्यालयमा निर्माण हुन लागेको चार कोठे भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले निर्माण हुन लागेको भवनको एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।

अध्यक्ष तिवारीले भवन शिलान्यस कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, स्वास्थ्य, कृषि र विकास निर्माण कार्य यस पालिकाको विशेष प्राथमिकतामा रहेको बताए । उनले पालिकामा शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारको विकास भए पालिका नै विकसित हुने भन्दै सबैभन्दा महत्वपूर्ण शिक्षाको गुणस्तर बढाउन आवश्यक रहेको बताए ।

सामुदायिक विद्यालयमा विगतमा भएको कमि कमजोरीलाई सुधार गर्दै सामुदायिक विद्यालयमा पनि गुणस्तरी शिक्षा प्रदान गर्ने तर्फ आफू लागि परेको बताए । केही सामुदायिक विद्यालयमाहरुमा कमी कमजोरीहरु रहेका र उक्त कमी–कमजोरीलाई सुधार गर्दै लैजाने अध्यक्ष तिवारीले बताए ।

साथै अबको दिनमा शिक्षामा देखिएको कमी कमजोरीलाई तत्काल सुधार गर्नुपर्नेमा विद्यालयका प्रअहरुलाई सचेत समेत गराए । जुन विद्यालयमा भौतिक पूर्वाधार छैन, त्यहाँ तत्काल पूर्वाधारहरु निर्माण हुन्छ तर गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा कुनैपनि सम्झौता नहुने उनले बताए ।

आफूले पालिकालाई विकास गर्न आएकाले सबै क्षेत्रलाई समेटेर अगाडि बढ्ने भन्दै पालिकाभित्र रहेका माध्यमिक विद्यालयहरुलाई स्तरोन्नति गर्दै लैजानुको साथै गुणस्तरीय शिक्षा प्रदानका लागि सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पनि पढाइ सुरु गरिने बताए ।

अध्यक्ष तिवारीले पहिलाको गाउँपालिका र अहिलेको गाउँपालिकाको तुलना गर्न सबैलाई अनुरोध गर्दै पालिकाभित्र केही कमजोरी भए आफूलाई सरसल्लाह सुझाव दिन अनुरोध समेत गरे । राम्रो कामको प्रशंसा गर्नुको साट्टो गलत प्रचारवाजी गर्न केही तत्वहरु सक्रिय भएकाले सर्वसाधारणहरुलाई सचेत रहन समेत आग्रह गरे ।

भौतिक पूर्वाधार विकासको सन्दर्भमा गाउँपालिकाको मुहार फेरिने ठोकुवा गर्दै शिक्षा क्षेत्रमा आफ्नो राम्रो अनुभव रहेकोले यस पालिकामा शिक्षा क्षेत्रमा पनि ठूलो परिर्वतन ल्याउने दावी समेत गरे । अंग्रेजी भाषा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रयोग हुने गरेकाले सानो कक्षादेखि नै सिक्न र सिकाउन जरुरी रहेको उनले बताए ।

गाउँपालिकाकी उपाध्यक्ष ज्योति चौरसियाले भवनको आवश्यकतालाई मध्यनजर गर्दै भवनको लागि पालिकाबाट सहयोग गरेको बताइन् । भवन निर्माण कार्यमा निगरानी बढाउन आवश्यक रहेकाले समय–समयमा सबैले मूल्याङ्कन गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले विद्यालय शान्ति क्षेत्र भएकाले राजनीतिको अखडा नबनाउन सबैलाई आग्रह गरे ।

सकारात्मक सोचको विकासबाट नै समाजको उन्नती र प्रगति हुने हुँदा सामाजिक एकता कायम हुनुपर्नेमा उनले जोड दिए । पालिकामा शिक्षामा सुधार ल्याउनुपर्ने एकजनाको मात्र नभई सम्पूर्ण अभिभावकहरुको पनि उत्तिकै जिम्मेवारी रहेको हुनाले भवन निर्माण कार्यमा सरोकारवालाहरुले चासो देखाउनुपर्ने बताए ।

उक्त भवन निर्माणका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख रकम विनयोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत साहले बताए । उक्त रकम विद्यालयको खातामा पठाई विद्यालयमार्फत् निर्माण काम हुने उनको भनाइ छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रमोद तिवारी, उपाध्यक्ष ज्योति चौरसिया, वडा अध्यक्ष मुक्ति पटेल, प्रमुख प्रशासकीय अधिकृत राजु साह, लेखा अधिकृत मिथलेश कुशवाहा, शिक्षा शाखा प्रमुख कपिल लामिछाने, इन्जिनियर नगेन्द्र कुशवाहा, प्रधानाध्यापक सरोज चौहानलगायतको उपस्थिति रहेको थियो ।

LIVE TV