२६ जेष्ठ २०७९, बिहीबार

काठमाडौं। नेपाल पर्वतारोहण संघको वरिष्ठ उपाध्यक्षमा माया शेर्पा समूहले पनि उम्मेदवारीको घोषणा गरेको छ ।

यसअघि संघको द्धितीय उपाध्यक्ष रहेकी शेर्पाको नेतृत्वमा गैरराजनीतिक समूहबाट उम्मेदवारी घोषणा गरेकी हुन् ।

उनको प्यानलबाट उपाध्यक्षमा व्यवसायी नुरु जाङ्बु शेर्पा, द्धितीय उपाध्यक्षमा सार्की तामाङ र महासचिवका आरोही तथा व्यवसायी आङ पेम्बा शेर्पा छन् । आङ पेम्बा टानका पूर्व महासचिव पनि हुन् ।

पर्वतारोही र व्यवसायीक समूहलाई स्थान दिनुपर्ने जोडका साथ गैरराजनैतिक समूह घोषणा गरेका हुन् । वरिष्ठ उपाध्यक्षकी उम्मेदवार मायाँ शेर्पा सगरमाथासहित विश्वका ८ हजार मिटरमाथिका ७ वटा हिमालको सफल आरोहण गरिसकेकी पात्र हुन् ।

त्यस्तै सचिवमा शिवहादुर सापकोटा, कोषाध्यक्षमा फुरी गेल्जेन शेर्पा उम्मेदवार बनेका छन् । यो प्यानलबाट सदस्यमा कान्छा नुर्बु शेर्पा,लाक्पा डेण्डी शेर्पा, दावटासी शेर्पा, आङदावा शेर्पा, फुरदिकी शेर्पा, दाबुटी शेर्पा, लक्ष्मी तामाङ, पेम्बा शेर्पा, चेङ्गा छिरिङ शेर्पा,पासाङ शेर्पा र किसान गुरुङ सदस्यमा उम्मेदवार बनेका छन् ।

‘वषौंदेखि दोहन गरेर बसेको राजनीतिक दलको आवरणको गिरोहविरुद्ध यसपटक आरोही तथा व्यवसायीहरुले स्वतन्त्र प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएका हौं,’ उनले भनिन् ।

संघको नयाँ नेतृत्वका लागि जेठ २७ गते निर्वाचन हुँदैछ । शेर्पा नेतृत्वको समूहले अध्यक्षमा भने उम्मेदवारी दिएका छैन।

LIVE TV